Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

उत्कृष्ट विद्यालय छनौट, पुरस्कार पाउन शिक्षकहरु लविङ्मा

सोमबार, १६ भदौ २०७६

काठमाडौं - शिक्षा दिवसका अवसरमा पुरस्कृत हुने उत्कृष्ट विद्यालयको छनौट गरिएको छ । कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी १२ विद्यालय छनौट भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । 

जस अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्र्तगत १२ कक्षा सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ कास्की पोखराको अमरसिंह मावि, मोरङ् ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवानी विद्यापीठ क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । 

यस्तै सोही समूह अन्र्तगत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे सांगाको नेपाल प्रहरी मावि द्धितीय र सेण्ट जेभिष्सै कलेज माईतीघर काठमाडौं तृतीय भएका छन् । 

माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिकमा मेधा सामुदायिक विद्यालय* तेखापुखु भक्तपुर, रेसुङ्गा मावि तम्घास गुल्मी र तरुणमावि बालाजु काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । यही समूहका संस्थागत तर्फ रिलायन्स ईण्टरनेशनल एकेडेमी कपन काठमाडौं, नेपाल प्रहरी मावि साँगा काभ्रे र भ्याली भ्यु ईङ्लीस स्कुल नयाँ बनेश्वर काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् । 

तोकिएको मापदण्डका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट छनौट गरी पठाईएका विद्यालयलाई पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । यी सबै विद्यायलाई आगामी भदौ २२ गते परेको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्र्तराष्ट्रिय साक्षरता दिवसका दिन काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने छ । 

यसैबिच दिवसका अवसरमा पुरस्कृत गर्न आफूलाई छनौट गरिदिन भन्दै केही शिक्षकहरुले शिक्षा मन्त्रालयका कर्मचारी समक्ष लविङ् गरेको श्रोतले जनाएको छ । आफू आवद्ध संघ संगठनका नेताहरु मार्फत् समेत उनीहरुले लविङ् गरेको उक्त श्रोतको दावी छ । 

'हामीलाई फोन र म्यासेज आउने क्रम बढेको छ' उक्त श्रोतले भन्यो, 'कतिपयले सिधै आफैं र कतिपयले आफ्ना नेताहरु मार्फत् लविङ् गरेर हैरान पारेका छन् ।' 

अहिले सम्म ५३ जिल्लाबाट सिफारिस आए पनि अन्तिम नामावली फाईनल नभएको उक्त श्रोतले जनायो । कतिपय जिल्लाबाट दर्जन भन्दा धेरै शिक्षकको सिफारिस आए पछि अन्तिम छनौट गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रलाई हम्मे हम्मे परेको छ । 

योग्य व्यक्ति भन्दा दलगत आवद्धताका आधारमा शिक्षक छनौट हुने क्रम बढेको भन्दै आलोचना भए पछि तीन बर्ष अघि नै शिक्षकलाई पुरस्कृत गर्ने क्रम हटाईएको थियो । तर शिक्षकका नेताहरुको तिव्र दवाव पछि पुरस्कृत गर्ने क्रम यस बर्षबाट शुरु गर्न लागिएको हो । 

गिरिराजमणि पोखरेल अघिल्लो पटक शिक्षा मन्त्री हुँदा हटाईएको उक्त पुरस्कार दोश्रो पटक उनै मन्त्री भएका बेला फेरी वितरणको तयारी गरिएको हो । दिवसका अवसरमा दिईने उक्त पुरस्कारका लागि छनौट हुने व्यक्ति र संस्थाहरु मन्त्रीको सचिवालय र मन्त्रालयका उच्च कर्मचारीको गोजीबाट छान्ने क्रम बढेको भन्दै आलोचना हुन थाले पछि वितरणको कार्य नै रोकिएको थियो । 

यस बर्ष दिवस मनाउन मन्त्री पोखरेलको अध्यक्षतामा गठित मूल समारोह समितिले तत्कालिन शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा मापदण्ड तय गर्न उपसमिति गठन गरेको थियो । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल, सहसचिवहरु डा. लेखनाथ पौडेल, कृष्णप्रसाद काप्री, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्याल, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा लगायत सदस्य रहेको उक्त उप समितिले पुरस्कृत हुने व्यक्ति र संस्थाको अन्तिम छनौट गर्ने छ ।  

पुरस्कृत हुने झण्डै ५ सय भन्दा धेरै व्यक्ति र संस्थाको नाम गोरखापत्रमा छापेर दिवसका अवसरमा वितरण गर्ने परम्परा रहँदै आएको थियो । २०७२ सालमा भुकम्पका कारण विथोलिएको सामाजिक आर्थिक अवस्थामा गोरखापत्रमा छापेर थप आर्थिक व्यय गर्न मनासिव नहुने शिक्षा मन्त्रालयका उच्च कर्मचारीको सुझाव पछि तत्कालिन मन्त्री चित्रलेखा यादवले त्यो परम्परा तोडेकी थिईन् । 
त्यस पछि मन्त्री भएका पोखरेलले उक्त पुरस्कार नै हटाएर उत्कृष्ट विद्यालयहरुलाई मात्रै पुरस्कृत गरेका थिए । त्यो क्रम त्यस यता निरन्तर रहेको थियो । गत बर्ष पनि कक्षा १० र १२ मा उत्कृष्ट हुने तीन तीन सामुदायिक र निजी विद्यालयलाई मात्रै पुरस्कृत गरिएको थियो ।   

यसैबीच शिक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव बैकुण्ठ प्रसाद अर्यालले कार्य सम्पादन र कार्य क्षमताका आधारमा शिक्षक छनौट हुने दावी गरेका छन् ।

'शिक्षक छनौटको काम जारी छ, कार्य सम्पादन र कार्य क्षमताका आधारमा छनौट गर्ने गरी तय गरिएको विधिबाट मात्रै छनौट गरिने छ' दिवसको तयारीका बारेमा जानकारी  दिन शिक्षा तथा मानव श्रोत विकास केन्द्र भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । 

देशले परिकल्पना गरेको आर्थिक समृद्धिको आधारका रुपमा शिक्षा रहेको भन्दै उनले यस तर्फ सञ्चार माध्याम मार्फत थप वकालतको अपेक्षा गरेको बताए । 

कार्यक्रममा केन्द्रका निर्देशक तथा दिवस समारोह व्यवस्थापन उपसमितिका सहसंयोजक चुडामणि पौडेलले पुरस्कृत हुने शिक्षकहरुको नामावली संकलनको काम अन्तिम चरणमा रहेको बताए ।

केन्द्रका अर्का निर्देशक दीपक शर्मा, महानिर्देशक बाबुराम पौडेल लगायतले दिवसलाई भब्य रुपमा मनाउन सञ्चार क्षेत्रको सहयोगको अपेक्षा गरेको बताए । 

दिवस मनाउन केन्द्रले विभिन्न ६ वटा छुट्टा छुट्टै विषयगत उपसमिति बनाएर काम बाँडफँट गरेको उक्त अवसरमा जानकारी दिईयो । 

* सच्याईएको - सं. 

प्रतिक्रिया