शिक्षकको उपाय : महिनौं बन्द विद्यालयमा यसरी गरौं पठन पाठन


तराई आन्दोलन र भारतको नाकाबन्दीका कारण ईन्धन अभाव हुँदा लामो समय बन्द विद्यालय कहिले देखि खुल्छन् यसै भन्न सकिने अवस्था छैन । लामो समय पठन पाठन नहुँदा शैक्षिक सत्रनै सर्ने हो की भन्ने शँका पनि उत्तिकै छ । तर, बन्दको बहानामा शैक्षिक सत्र सार्न नसकिने शिक्षा मन्त्रालयले बताईसकेको छ । त्यसो हो भने  बाँकी पाँच महिनाभित्र कोर्स चाँही कसरी सक्ने ? श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माध्यामिक विद्यालय सुर्खेत, इत्रामका प्राचार्य गेहेन्द्रप्रसाद दाहालसंग यहि विषयमा गरिएको कुराकानी :

- तराई सहित देशै भरी लामो समय विद्यालय बन्द भए, पठन पाठनमा त नराम्रो संकट पर्यो है ?

संकट हरेकलाई आउँछ । हामीलाई पनि ईन्धन, ग्यास लगायतको संकट आएको छ र यसबीचमा तराईका विद्यालय आन्दोलनरत पक्षका कारण बन्द छन् । यसलाई त्यति भयानक रुपमा लिनुहुँदैन । सामान्य रुपमा लिनुपर्छ । त्यसमा पनि  विद्यार्थी र शिक्षकले झन् यसलाई संकट नभई एउटा अवसरका रुपमा लिनुपर्छ । किनभने यस्तै संकटका बेला जुन विद्यार्थीलाई आकर्षक ढंगले, छोटो, मिठो र विषयवस्तुको सार संक्षेप जसले बुझाउन सक्यो अनि त्यो जुन विद्यार्थीले सिक्न सक्यो त्यो महत्वपुर्ण हो ।

- तर यो बन्दले कोर्स कसरी सक्ने भन्ने चिन्ता त छ नी ? यसलाई कसरी लिने ?

हो । चिन्ता छ । तर यसलाई भयानक रुपमा नलिउँ । पहिलो कुरा प्रत्येक पाठलाई बुँदागत रुपमा पढाउने । मानौँ विज्ञान विषयको नाप भन्ने एकाई छ । त्यसलाई पढाई सक्न ८ देखि १० दिन लाग्छ । अब त्यसलाई २ दिनमा पढाउने । कसरी ? भन्दा नाप एकाईका महत्वपूर्ण कुराहरुलाई बुदाँगत रुपमा पढाउने । ती बुदाँलाई लेखाई दिने र विद्यार्थीलाई एकदमै व्यावहारिक रुपमा पढायो भने सजिलै सकिन्छ ।

- त्यसबाहेक शिक्षकले अरु कुन कुन कुरामा ध्यान दिदाँ विद्यार्थीलाई सजिलै बुझाउन सक्लान् ? 

शिक्षक, विद्यार्थी र अभिभावकको पाइलट हो । र शिक्षकले अहिलेको जस्तो जागिरे प्रवृत्ति त्याग्नुपर्छ । एउटा भविष्यको कर्णधारलाई राम्रो विषयवस्तुको ज्ञान दिन सबै विद्यार्थी आफ्नै छोराछोरी हुन् भन्ने भावना विकास गर्नुपर्छ । यसका लागी शिक्षकले पाठ्यक्रमको राम्रो तयारी गर्ने पहिलो कुरा । यो बीचमा धेरै समय छैन ।

थोरै समयमा कतिजति पढाउने र कसरी पढाउने त्यसको पूर्वतयारी शिक्षकहरुले गरे भने कोर्स पनि सकिन्छ र विद्यार्थीलाई पनि राम्रोसंग बुझाउन सकिन्छ । अनि किताबका पाठहरुमा टेक्सलाइन गरेर होइन प्राक्टिकल्ली विशिष्ट बँुदाहरु टिपोट गरेर पढाउनुपर्छ ।

- अनि विद्यार्थीले कसरी पढ्ने ?

विद्यार्थीले पनि यो बन्दमा पढाई नहुँदा म पास हँुदिन की भन्ने पीर नलिएर सहज रुपमा पढ्नुपर्छ । जस्तो पहिले साना तिना कुराहरुलाई ध्यान दिएर पढ्नु पथ्र्यो । अब त्यसरी नपढ्ने । शिक्षकले कक्षाकोठमा पढाउँदा एकदमै ध्यान दिएर पढ्ने । अनि नबुझेको कुरा सोध्ने, घरमा गएर त्यसलाई बुँदागत रुपमा कण्ठ गर्नुभन्दा पनि सहज र व्यावहारिक भएर पढ्ने गर्यो भने पास गर्न गाह्रो छैन ।

- सबै शिक्षक र विद्यार्थी सजिलै बुझ्ने बुझाउन सक्ने हुदैनन्, उनीहरुलाई  कसरी प्रभावकारी रुपमा बुझाउन सकिन्छ ? 

यो सत्य हो । तर उनीहरुलाई बुझाउनै नसकिने भन्ने होइन । शिक्षकले प्रभावकारी पूर्वतयारी गर्नुपर्छ । अनि कतिपय शिक्षकले तालिम पनि लिनु भएको छ । त्यसको सदुपयोग गराँै । अनि विद्यार्थीमा सबै बुभ्mने हुदैनन् उनीहरुलाई जान्ने विद्यार्थीसंगै छलफल गरेर पढ्न लगाउने ।

अनि महत्वपूर्ण कुरा उनीहरुलाई बढी भन्दा बढी अभ्यास गर्न लगाउने । राम्रोसंग अभ्यास गर्न लगाउने हो र अप्ठ्यारो भएको बेला सहयोग गरिदिए पछि उनीहरु पनि राम्रोसंग बुझ्न थालिहाल्छन् ।

- अनि प्रधानाध्यापक, विद्यालय प्रशासन, जिल्ला शिक्षा कार्यालयहरुले कस्तो रणनीति अख्तियार गर्नुपर्ला ?

अहिले पनि धेरैजसो शिक्षकमा ठग्ने प्रवृत्ती छ । यसलाई हटाउन प्रशासनले शिक्षक माथी हस्तक्षेप गर्नैपर्छ । उनीहरुलाई जागिरे भावना त्याग्न लगाउनुपर्छ । अनि हेल्मेट टिचर जो हुनुहुन्छ उहाँहरुलाई समयको हतारो हुन्छ ।

त्यसलाई कडाईका साथ निगरानी गर्नुपर्छ । त्यसैगरी जिल्ला शिक्षा कार्यालयहरुलाई मातहतका निकायलाई विशेष कोर्स पढ्न, पढाउन निर्देशन दिने, विद्यालय निरिक्षकहरुले पनि पढाई भएको छ की छैन् ? कसरी भइरहेको छ ? त्यसलाई अनुगमन गर्नुपर्यो । र ठूलो कुरा विद्यालय प्रशासक (प्रधानाध्यापक र अभिभावक) हरुले शिक्षकहरुलाई राम्रोसंग निगरानी, गाइड, निरन्तर छलफल गराएर उनीहरुलाई विश्वासमा लिएर काम गर्नुपर्छ ।

- अहिले तिहार र छठका कारण बन्द विद्यालय कहिले र कसरी खुल्छन् यसै भन्न त सकिँदैन तर, विद्यालय खुल्यो भने अभिभावकले अरु के कुरामा ध्यान दिनुपर्छ ?

अभिभावक विद्यार्थीको अभिभावक मात्र होइन पहिलो शिक्षक वा गुरु पनि हो । उसलाई घरमा जस्तो सिकायो त्यस्तै सिक्छ । फेरी बच्चादेखि उसको सिकाईलाई प्रभावकारी बनाउन सकिएन भने पछि निकै गाह्रो हुन्छ । त्यसैले  पनि अभिभावकले विद्यार्थीमा विशेष ध्यान दिनुपर्छ । यस्तोमा एता टिभी लगाएर उता पढ् बाबु भनेर हुदैन । बच्चाका क्रियाकलापमा निरन्तर ध्यान दिनुपर्छ ।

अनि उमेरसंगै बच्चाको बानी व्यहोरामा परिवर्तन आउँछ त्यसमा पनि ख्याल गर्नुपर्छ । अहिले कोर्स सकाउनैपर्छ भनेर रातदिन पढ् पढ् भनेर मात्र हुदैन । उनीहरुलाई खाने, सुत्ने, मनोरञ्जन गर्ने समय पनि उचित रुपमा अभिभावकले दिनैपर्छ ।

(सन् २००५ मा (आउटस्ट्यान्डिङ अफ द वल्र्ड) अन्तरािष्ट्रय पुरस्कार प्राप्त गर्ने नेपालका एकमात्र व्यक्ति दाहाल २०७१ सालको शिक्षा राष्ट्रिय पुरस्कार, पीपी प्रसाई प्रतिष्ठान २०७१ पुरस्कार विजेता शिक्षक हुन् । नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष समेत भैसकेका दाहालले २०६९ सालमा शिक्षक बाहेक अरु कुनै पनि दल, संस्थाको सदस्य नरहने गरी राजीनामा दिएर विद्यालय सुधारमा कृयाशिल छन् ।)

प्रकाशित मिति २०७२ कात्तिक २७ गते