Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीद्वारा पहिलो नम्बरमा कोइरालाको नाम सहित सिफारिस

शुक्रबार, १७ असोज २०७६

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि डा. भगवान कोइरालाको नाम पहिलो नम्बरमा राखेर प्रधानमन्त्री समक्ष सिफारिस गरिएको छ । विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले मुटुरोग विशेषज्ञका रुपमा ख्याती कमाएका कोइरालालको नाम पहिलो नम्बरमा, नाक , कान, घाँटि रोग विशेषज्ञ डा. धर्मकान्त बास्कोटाको नाम दोश्रो नम्बरमा र तेश्रो नम्बरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको हो । 

सिफारिस समितिको बुधबारको निर्णय सहित शिक्षा मन्त्री पोखरेलले बिहीबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई उक्त नामावली बुझाएका श्रोतले जनाएको छ । 

'आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका, यस अघि कुनै पनि विवादमा नपरेका  र प्राज्ञिक उचाई भएका व्यक्तिका रुपमा कोइरालाको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरिएको छ' उक्त श्रोतले भन्यो, 'अब प्रधानमन्त्रीबाट नियुक्तिको औपचारिक निर्णयको प्रकृया शुरु हुन्छ ।'

सिफारिस समितिको क्रम संख्यलाई नै प्रधानमन्त्रीले सदर गरिदिए भने कोइराला त्रिविको १९ औं उपकुलपति हुनेछन् । यस बीचमा शिक्षा मन्त्री, प्रधानमन्त्री र सत्ताधारी दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल बीचमा पटक पटक छलफल भएर नाम टुङ्गीएकोले कोइरालाको नियुक्तिमा कुनै अड्चन नआउने र चाँडै नै नियुक्तिको सिफारिस हुने उक्त श्रोतको दावी छ । 

उपकुलपति सिफारिस गर्न शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठन भएको सर्च कमिटिले झण्डै २ महिना पछि बल्ल नाम सिफारिस गरेको हो । भदौ ५ गते ततकलिन उपकुलपति तीर्थ खनियाको अवधि सकिने भएपछि पहिलो पटक गत साउन २० गते कुलपतिका हैसियतमा प्रधानमन्त्री ओलीले सहकुलपति पोखरेलको संयोजकत्वमा कमिटि गठन गरेका थिए । उक्त कमिटिको म्याद भदौ ४ गते सकिएको थियो । आफू उपचारका लागि सिंगापुर जानु अघि भदौ ५ गते उक्त कमिटिको म्याद भदौ २० गते सम्मका लागि थप्ने निर्णय गरे पनि प्रधानमन्त्रीको ग्रीन सिग्नल कुर्दा कुर्दै समितिले नाम सिफारिस गर्न सकेको थिएन । 

पोखरेलको अध्यक्षतामा व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा  र आँगिक क्याम्पसका तर्फबाट विश्वविद्यालय सभाका सदस्य समेत रहेका मेची क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाईं सदस्य रहेको कमिटि गठन गरेको थियो । कमिटिलई एक साता भित्र नाम सिफरिस गर्न भनिएको थियो । 

अन्य विश्वविद्यालयका हकमा भने नामसिफरिस नभएको जनाईएको छ । 

पूर्वाञ्चल, सुदुर पश्चिम र संस्कृत विश्वविद्यालयका पदाधिकारीको म्याद पनि भदौ ५ मै सकिएको छ । कृषिको ११ र मध्य पश्चिम तथा पोखरा विश्वविद्यालयका पदाधिकारीको म्याद भदौ १३ गते सकिएको छ । 
पूर्वाञ्चल  र संस्कृत विश्वविद्यालयका उपकुलपछि छनौटका लागि मन्त्री पोखरेलको संयोजकत्वमा योजना आयोगकी सदस्य उषा झा र शिक्षा सचिव महेश दहाल सदस्य रहेको सर्च कमिटि गठन भएको छ । कृषि विश्वविद्यालयका उपकुलपछि छनौटका लागि मन्त्री पोखरेलको संयोजकत्वमा विश्वविद्यालय अनुदानका अध्यक्ष भीम प्रसाद सुवेदी र शिक्षा सचिव दहाल सदस्य रहेको सर्च कमिटि गठन भएको छ । 

प्रतिक्रिया