Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षकले रुचाएनन् स्वेच्छिक अवकास, अपेक्षा गरिए मध्ये चौथाई मात्रै सहभागी

बुधबार, २० कार्तिक २०७६

भक्तपुर - लामो समय सेवा गरेका स्थायी शिक्षकहरुका लागि चाँगुनारायण नगरपालिकाले ल्याएको स्वेच्छिक अवकासको 'अफर' लाई शिक्षकले रुचाएनन् । पालिका भित्र रहेका ३५ सामुदायिक विद्यालयमा कार्यरत ३ सय ५६ मध्ये २ सय ५८ स्थायी शिक्षकबाट कम्तिमा पनि ३० जनाले यो अफर रोज्ने पालिकाले अनुमान गरेको थियो । तर सात जना शिक्षकले मात्रै उक्त योजनामा सहभागिता जनाएर सेवाबाट अवकास लिएका छन् । 

यसरी अवकास रोजेका शिक्षकमा वाल्मिकी आधारभूत विद्यालयका रामप्रसाद काफ्ले, चाँगुनारायण माविका लक्ष्मीप्रसाद सुवाल, गणेश माविका सानोभाइ खत्री, कृष्ण आधारभूत विद्यालयका कृष्णबहादुर कार्की, महेन्द्रग्राम माविका उद्धव खड्का, पञ्चकन्या माविकी जानुकाकुमारी पौड्याल र बाल्मिकेश्वर माविका श्यामप्रसाद तिमल्सिना रहेका छन् । उनीहरुलाई मंगलबार एक कार्यक्रम गरी नगरपालिकाले तोकिएको नगद सहित विदाई गरेको छ । 

२५ बर्षे सेवा अवधि पुरा गरेका र ५० बर्ष उमेर पुगेका शिक्षकलाई विदाई गरी फ्रेस शिक्षकलाई कक्षा कोठामा भित्र्याउने योजना अनुसार नगरपालिकाले उक्त योजना ल्याएको थियो । पाँचौ नगर सभाबाट स्विकृत चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार नगरपालिकाले अवकास रोज्ने शिक्षकलाई प्रति शिक्षक एक लाख रुपैंया सहित विदाई गर्ने गरी उक्त योजना सार्वजनिक गरेको थियो । 

सोचेको संख्यामा शिक्षकहरुले रुची नदेखाउनुलाई अझै पढाउने मन भएको रुपमा बुझेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रतिकृया दिए । 

'बढ्दो प्रविधिको प्रयोगले ल्याएको अवसर र चुनौतीलाई कक्षा कोठामा रुपान्तर गर्ने शिक्षकहरु नभए सम्म समय सुहाउँदो शिक्षाको कल्पना गर्न नसकिने भएकाले पाका शिक्षकहरुलाई धन्यवाद सहित विदाई गर्ने योजना ल्याईएको हो' मिश्रले भने, 'तर उहाँहरुलाई अझै पढाउन मन भएको रुपमा बुझ्नु त पर्यो ।'

लामो समय शिक्षा सुधारमा व्यतित गरिसकेका शिक्षकलाई योगदानका लागि धन्यवाद दिदैं मिश्रले बढ्दो प्रविधिको विकास सहित समय सुहाउँदो शिक्षा दिने गरी शिक्षकहरुलाई जिम्मेवार बनाईने बताए । 

अहिले सेवाबाट बाहिरिएका शिक्षकहरुका ठाउँमा नियुक्ति गर्ने गरी शिक्षक सेवा आयोगले चाँडै नै सिफारिस गर्ने र सोही अनुसार शिक्षा तथा मानव श्रोत विकास केन्द्रले नियुक्ति दिने अपेक्षा गरेको उनले बताए । यदी समयमा उक्त काम भएन भने नगरपालिकाले छोटो समयका लागि करारमा भने पनि शिक्षक नियुक्ति गरेर बालबालिकाको पठनपाठन जारी राख्ने उनको भनाई छ । 

संविधानले विद्यालय शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकार मातहत गरेसँगै पालिकाले सार्वजनिक शिक्षा सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया