Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

अभिभावकको चाहना गाडी र अँग्रेजी, सामुदायिक विद्यालयमा नर्सरी र केजी !

मंगलबार, २६ कार्तिक २०७६

सुनसरी - २०५२/५३ साल ताका विद्यार्थीको हाजिर गर्दा नै लेखनाथ सुवेदीका हात गल्थे !

तिन ताका कक्षा १ मा मात्रै १ सय १७ जनाको हाजिर गर्नु पर्दा कम्तिमा तीन पटक सम्म विसाउनु पथ्र्यो ! विद्यार्थीको हाजिरी लिदाँ लिदाँ समय लागे पछि विद्यार्थी हल्ला गर्न थालि हाल्थे, २-४ पटक डष्टरले डेक्समा टक ! टक ! हिर्काएर विद्यार्थीलाई हल्ला नगर भन्नु पथ्र्यो !

तर, अहिले त्यही विद्यालयमा जम्मा २५ जना मात्रै विद्यार्थी छन् !

रामधुनी नगरपालिका ७ स्थित पञ्चायत आधारभूत विद्यालयको यो हविगतको प्रत्यक्ष साक्षी रहेका सुवेदी हेडसरलाई केही बर्ष देखि जागिरै छाडिदिउँ की जस्तो लाग्न थालेको छ ।

'वैदेशिक रोजगारीका कामका लागि विदेश जाने युवाले पैसा पठाउन थाल्यो, उता गए पछि अँग्रेजीका कारण सजिलो  भएको देख्यो, सन्तानलाई बोर्डिङ्मा राख्न भन्यो, सरकारी विद्यालयमा विद्यार्थी घट्दै गए' उनले भने  'समाजमा पैसा भएका र नभएकाको सन्तान पढ्ने विद्यालय नै फरक भए, मैले अभिभावकलाई बुझाउन पनि सकिन, विद्यार्थी संख्या बढाउन पनि सकिन ।'

३ जना स्थायी, २ जना राहत कोटाका शिक्षक र एक जना कर्मचारी रहेको उक्त विद्यालयमा विद्यार्थी घट्नुको कारण निजी विद्यालयका गाडी र अँग्रेजी माध्यम रहेको हेडसरको निष्कर्श छ ।

२०५४ साल ताका साविकको सिंघिया गाउँ विकास समिति स्थित राम जानकी प्राथमिक विद्यालयमा कक्षा १ मा ९६/९७ जना विद्यार्थी पढाएका हेडसर गोपाल चौलागाईं हिजो आज विद्यालय भरीमा ८० जना विद्यार्थीलाई पढाईरहेका छन् !

किन घटे त विद्यार्थी ?

हेडसरको पनि उहि निष्कर्श छ - अँग्रेजी माध्यम नभएर ।

सरकारले शिक्षकलाई तलब दिएको छ भौतिक पूर्वाधार बनाईदिएको छ, तर कम तलबमा काम गर्ने शिक्षक र छाप्रामा सञ्ञचालित तीनै निजी विद्यालयलाई अभिभावकले विश्वास गर्नुका कारण ठिक तरिकाले शिक्षकले नसिकाएर हो की ? यस तर्फ शिक्षकले सोचिरहेका छैनन् ।

'बालविकासलाई नर्सरी र कक्षा १ लाई केजी भनेर पढाउन थालेका छौं, अभिभावकले गाडी नभएका कारण विद्यार्थी नपठाएको भने पछि उपाय निकालेर निजी कम्पनिको बस भाडामा लिएर विद्यार्थी ओसार्न थालिएको छ तै पनि आफ्ना सन्तान बोर्डिङ् मै पढाउने अभिभावकका कारण विद्यार्थी आउँदैनन्' दिक्क मान्दै चौलागाई सर भन्छन्, 'विद्यालय कसरी राम्रो बनाउने भनेर कुनै सरकारी निकायले सोध्दैन, न हाम्रा लागि बन्ने नीति नियम निर्माणमा हाम्रो सहभागिता गराउँछन् न त सहयोग गर्छन् ।'

शिक्षा सुधार्ने हो भने आधारभूत तहलाइ बलियो बनाउनु पर्ने उनको मत छ, तर यस तर्फ सम्बन्धित निकाय चुपचाप देख्दा उनलाई उदेक लागेको छ ।

सुनसरी विभिन्न भाषा भाषिको वाहुल्य रहेको जिल्ला हो । प्रारम्भिक बाल उमेर देखिनै आफ्नै भाषामा सिकाउने हो भने सिकाइको गुणस्तर अब्बल हुने विभिन्न अध्ययनको निष्कर्श छ । सिकाइका लागि भाषाको त्यत्रो ठूलो अर्थ नभएको र शुरुमा बालबालिकालाई उसकै भाषामा सिकाउन सकियो भने अँग्रेजी लगायतका भाषा सिक्न ठूलो भएपछि उसलाई कठिन नहुने संसारका आजका विकसित देशको अनुभव छ ।

तर, यहाँ अभिभावकको मागका नाममा शिक्षकहरु समेत गुणस्तर भनेको अँग्रेजी भाषा मात्रै हो भन्ने निश्कर्षमा पुगेका छन् । विद्यालय भनेको समाज निर्माणको पहिलो खुट्किलो हो । समाजलाई नेतृत्व दिने संस्थाको नेतृत्वमा नै बढ्दो अँग्रेजी मोहले सार्वजनिक शिक्षा प्रणालीलाई कहाँ पुर्याउने हो यसै भन्न सकिन्न ।

वडा नम्बर ६ मैनी ढेरी स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भवानी ओझा विद्यालयलाई ६ स्थानीय पालिकाले ६ बर्षे ऋण दिने हो भने सुधार गरेर देखाईदिने दावी गर्छन् ।

'जब अभिभावकको चाहना अँग्रेजी छ भने किन नपढाउने ?' प्रश्न गर्दै उनी भन्छन् 'यस तर्फ स्थानीय सरकारले सोच्नु पर्ने छ ।'

रामधुनी मावि लालपुरका प्रधानाध्यापक पूर्णलाल चौधरी कति बेला के मन लाग्छ त्यही निर्णय गर्दिने काईदाले गर्दा सामुदायिक विद्यालयको अवस्था खस्कदैं गएको दावी गर्छन् ।

कति बेला मन लाग्यो रोक्का कतिबेला मन लाग्यो फुकुवा यस्तो हचुवा पनि शिक्षा नीति हुन्छ ? प्रश्न गर्दै उनी भन्छन्, सुधार हुनु पर्यो भनेर भाषण चाँही गर्ने तर आवश्यक पैसा चाँहि नदिने कसरी हुन्छ सुधार ? ,

शिक्षक सरुवाको लागि नियमितता सहितको क्यालेण्डर बनाएर अदली बदली गर्ने हो भने सामुदायिक विद्यालयको सुधारका लागि ५० प्रतिशत काम सकिने ठोकुवा गर्छन् पञ्चायत मावि रामधुनी ७ का प्रधानाध्यापक योगेन्द्र निरौला ।  

'तेरो बाउलाई पनि पढाएँ तँलाइ पनि पढाउँदै छु भन्ने शिक्षकको संख्या धेरै छ' उनी भन्छन् 'निश्चित समयमा शिक्षकको सरुवाको प्रावधान राख्ने वित्तिकै शिक्षकको कार्य समपादनमा फरक पना आउँछ, त्यसले सिकाइ सुधार गर्छ र सामुदायिक विद्यालय राम्रा हुन्छन् ।'

सार्वजनिक शिक्षा सुधार्ने तर्फ नीति निर्माण तह देखिनै चासो दिने हो भने सुधार गर्न समय नलाग्ने अधिकाँश शिक्षकको निश्कर्ष छ । संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत राख्दै, विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत गरेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न स्थानीय सरकार गम्भिर हुनु आवश्यक रहेको उनीहरु बताउँछन् ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख राजन गेलाल संघीय सरकारबाट भएको नीतिगत व्यवस्थाको अभावले काममा अलमल भए पनि संविधानको मर्म अनुसार अब चाँडै नै नीति निर्माण गर्ने गरी पालिकाले काम शुरु गरिसकेको बताउँछन् ।

'शैक्षिक सुधारका लागि हिजोको आस्थाबाट बाहिर निस्केर नयाँ तरिकाले सोच्नु जरुरी छ' उनी भन्छन् 'यस तर्फ नगरपालिका कृयाशिल छ आाशा छ संघीय शिक्षा मन्त्रालयले नीतिगत अन्यौललाई चाँडै हल गर्ने छ त्यस पछि हामी विद्यालयको शैक्षणिक सुधार गरी शिक्षाका सवालमा नमूना पालिका बन्ने बाटो तर्फ अग्रसर हुने छौं ।'

यस पालिका भित्र एउटा मदरसा सहित २५ वटा सामुदायिक विद्यालय र ३५ वटा निजी विद्यालय छन् ।

प्रतिक्रिया