Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

सार्वजनिक शिक्षा सुधारका २ अभियान : कागज हैन कार्यन्वयनमा ध्यान होस्

बुधबार, २७ कार्तिक २०७६

प्रदेश ३ सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले १० वटा स्कूल बस किन्ने निर्णय गरेछ । हामी चाहन्छौं मिडियामा आएको कुरा झुट नहोस् ।

यो निर्णय बारे नकारात्मक चर्चा पनि सुन्नमा आएका छन् तर, अधिकाँश टिप्पणी सकारात्मक छन् । महंगा गाडी छ महिनामै बिग्रनु र कमजोर सस्ता सामानलाई बढी मूल्य देखाएर रकम दुरुपयोग भएको स्थितिले बस खरिदमा त्यस्तो नपरोस् भनेर पूर्वसतर्कताको लागि व्यक्त विचार हुन सक्छन् ।

सरकारका काम कारवाहीमा टीका– टिप्पणी, आलोचना मात्र भइरहेको,  अझ शिक्षा क्षेत्रमा त सकारात्मक समाचार दुर्लभ बन्ने अवस्थामा गत वर्षको एक विद्यालय एक नर्स र यो वर्षको स्कूल बस खरिद गर्ने निर्णयको स्वागत गर्नै पर्छ । राम्रो कामको सराहना र प्रशंसामा खुम्चिने संस्कार मानसिक दरिद्रता नै भन्ने बुझ्नु पर्छ । यी दुबै कार्य कसरी असल छन् भन्नेमा निम्नअनुसार संक्षिप्त विश्लेषण गर्न सकिन्छ ।

एक विद्यालय – एक नर्स

यो कार्यक्रम आवश्यकता भित्र पर्दछ । स्वास्थ्य सबैभन्दा प्रमुख सवाल हो । रोगी र अस्वस्थबाट सही शिक्षा लिने दिने दुबै हुँदैन । विद्यालयमा एक नर्सको व्यवस्था सबैतिरबाट प्रशंसा गरिएको छ । कम्तिमा दुई सयदेखि पन्ध्र सय, तीन हजार सम्म विद्यार्थी भएका स्कूलमा प्रत्येक दिन, प्रत्येक पिरियडमा विद्याथीको चोटपटक मात्र होइन, अरु अस्वस्थता निरन्तरको विषय बनेको छ । टाउको दुख्ने, पेट दुख्ने जस्ता मात्र नभई ज्वरो, खोकी, असहजताको कारणले धेरै विद्यार्थीको अध्ययन, सिकाइ प्रभावित भएको छ । हरेक विद्यालयमा विद्यार्थी बिरामी परेको, अस्वस्थताको कारणले विद्यार्थीले विदा मागेको, अभिभावकले लिन आएको वा स्कूलले घरमै लान परेको, मेडिकल जान परेको अवस्था प्रत्येक दिन भोगिरहनु परेको छ ।

यसका अतिरिक्त माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुको महिनाबारी लगायतका निजी शारीरिक समस्याले पढाई छाड्नुपर्ने अवस्था हामी सबैले थाहा पाएका छौं । विद्यालयमा सेनेटरी प्याडको उपलब्धता र त्यसको प्रयोगबारे जति नर्सबाट उनीहरु स्पष्ट हुन्छन्, त्यो शिक्षक, कर्मचारीबाट हुँदैनन् यो पनि स्पष्ट छ । छात्राहरुले पढाई छोड्नुपर्ने, कमजोर हुने, शैक्षिक स्तर भेट्नै नसक्ने अवस्था पनि देखे भोगेको स्थिति हो ।

यो बेलामा विद्यालयमा नर्स हुँदा तत्काल पर्ने स्वास्थ्य समस्याको हल भई सम्बन्धित विद्यार्थी ढुक्क भएर कक्षामा बस्न सक्छन्, सिक्न सक्छन् । समस्याको उपचारसँगै महत्वपूर्ण सवाल स्वास्थ्य परामर्शलाई हामीले यहाँ प्राथमिकता दिनैपर्छ ।

प्रदेश ३ सरकारको यो विद्यालय नर्स कार्यक्रम अन्य प्रदेशले पनि अनुकरण गरेको समाचार बाहिर आएको छ । गतवर्ष प्रदेश ३ भरीका विद्यालयमध्ये २० वटा विद्यालयमा नर्स पठाएर मन्त्रालयले परीक्षण गरेको हुनुपर्छ । यसको नतिजा राम्रो छ । यो कार्यक्रम अब परीक्षण मात्र होइन, प्रदेश भित्रका सबै माध्यमिक विद्यालयमा एक नर्सको अनिवार्य व्यवस्था गरिनुपर्छ । प्रदेशको बजेटले नभ्याउने हो भने स्थानीय तह सरकारसँग समन्वय गरेर यो कार्यक्रम सफल बनाउनुपर्छ । कुनै स्थानीय सरकार अन्र्तगत वटा माध्यमिक विद्यालय छ भने २ वटा प्रदेशको तर्फबाट र ३ वटा स्थानीयबाट गरेर वा कुनै पनि अनुपातमा सहकार्य गरेर हरेक माध्यमिक विद्यालयमा एक नर्स व्यवस्था हुने वित्तिकै विद्यार्थीको स्वास्थ्य समस्या धेरै हल हुन्छ । स्वास्थ्य परामर्शले पनि महत्वपूर्ण काम गर्छ । छात्राहरुको विद्यालय छाड्ने दर न्यून त हुन्छ नै सँगै सामुदायिक स्कूलको थप आकर्षण समेत हुने तथ्यमा दुईमत छैन ।

स्कूल बस

यो अर्को महत्वपूर्ण अभियान बन्छ । हामीले विद्यार्थी कम भएर स्कूल मर्ज गरिरहेको र शिक्षक व्यवस्थापनमा व्यापक कठिनाई झेलिरहेको अवस्थामा स्कूल बस खरिदको कार्यक्रम स्वयम्मा उपलब्धीपूर्ण र स्वागत योग्य छ । पहाडी तथा दुर्गम एवम् असहज ठाउँहरुमा आवासीय सुविधा सहितको ठूला स्कूल निर्माण गर्नुपर्ने र शहर एवम् सुगम स्थानमा स्कूल बस व्यवस्था गर्नुपर्ने माग हामीले नै गरेका हौं । यो मागको सुनुवाई कम्तिमा १० वटा बस खरिद गरेर प्रारम्भ हुन लागेकोमा सामाजिक विकास मन्त्रालय प्रति आभार व्यक्त गर्नै पर्छ ।

कमिसनको लोभले काम नगरोस् साधन राम्रो परोस्, थोत्रो र कमसल नहोस्, टिकाउ पन राम्रो भएको बलियो बस किनोस् नुपर्छ । कसैले पनि स्कूल बस खरिदमा कमजोरी नआओस् भनेर गरिने खबरदारीलाई नकारात्मक मान्नु हुँदैन । हाल थोरै संख्यामा खरिद गर्दा त विद्यालयलाई नै बस हस्तान्तरण राम्रो हुन्छ । सँगै यो विषयमा पनि स्थानीय सरकारसँग समन्वय गरेर, खासगरी उपमहानगरपालिका यसमा जोडिनु पर्छ ।

स्कूल बस नै नगरपालिकाले चलाएर विद्यार्थीको पायक पर्ने रुट तोक्नु राम्रो हुन्छ । खाली समयमा पालिकाले आफ्नो अनुकूलतामा उपयुक्त प्रयोग गर्न सक्छ । पहिलो चरणमा महानगरलाई छाडेर बीचको उपमहानगरपालिकालाई प्राथमिकता दिँदा राम्रो हुन्छ । नगरपालिका पनि सबै सहज र उपयुक्त छैनन् । विद्यालयलाई बस प्रदान गर्दा एक प्रकारको बोझ त थपिन्छ नै सँगै यातायात सुविधा प्रदान भइरहको हुन्छ । बसको ड्राइभर र उसको सहायक, फ्यूल तथा मर्मत सम्भारको खर्च उपभोक्ता (अभिभावक) ले बेहोर्ने शर्त रहनु पर्छ । बस सञ्चालन समितिमा सम्बन्धित अभिभावकलाई नै सहभागी गराउने प्रावधान गरिनुपर्छ । स्थानीय जनप्रतिनिधिलाई यस्ता यातायात समितिमा अनिवार्य गराउने हो भने प्रभावकारिता बढ्न सक्छ ।

अन्त्यमा, सामुदायिक स्कूल सुधारको अभियानमा नर्सको व्यवस्था र बस सञ्चालनले प्रष्ट र ठोस योगदान गर्ने तथ्यमा दुईमत छैन । यद्यपि शिक्षक व्यवस्थापन पहिलो शर्त बन्दै आएको छ ।

विद्यालयलाई प्रविधिसँग जोडेर त्यसको अनुगमन पालिकाको भवनबाटै पालिका प्रमुख तथा शिक्षा प्रमुखले सिधै गर्न सकिने अवस्था हुन्छ । विद्यालयको गतिविधिलाई सामाजिक विकास मन्त्रालयसँग जोडेर सिधै हेटौंडाबाट सिन्धुपाल्चोकको स्कूल अनुगमन गर्न सकिन्छ । त्यता तर्फ पनि मन्त्रालयको ध्यान जाने अपेक्षा छ ।

विद्यालयमा कम्प्युटर शिक्षक अर्को समस्या हो । यसलाई शिक्षक अनुदान दिँदा स्थानीय सरकारले कम्प्युटर शिक्षकलाई प्राथमिकता दिनु उत्तम हुन्छ । शहरमा चोक र टोलैपिच्छे रहेका विद्यालयलाई मर्ज गरेर प्रभावकारी बनाउन सकिन्छ । कम्तिमा एक हजार विद्यार्थी पढ्ने मात्र गराउने हो भने विद्यालय संख्या एक तिहाई घट्न सक्छ । यसो गर्दा शिक्षक व्यवस्थापन पनि सहज बन्छ भने नर्स र बस सेवाको बढी भन्दा बढी उपयोगिता लिन सकिन्छ । सँगै मर्ज गर्दा खाली हुने स्कूलमा प्राविधिक तर्फका विषयको पढाई गर्न सकिन्छ । शिक्षाको भवन शिक्षामै प्रयोग गर्ने गरी योजनना हुनु अझ राम्रो हुन्छ । कतै सामुदायिक पुस्तकालय, प्राविधिक कक्षा, तालिम कक्षा, सीप विकासका सबै कार्यक्रम हालका सबै विद्यालय मर्ज भएर खाली भएका ठाउँमा गर्नु उपयुक्त हुनसक्छ । यो सुझाव सम्म मात्र हो । सारमा, हाल बाहिर आएका नर्स र बस कार्यक्रम नाम मात्रको नहोस् । यो अभियानसँग सामाजिक विकास मन्त्रालयको प्रतिष्ठा जोडिएको छ । अभियान नै बनाइए पछि दुईचार स्कूलमा मात्र होइन, कम्तिमा ३ वर्षे योजनामा सबै स्कूलमा नर्स र बस पुग्ने गरी निर्णय लिनुपर्छ । आवश्यकता अनुसार स्थानीय सरकारसँग मन्त्रालयले समन्वय गरेर, १० वटा होइन कम्तिमा एक सय वटा बस, विद्यालयलाई यसै सत्रमा वितरण गर्दा थप प्रभावकारी हुने छ ।

सँगै निर्णय भए पछि कागजमा सिमित होइन, कार्यन्वयन महत्वपूर्ण पक्ष हो । तसर्थ कुरा र चर्चा भन्दा राम्रो कामको थालनीमा विलम्ब नहोस् भन्ने हामी सबैको अपेक्षा हो । नाममात्र र औपचारिकता खोजेको होइन, यो समाजले प्रभावपूर्ण स्थितिमा काम भएको हेर्न चाहन्छ । भाषणबाट मात्र होइन, व्यवहारबाट परिवर्तन खोजिएको हो, जुन गरेरै देखाउनुपर्छ । हामी सबै नर्स र बसको सामुदायिक स्कूल लक्षित कार्यक्रमको सराहना सहित प्रभावकारी सफलताको अपेक्षा राख्दछौं ।

प्रतिक्रिया