Edukhabar
शनिबार, ०८ बैशाख २०८१
शिक्षामा यो साता

निजी मेडिकल कलेजको ठगी र नयाँ शिक्षा नीति

सोमबार, ०९ मंसिर २०७६

काठमाडौं - गत साता छापामा प्रकाशित शिक्षा सम्बन्धि खबरहरुमा अनियमित शुल्क उठाउने मेडिकल कलेजलाई सरकारले कारवाही गर्ने विषयले प्रमुख स्थान पाएको छ । सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा गरेको छानविनबाट उनीहरुको अनियमितता पुष्टी भएको हो । 

विचारमूलक लेखको रुपमा शिक्षा र मानवीय क्षमता विकास तथा श्रमको सम्बन्धलाई माक्र्सवादी दृष्टीकोणबाट प्रस्तुत गर्दै वर्तमान शिक्षाको सान्दर्भिकता र चुनौति उल्लेख गरिएको छ । नयाँ शिक्षा नीतिले बाल विकास केन्द्रका सहजकर्ताहरुको तलब दोब्बर  हुने उल्लेख गरेको खबर पनि गत साता प्रकाशित भएको विषय हो । सल्यानको सिद्धकुमाख गाउँपालिका वार्ड नम्बर ४ का वडाध्यक्षले मुस्ताङ्मा स्थायी शिक्षकको रुपमा नियुक्ति लिएको विषय समाचारको रुपमा प्रकाशित भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्ने कार्यमा रोक लगाएको छ । शिक्षकको सरुवा र नयाँ नियुक्ति नगर्न स्थानीय तहलाई अनुरोध गरिएको छ । स्थानीय सरकारलाई शिक्षक नियुक्ति र सरुवा गर्न रोक लगाइएको छ । शिक्षक सेवा आयोगको नियमावली अनुसार यो निर्देशन दिइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिवले वताएका छन् । उनका अनुसार अध्यापन अनुमति पत्र र प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरेका गुणस्तरीय शिक्षकलाई नियुक्ति गर्न यसो गरिएको हो । 

देशकै पुरानो र ठूलो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयले आफ्नो पैतालिसौँ दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीबाट आवेदन माग गरेको छ । त्रिविले गत बर्षबाट दीक्षान्तमा सहभागी हुन अनलाइन निवेदन दिने व्यवस्था गरे पछी सहभागी संख्या बढेको छ । दीक्षान्त समारोह समितिका सदस्य सचिवका अनुसार यो वर्ष १०,१७८ जनाले निवेदन पेस गरेका छन् । त्रिविबाट वर्षेनी ठुलो संख्यामा विद्यार्थी उत्तीर्ण भए पनि यसको गुणस्तरको सन्दर्भमा भने निरन्तर आलोचना भइरहेको छ । 

लामो समय देखि उच्च शिक्षाका समाचार नकारात्मक मात्र आउने गरेकोमा त्रिविमा भएको डिजिटल प्रयोगको परिणाम सम्बन्धि समाचारले सानै भए पनि एउटा सकारात्मक समाचार सार्वजनिक भएको छ । 

अन्ततः मेडिकल कलेजको ठगी पुष्टी भएको छ । सम्पत्ती शुद्धिकरण विभागले तीन वटा मेडिकल कलेजको ठगी धन्दा पत्ता लगाएको हो । विभागले नोवेल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगंज र चितवन मेडिकल कलेज चितवनमा छानविन (छापा मारेर) गरेको थियो । विभागले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय सर्तकर्ता केन्द्रको प्रतिवेदन माथि कारवाही गरेको हो । विभागले अतिरिक्त शुल्क असुल गर्ने मेडिकल कलेजहरु माथी अनुसन्धान गरेको हो । यस अघि मेडिकल कलेजहरुले माग गरेका सूचनाहरु उपलब्ध गराउन अटेरी गरेका थिए । त्यसैकारण मेडिकल कलेजमा छापा मारिएको नाम उल्लेख नगर्ने शर्तमा स्रोतहरुले बताएको खबर प्रकाशित भएको छ । विद्यार्थीबाट अतिरिक्त शुल्क असुल गर्ने कलेजहरुलाई दण्डित गरिनेछ । स्रोतका अनुसार मेडिकल कलेजहरुलाई मङ्सिर अन्त सम्ममा ठगी मुद्धामा कारवाही गरिनेछ । 

अर्को एक आलेख अनुसार निजी मेडिकल कलेज सञ्चालकहरुका आफन्तको सम्पत्ती समेत अनुसन्धान गर्नुपर्छ भनिएको छ । विभिन्न आलेखहरुमा उल्लेख भए अनुसार सैनिक मेडिकल कलेजले पनि विद्यार्थीबाट अतिरिक्त शुल्क असुल गरेको र विद्यार्थीलाई अतिरिक्त रकम तिर्न धम्काउने समेत गरेको उल्लेख गरिएको  छ । 

असफल शिक्षा प्रणाली र माक्र्सवादी दृष्टीकोण शीर्षकको विचारोत्तेजक आलेख गत साता प्रकाशित भयो । वर्तमान शिक्षा प्रणाली, विश्वव्यापी रुपमा बढ्दै गएका जटिलताहरु, सजिला सजिला प्रश्नबाट लिइने ३ घण्टे परीक्षाहरुले विद्यार्थीको वास्तविक सिकाइ भन्दा पनि कागजमा मात्र सिकाइ भएको अवस्था छ । माक्र्सले उल्लेख गरे अनुसार श्रम र मानवीय क्षमता एक अर्कामा सम्बन्धित हुन्छन् र श्रमको परिभाषा, मानवीय पूँजीले श्रममा गर्ने रुपान्तरण जस्ता पक्षहरु शिक्षाबाट सम्बोधन हुनुपर्छ । त्यसैगरी मानवीय पूँजी र श्रमको सम्बन्धबाट पूँजीवाद आउँछ भनिएको छ । आलेखमा सामाजिक परिवेश तथा सन्दर्भलाई व्याख्या गर्दै सार्वजनिक दवाव र शक्ति अभ्यासका सन्दर्भहरु उल्लेख छन् । माक्र्सले कामदारको उत्पादन सम्बन्धी क्रियाकलाप खासगरी पूँजीपतिले लाए अराए अनुसार काम गर्ने मात्र हुन्छ न कि उसको कल्पना तथा सिर्जनाले ठाउँ पाउँछ । हालको शिक्षा प्रणालीमा यसरी नै विद्यार्थीको कल्पना र सिर्जना भन्दा पनि उन्नाइसौ शताब्दीको आर्थिक प्रणालीमा मिल्ने शैक्षिक पद्धति विद्यमान रहेको सवाललाई उठान गरिएको छ । 

विचारमूलक लेखमा काम तथा श्रम र मानवीय क्षमता, सिर्जनात्मकता र शिक्षाको अवस्थालाई माक्र्सवादी दृष्टीकोणबाट व्याख्या गरिएको छ । साथै वर्तमान शिक्षाका चुनौती र यसको लक्ष्य सम्बन्धमा पनि चर्चा गरिएको छ । सञ्चार माध्यमहरुमा ज्यादै कम मात्र यस्ता विषय आउने गर्छन् जसमा शिक्षाको खास उद्देश्य, यसका सुधारका क्षेत्र तथा नयाँ राजनीतिक परिवेशमा नागरिक र राज्यका लागि शिक्षाको उद्देश्यको चर्चा गरिएको छ । 

‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । छापा माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरले कान्तिपुर (नेपाली) र द हिमालयन टाइम्स (अंग्रेजी) दैनिक हिमाल साप्ताहिक (नेपाली), मा २०७६ कात्तिक २७ देखि मंसिर ३ गते सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अंग्रेजीमा पढ्नुहोस् : Medical colleges Raided and unfolding’s of the New Education Policy

अघिल्लो साताको विश्लेषण पढ्नुहोस् : आयोगको सिफारिसमा मात्र शिक्षक, शिक्षा आयोगको सिफारिस वेवास्ता

अहिले सम्म प्रकाशित सबै विश्लेषणलाई एकै ठाउँबाट पढ्नका लागि यो लिंक क्लिक गर्नुहोस् : शिक्षामा यो साता 

प्रतिक्रिया