Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

प्रदेश राजधानी भएको खुसीयालीमा पठन पाठन नै बन्द

सोमबार, २८ पुस २०७६

हेटौंडा - प्रदेशको राजधानी भएको खुसीयाली मनाउने भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६ ले आफ्नो क्षेत्र भित्रका विद्यालयहरुको पठन पाठन नै बन्द गराईदिएको छ । वडाको उक्त निर्णयलाई सरोकारवालाहरुले नसुहाउने कार्यको संज्ञा  दिएका छन् । प्रदेशको राजधानी बन्ने कुरा विद्यार्थीको पठनपाठनमै प्रभाव पार्ने गरी मनाउने खुसीयालीको विषय नभएको भन्दै उनीहरुले आश्चर्य जनाएका छन् । 

'एक त यो नित्तान्त राजनीतिक कुरा हो, यसमा विद्यार्थीको पठनपाठन रोक्नै पर्ने अर्थ त देखिन्न तर वडाले सूचनानै जारी गरेर बन्द गर्न भनेकोले पढाई भएन' एक जना शिक्षकले आश्चर्य मान्दै भने, 'कतिपय शिक्षकहरुले हिजै थाह पाउनु भएको रहेछ उहाँहरु आउनु भएन, थाह नपाएका शिक्षक र विद्यार्थी विद्यालय आयौं र त्यसै फर्कियौं ।'

एकै ठाउँका विद्यालयहरु मध्ये कतै पढाई हुने कतै बन्द हुने गर्दा समाजमा राम्रो म्यासेज नजाने भन्दै अर्का एक शिक्षकले यसले स्थानीय सरकारलाई नै कमजोर र जे मन लाग्छ त्यही गर्छन् भन्ने बुझाई स्थापित गर्ने बताए । 

'त्यसै त शिक्षामा स्थानीय तहको काम गराई चित्त बुझ्दो भएन भन्दै गुनासो बढ्दो छ त्यस माथि यसरी मनपरी गर्न थाले पनि पठन पाठन के होला ?' उनले प्रश्न गर्दै भने 'विद्यालय र बालबालिकाको पठन पाठन माथि किन यो हद सम्मको कार्य ?' 

तर वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईं राजधानी र प्रदेश ३ को राजधानी बन्ने निर्णय ऐतिहासिक विषय भएको र विद्यार्थीले पनि थाह पाउन जरुरी रहेकोले पठन पाठन बन्दको निर्णय गरेको भन्दै बचाउको प्रयास गर्छन् । 

'यो हाम्रो क्षेत्रको खुसीको कुरा हो, ऐतिहासिक कुरा बच्चाहरुले पनि थाह पाउन पर्छ नी !' आफ्नो निर्णयको बचाउ गर्दै उनले भने 'विद्यालयमै खुसीयाली मनाउनु पर्छ भनेर भनिएको हो ।'

तर वडा कार्यालयले जारी गरेको सूचनामा भने पठनपाठन नै बन्द गर्ने उल्लेख छ । सोही अनुसार उक्त क्षेत्र भित्र रहेका ३ वटा सामुदायिक र ३ वटा निजी विद्यालयमा सोमबार पठन पाठन ठप्प भएको छ । 

प्रतिक्रिया