Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

शिक्षा मन्त्रालयलाई नयाँ ढंगले सोच्ने बनाउन शिक्षा सम्मेलन

मंगलबार, ०७ माघ २०७६

काठमाडौं - निजी विद्यालय सञ्चालकहरुको संस्था प्याव्सनले विद्यालय शिक्षा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । वदलिदों परिवेशमा विद्यालय शिक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा शिक्षा मन्त्रालयलाई नयाँ ढंगले सोच्ने बनाउन सम्मेलन गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरेर प्याव्सनले जनाएको छ । 

शिक्षालाई नयाँ आयामबाट अन्र्तराष्ट्रिय स्तरमा पुर्याउन सम्मेलन गर्न लागिएको बताउँदै प्याव्सनका अध्यक्ष टिकाराम पुरीले सम्मेलनमा उठेका विषयलाई मन्त्रालयले ग्रहण गर्ने विश्वास व्यक्त गरे ।

'सम्मेलनले नेपालको शिक्षाको डाईमेन्सन कता लैजाने भन्ने तय गर्ने छ, शिक्षा मन्त्रालयलाई नयाँ ढंगले सोच्ने बाटो दिने छ' उनले भने, 'कन्फ्रेन्समा उठेका कुरा मन्त्रालयले लिने विश्वास लिएका छौं ।'

संविधानले शिक्षालाई अधिकारका रुपमाा गरेको व्यवस्थाका सन्दर्भमा विद्यालय शिक्षामा भईरहेको निजी लगानीलाई क्रमशः निरुत्साहित गर्नु पर्ने तर्क जारी रहँदा निजी विद्यालय सञ्चालकहरुले भने शिक्षाको विकास गर्ने दायित्व आफ्नो भएको दावी गर्दै सम्मेलन गर्न लागेको बताएका छन् । संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत राख्दै आधारभूत तह सम्म अनिवार्य र निशुल्क तथा माध्यमिक तह सम्म निशुल्क गरेको छ । सोही व्यवस्थाका आधारमा उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले विद्यालय शिक्षामा भईरहेको निजी लगानीलाई गुठिमा रुपान्तरण गर्न सुझाव दिएको थियो । उक्त सुझावको विरुद्धमा निजी विद्यालय सञ्चालकहरुको लविङ्का कारण प्रतिवेदन सार्वजनिक नगरिकनै सरकारले शिक्षा नीति ल्याएको छ । जहाँ विद्यालय शिक्षामा भईरहेको निजी लगानी नियमनको विषय थाती राखिएको छ । 

पढ्नुहोस् :  मुख्य विषय 'थाती राखेरै' शिक्षा नीति !

तर, अध्यक्ष पुरीले उक्त सम्मेलन ऐन निर्माणमा आफ्ना विषय राख्न दवाव दिने उद्धेश्यले गर्न नलागिएको दावी गरे ।

'यो सम्मेलन ऐन निर्माणमा दवाव दिनका लागि हैन, सम्मेलनमा हामी पेशागत कुरा गर्दैनौं, यो शैक्षिक विषयका बारेमा मात्रै छलफल गर्ने सम्मेलन हो' उनले भने 'हाम्रा हकहितका लागि त लविङ् मात्रै हैन, परि आए लडाईनै गरिन्छ, आन्दोलन नै गरिन्छ ।'

देश विदेशका विज्ञहरुको प्रस्तुती रहने सम्मेलनमा निजी विद्यालय सञ्चालकहरु र त्यहाँ कार्यरत शिक्षक बाहेक सरकारी निकायका प्रतिनिधि, विश्वविद्यालका प्राध्यापक, अध्येता, अनुसन्धानकर्ता,  सामुदायिक विद्यालयका शिक्षक सहित शिक्षाका नीति निर्माणमा संलग्न व्यक्तिहरुको सहभागिता रहने प्याव्सनले जनाएको छ । 

होटल हायातमा बुधबार र विहीबार दुई दिन चल्ले उक्त सम्मेलनमा भाग लिन प्याव्सनले आफ्ना केन्द्रिय समितिका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरु, प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरुलाई अनिवार्य गरेको छ । सशुल्क सहभागि हुनु पर्ने उक्त सम्मेलनमा भाग लिन चाहनेले अनलाईन मार्फत् बुकिङ् गर्दा प्रति व्यक्ति १३ हजार र कार्यक्रमकै दिन दर्ता गर्दा प्रति व्यक्ति १५ हजार रुपैंया तिर्नु पर्ने व्यवस्था गरिएको सम्मेलनका संयोजक राजेन्द्र वानियाँले जानकारी दिए । 

प्रतिक्रिया