Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

प्रधानमन्त्री र शिक्षा मन्त्रीले विद्यार्थीको भविष्य माथि खेलवाड गरेको आरोप

मंगलबार, १३ फागुन २०७६

काठमाडौं - मंगलबार बसेको संघीय संसदको बैठकमा प्रधानमन्त्री र शिक्षा मन्त्रीले विद्यार्थीको भविष्य माथि खेलवाड गरेको आरोप लगाईएको छ । संसदको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलकी सांसद डिला संग्रौला पन्तले उक्त आरोप लगाएकी हुन् । विश्वविद्यालयहरुमा लामो समय देखि खाली रहेको पदाधिकारी नियुक्तिमा चासो नदिएका कारण सांसद संग्रौलाले उक्त आरोप लगाएकी हुन् । 

'दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरु महिनौं देखि पदाधिकारी बिहीन छन्, ६ वटा विश्वविद्यालय भदौ देखि नै नेतृत्व विहीन छन् । विधिपूर्वक नेतृत्व छान्नु पर्ने विश्वविद्यालयमा पनि कलुसित राजनीतिको छायाँ छ, लाखौं विद्यार्थीको भविष्य माथि खेल्ने अधिकार न प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई' उनले भनिन् 'लाभको लोभले राष्ट्रको भविष्यमा खेलवाड नगरियोस् ।' 

भागवण्डाको आधारमा नेतृत्व चयन नगर्न सचेत गराउँदै उनले तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गर्न पनि माग गरिन् । 

ज्ञानको सबै भन्दा ठूलो दुष्मन अज्ञानता हैन ज्ञानको भ्रम हो भन्ने वैज्ञानिक स्टेफन्स हकिन्सको भनाई उदृत गर्दै उनले बहुत ज्ञानी हुँ भन्ने नेकपा सरकारले सोही धारणा बोकेको आरोप लगाउँदै उनले भनिन् - 'कुलपति समेत रहेका प्रधानमन्त्री र द्वन्दका बेला बुर्जुवा शिक्षा नपढ्न उर्दी जारी गर्नु हुने शिक्षा मन्त्रीको विद्यालय प्रतिको दृष्टिकोण ज्यादै अपरिपक्व र अव्यवहारिक छ ।'  

 

प्रतिक्रिया