Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

किताबको सट्टा ट्याब

बुधबार, ०५ चैत्र २०७६

काठमाडौं ५ चैत / बुटवलको एउटा विद्यालयका बालबालिकाहरू  प्रविधि प्रयोगबाट शिक्षा आर्जन गरिरहेका र यसले सिकाइमा सुधार ल्याएको छ । नागरिकमा किताब होइन ट्याब बोकेर स्कुल शिर्षकमा रेखा भुसालले लेखेको खबर अनुसार  घरमा मात्रै होइन विद्यार्थी पवद्यालयमै ट्याब बोकेर जान्छन्। कक्षामा विषय शिक्षक प्रवेश गर्नासाथ झोलाबाट कापी–कलमसँगै ट्याब झिक्छन्। त्यसपछि बल्ल उनीहरूको पढाइ सुरु हुन्छ।

यसरी प्रविधिको प्रयोगबाट बालबालिकालाई स्मार्ट शिक्षा प्रदान गर्न सुरु गरेको हो, बुटवलको सहिद स्मारक बोर्डिङ स्कुलले। सो स्कुलले विगत दुई वर्षदेखि डिजिटलाइज्ड शिक्षण पद्दति अपनाउँदै आएको छ। कक्षा ६ देखि १० लाई बुकलेस (किताबरहित) बनाई डिजिटल माध्यमबाट पढाउँदै आएको विद्यालयका निर्देशक गणेश ज्ञवालीले बताए। प्रविधि प्रयोगमा दक्ष बनाई विश्वबजारमै प्रतिस्पर्धी र सक्षम शैक्षिक जनशक्ति उर्न डिजिटलाइज्ड अध्यापन सुरु गरेको उनले बताए।

नयाँ र उत्कृष्ट पाठ्य–सामग्री खोज्न र अध्ययन गर्न सहज भएकाले डिजिटलाइज्ड अध्यापन प्रणाली उपयुक्त भएको विद्यार्थीहरू बताउँछन्। एसइईको अन्तिम तयारीमा रहेकी कक्षा १० कि छात्रा सरिष्मा पोख्रेलले प्रविधिको प्रयोगले आफूलाई चाहिने पाठ्य–सामग्री खोज तथा अध्ययन गर्न निकै सहज भएको अनुभव सुनाइन्।

हाल विद्यालयमा अध्ययनरत चार सय ५० विद्यार्थीमध्ये ६ कक्षामाथिका एक सय ३९ विद्यार्थीको हातमा ट्याब छ। विद्यार्थी, अभिभावक र शिक्षकको मोबाइल र ट्याबमा सहिद स्मारक बोर्डिङ स्कुल नामक एप्लिकेसन राखिएको छ। कक्षा हाजिरी, गृहकार्य, पाठ्यक्रम, परीक्षाको तालिका, नतिजालगायत सम्पूर्ण काम एप्लिकेसनमार्फत गरिन्छ। शिक्षकले दिएको गृहकार्य अभिभावकले समेत आफ्नै मोबाइलमा हेर्न सक्छन्। विद्यार्थीले पनि त्यसबाटै गृहकार्य गर्ने प्राविधिक शिक्षक शालिकराम भुसालले बताए। शिक्षकले सोही एप्लिकेसनबाट अध्यापन गर्छन्। शिक्षकले अघिल्लो दिनै भोलिको योजना भिजुअल, अडियो माध्यमबाट तयार गर्छन्।

कक्षाकोठामा टच–बोर्ड छ। कम्प्युटरको किबोर्डले टाइप गरेपछि बोर्डमा लेखिन्छ। टाइप ढिलो गर्ने शिक्षकले टच–पेनको प्रयोग गर्न सक्छन्। तर विद्यालयले सकेसम्म पेनको प्रयोग घटाउँदै लगेको छ। अबको समय शिक्षक मार्कर र बोर्डमा सीमित हुन भएन भन्ने सन्देश विद्यालयले दिइरहेको शिक्षक रामबहादुर पचभइयाले बताए।

प्रतिक्रिया