Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

रेडियोबाट कक्षा, शिक्षकको रोष्टर बनाएर जिम्मेवारी तोकिने

शुक्रबार, १२ बैशाख २०७७

बाँके - कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउन गरे सँगै रोकिएको विद्यालय तहका विद्यार्थीको पठनपाठनलाई रेडियो स्कुल कक्षा मार्फत् शुरु गरिने भएको छ । शिक्षाका क्षेत्रमा कार्यरत विभिन्न गैह्रसरकारी संस्थाको आर्थिक सहयोग तथा बाँकेका केही स्थानीय सरकारको साझेदारीमा कृष्णसार एफएम ९४ मेगाहर्ज मार्फत् आईतबारबाट प्रशारण गरिने उक्त रेडियो स्कुल कक्षा सञ्चालनका लागि अनुभवी शिक्षकको रोष्टर बनाएर जिम्मेवारी तोकिने भएको छ ।

कक्षा सञ्चालनका लागि विभिन्न सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापन गराईरहेका झण्डै दुई दर्जन अनुभवी शिक्षकहरुको रोष्टर बनाईने छ । शिक्षक महासंघको जिल्ला समितिले शिक्षक छनौट गर्ने छ । छनौट भएका शिक्षकहरुलाई शनिबार विहान रेडियो कक्षाको पूर्व अभ्यास र प्राविधिक तयारीका बारेमा जानकारी गराईने एफएमका संस्थापक तथा कार्यकारी प्रमुख तुला अधिकारीले जानकारी दिए ।

कृष्णसार एफएम ९४ मेगाहर्ज, रेडियोको अनलाईन कृष्णसार अनलाइन डट कम डट एनपी र कृष्णसार एफएमको फेसवुक पेजवाट एकै साथ दिउंसो ३ देखि ५ बजेसम्म सातामा ५ दिन नियमित कक्षा सञ्चालन हुने उनले बताए । आईतवारदेखि बीहिवारसम्म सञ्चालन हुने उक्त कक्षामा दिउंसो ३ बजे देखि कक्षा ५ सम्मको र ३ बजेर ४० मिनेटबाट कक्षा ६, ७ र ८ को आधारभुत तहका कक्षा सञ्चालन हुनेछन् । यस्तै दिउँसो ४ वजेर २० मिनेट देखि ५ बजेसम्म कक्षा ९ र १० को माध्यमिक तहका मुख्य विषयका कक्षाहरु सञ्चालन हुनेछन् ।

बार अनुसार विषय निर्धारण गरिएको उनले बताए । जसअनुसार आईतबार नेपाली, सोमबार अंग्रेजी, मंगलबार विज्ञान, वुधबार गणित र बीहिबार सामाजिक विषयका सबै तहका विद्यार्थीले नियमित रेडियो स्कुल नमुना कक्षा मार्फत् घरमैं बसेर कक्षा लिन सक्छन् । रेडियो कक्षामा विद्यार्थी सहभागिता सुनिश्चित गर्न  स्थानीय सरकारका शिक्षा शाखा तथा शिक्षकहरुले पहल गर्नेछन् ।

'अहिलेको समस्या संसारले भोगेको संकट हो, संकट छ भनेर त्यसै बस्नु उचित हुँदैन, त्यस माथि यही बहानामा बालबालिकाको सिकाइ र पठनपाठनलाई अवरुद्ध गर्दा पर्ने दूरगामी असर धेरै हुन सक्छन्' अधिकारीले भने, 'हामीसँग प्रविधिले दिएको यति धेरै अवसरलाई किन प्रयोग नगर्ने भन्ने निश्कर्ष निकालेर हामी यो कार्यमा जुटेका हौं ।'

रेडियो स्कुल कक्षा सञ्चालनका लागि सेभ द चिल्ड्रेन, प्लान नेपाल, स्याक नेपाल र सामाजिक विकास मञ्चले आर्थिक सहयोग गरेका छन् भने अहिले सम्म  नेपालगञ्ज उपमहानगरपालिका तथा खजुरा, वैजनाथ र जानकी गाउँपालिकाले साझेदारी गर्ने तय भएको छ । यसमा अन्य पालिकाहरुको सख्या पनि क्रमशः थपिने अपेक्षा गरेको अधिकारीले बताए ।

प्रतिक्रिया