Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

सिकाइ सहजीकरणमा शिक्षक परिचालनको निर्णय, समन्वय समिति गठन

शुक्रबार, ०२ जेठ २०७७

सिन्धुपाल्चोक - पुरानै अवस्थामा पठनपाठन असम्भव भए पनि सिकाइका लागि शिक्षक परिचालन गरी सहजिकरण गर्ने जुगल गाउँपालिकाले निर्णय गरेको छ । कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउनको निर्णय गरेसँगै विद्यालयहरु बन्द रहँदा पठनपाठन ठप्प हुँदै आएको छ । यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्ने बारेमा विद्यालयका प्रधानाध्यापकहरु सहित बिहीबार भएको छलफल पछि पालिकाले उक्त निर्णय गरेको हो ।

अभिभावक, शिक्षक र विद्यार्थी विच समन्वय गरि सिकाइ क्रियाकलाप गर्न पालिका स्तरीय १ र प्रत्येक वडामा १ १ वटा गरि ७ वटा वडा स्तरीय समन्वय समिति गठन गर्ने पनि पालिकाको निर्णय छ । निश्चित दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा विधि अपनाएर बिहीबार गरिएको अन्तरक्रियामा परिस्थती प्रतिकुल भए पनि बालबालिकाको सिकाइलाई ध्यान दिन जरुरी रहेको निष्कर्श निकालिएको थियो ।

'अभिभावकहरुको सहभागितामा सिकाइ क्रियाकलाप अघि बढाइने शिक्षकले सहजिकरण गर्ने र समितिहरुले समन्वय गर्ने' निर्णयमा भनिएको छ, 'यसले बालबालिकाहरुको दैनिक क्रियाकलापमा सकारात्मक सुधार ल्याउनेछ ।'

छलफल पछि अध्यक्ष होमनारायण श्रेष्ठले निर्णय, समझदारी तथा अपेक्षित उपलब्धिहरु सार्वजनिक गरेका छन् ।

जुगल गाउँपालिकाद्धारा तयार गरिएको स्थानीय पाठ्यक्रम र विभिन्न संस्थाहरु मिलेर अनौपचारिक रुपमा निर्माण गरेको शिक्षा समूहको सहयोगमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको सामाग्रीहरु प्रयोग शिक्षण सिकाइ क्रियाकलाप सम्बन्धि दुरी घटाउने निर्णय भएको छ । यस्तै अध्ययन तथा सिकाइ सामाग्री छपाइको लागि बैठक अवधिमै अर्डर गरिएको र अर्को साता विद्यार्थीको हातमा पुर्याउने उनले बताए । नियमित पुस्तक वितरण गरिएको र बाँकी रहेको स्थानमा पनि अविलम्व गर्ने निर्णय पनि भएको छ ।

यस कार्यले बालबालिकाको सर्वाङ्गिण विकासमा अभिभावकहरुको सहभागिता मुलक व्यवहारको लागि वातावरण तयार हुने र महामारी बिरुद्धको अभियानमा व्यवहारिक शिक्षाको साथै मनोसामाजिक सुस्वास्थ्य कायम हुने विश्वास लिइएको छ । यस्तै विद्यालय शिक्षालाई पढ्ने र पढाउने मात्र नभइ परिवार, अभिाभावकको सहयोगमा सिक्ने, सिकाउने र जीवनपद्धतीसंग जोड्ने पनि पालिकाले अपेक्षा गरेको उनले बताए ।
पालिका भित्र ४५ वटा सामुदायिक विद्यालय छन् ।

पहिलेको जस्तै गरी सामान्य तरिकाले विद्यालय सञ्चालन गर्न नसकिने भए पनि विद्यालयका गतिविधि र विभिन्न तरिकाबाट विद्यार्थी, शिक्षक र अभिभावक विचको छलफल शुरु गर्न सकिने शिक्षाविद्हले उपाय सुझाएको २ दिन पछि पालिकाले यस्तो निर्णय गरेको हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरले संयुक्त रुपमा गरेको अनलाईन अन्र्तकृयामा सहभागि शिक्षाविद्हरुले जोखिमको अवस्था विश्लेषण गर्दै सजगता पूर्वक विद्यमान अन्योलको अन्त्य गर्न जरुरी रहेको बताएका थिए । यस कार्यमा पालिकाहरु अग्रसर हुनु पर्ने उनीहरुको सुझाव थियो । शिक्षकलाई विद्यालयमा पठाउन ढिलो गर्न नहुने भन्दै शिक्षाविद्हरुले नयाँ भर्ना प्रकृया समेत शुरु गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।  

उक्त अन्र्तकृयामा गाउँपालिकाका अध्यक्ष समेत रहेका गाउँपालिका राष्ट्रिय महासँघका अध्यक्ष श्रेष्ठ पनि सहभागि थिए । उनले अभिभावक, शिक्षक र जनप्रतिनिधि सँग सँगै अघि बढ्दा मात्रै ठिक ठाउँमा पुग्न सकिने उल्लेख गर्दै उनले सबै गाउँपालिकामा गर्न सकिने अभ्यासका बारेमा विधि निर्माण गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पढ्नुहोस् : लकडाउन छ भनेर नकुरौं, शिक्षकलाई तत्कालै विद्यालयमा पठाउँ, नयाँ भर्ना पनि खोलौं

प्रतिक्रिया