Edukhabar
विहीबार, ०६ असार २०८१
अभिभावक / विद्यार्थी

सकसमा विद्यार्थी

सोमबार, ०५ जेठ २०७७

के छ हालखबर ? के हुनु, उस्तै त हो, खाना खायो, सुत्यो । उठ्यो, फेरी खायो अनि फेरी सुत्यो । बाहिर निस्कन मिल्दैन । पाहुना जान पाईएन । कोहि आफन्त पनि आउन पाएनन् । भेटघाट सबै फोनमा सिमित भएको छ । टिभि पनि कति हेर्नु, उस्तै कार्यक्रम दिनभर रातभर, खासै फरक भए पो !

यो सवाल जवाफ हरेक घरको यथार्थ हो । आईतबार मात्रै सरकारले जेठ २० गते सम्म लकडाउन बढाउने निर्णय गरेसँगै यो क्रम अझै लम्बिने भएको छ ।

कोरोना भाईरसले सिंगो विश्व कब्जामा लिने गरी आतङ्क उत्पन्न गरेको पाँच महिनाको अवधिमा ३ लाख भन्दा बढि मानिसको जीवन समाप्त भएको छ । अझै कति क्षति हुने हो, अनुमान पनि कठिन बनेको छ । दुनियाँको अर्थ ब्यवस्थामा अकल्पनीय उतार चढावको संकेत देखिईसकेको छ । शिक्षा, स्वास्थ्य र पर्यटन तथा उद्योग व्यबसाय कोमामा पुगिसकेका छन् । मानिसको जीवन शैलीमा व्यापक परिवर्तन आएको छ । ग्रामिण क्षेत्रमा भने मान्छेको दिनचर्यामा उल्लेखनीय फेरबदल देखिदैंन । खेति तथा पशुपालनका कामहरु निरन्तर चलिरहेकै छन् ।  तरकारी साग पातको उत्पादन उस्तै छ । यद्यपि बजार ब्यवस्था भने पीडादायक नै भन्नु पर्छ ।

१. शिक्षण संस्था बन्द भएकाले बालबलिका दिक्क छन् । शुरुमा त स्कूल जान नपरेकाले रमाएकाहरु आजकाल कहिले स्कूल खुल्ने भनेर दिनको बाह्र पटक सोध्छन् । गाउँका विद्यार्थी दिनभर कुनै न कुनै काममा ब्यस्त हुन्छन् । घर भित्रका र बाहिरका विभिन्न खाले क्रियाकलापमा गाउँलेहरु जोडिएका हुन्छन् । फुर्सद हुँदा मौलिक खेलहरुमा समेत केटाकेटीहरु रमाउन भ्याउँछन् ।  खाना पकाउने काममा पनि शहरमा जस्तो ग्याँसको प्रयोग नभै दाउरा बालिने भएकाले समय बढि लाग्छ नै । पशुपालन तथा खेतिपातीको कामले ब्यस्तता बनाउँछ गाउँका विद्यार्थीलाई । उनीहरु प्रायसंग मोबाईल फोन हुदैंन, फोन भए पनि नेट हुदैंन । टिभि हुदैंन, टिभि भए पनि केबल लाईन छैन । विद्युत सेवा डिस्टर्ब छ, शायद मौसम पनि प्रतिकुल भएर होला । गाउँमा प्रविधिको पहुँच फितलो छ ।
तथ्याङ्कले त ब्यापक जनताको घरघरमा बिजुली र ईण्टरनेट उपलब्ध भएको देखाउँछ नै । तर वास्तविकता भोग्नेहरुलाई मात्र थाहा हुने रहेछ ।  उता परिक्षार्थीको पिडा भिन्न छ । जाँच हुने नहुने अन्योल छ । भए कहिले हुने हो, निश्चित छैन । दिनभरीमा दशवटा समाचार सुनिन्छ, कुन पत्याउने कुन नपत्याउने कुन आधिकारिक हो, बुझ्न ज्यादा कठिन भएकै हो ।

२ . शहरको पीडा झनै जटिल बनेको छ । बाहिर निस्कन मिल्दैन । सडक प्राय शुन्य छ । बिहानै तरकारीवाला आउँछ , दूधको गाडी आउँछ, खाद्यान्नको गाडी आउँछ, बेच्छन् जान्छन् । प्रहरीका भ्यानको मात्र आवाज सुनिन्छ । यत्तिखेर पैसा हुनुपर्छ, हरेक आवश्यक कुरा ढोकामै पाईन्छ ।

तर, विद्यार्थी धेरै सकसमा छन् । आमा बुबा तथा अभिभावक जत्तिबेला पनि खै पढेको, टिभिमा कक्षा भैरहेको छ, तिम्रो ध्यान कता हो, उता जुम मिटि¨मा सरले कक्षा शुरु गरिसक्नु भयो, कता हराएको छौ, फेरी केहि समय पछि गुगल मिटि¨मा अर्को विषयको कक्षा हुदैंछ, यस्ता भनाईले तनाव थपेको छ । कोठा पर्याप्त छ भने अलग कोठामा बसेको विद्यार्थीमा उकुसमुकुस झनै बढिरहेको छ । बाह्य वातावरणमा घुलमिलको अवस्था नरहेको कारणले एकोहोरो बनाउने खतरा बढेको छ । एकोहोरोपन नै डिप्रेशनको शुरुआत भएकाले थप गम्भिरतातर्फ धकेलिएको स्थिति महसुस गरिएको छ । उहि कोठा, उहि वातावरण, उहि परिवेश, परिवर्तनको वा नयाँ पनको प्रवेश पटक्कै छैन । साथीहरुसंग भेटघाट नहुँदा फोटोले मात्र चित्त बुझाउन कठिन भएको छ । सिकाइको लागि एकोहोरो अवस्था पटक्कै उपयुक्त हुँदैन । भिन्न स्थिति हुनैपर्छ । कतिपय अवस्थामा दोहोरो संवाद अनिवार्य हुन्छ नै । सिकाइमा त केहि शेयरि¨ जरुरी पर्छ पनि । यी कुरा लकडाउनमा बसेका विद्यार्थीको लागि सम्भव हुँदैन । अन्य वर्ग र तहका समुदाय संगै विद्यार्थी अत्यधिक तनावमा रहेका छन् ।

३.  बालबालिका मात्र नभै सबै उमेर समुहका मानिसहरु ज्यादा प्रभावित भएको वर्तमान अवस्थामा खास गरि शहरीयाहरुमा डिप्रेशनको खतरा बढिरहेको स्विकार्नु पर्छ । हालकै स्थितिले थप डरलाग्दो भविष्यको संकेत गरिसकेको छ । प्राथमिकता स्वास्थ्य शिर्षकमा दिनै पर्छ । बाँचेर नै सबै काम गर्न सकिन्छ । शिक्षा सबै भन्दा प्रभावित भै सकेको छ । परीक्षा लिंदा पनि ढिलो भएकाले धेरै गढबढ हुने निश्चित छ । परीक्षा नलिई कक्षा प्रमोशन गर्दा कोरोना वर्षका भन्ने विशेषण पक्कै झुण्डिने नै छ । जसरी शिक्षक तथा कर्मचारी स्वतः स्थायी वा परीक्षण अवधि छ महिना बितिसके पछि स्थायी भएका प्रतिको हेराई बुझाई विज्ञहरुबाटै भिन्न पाईएकै छ । यसरी कोरोना भाईरस हाम्रो भविष्यका लागि समेत घातक बनिसकेको छ । मानसिक प्रभाव अध्ययनको एक महत्वपूर्ण विषय हो । 

मनोबैज्ञानिकहरुलाई यो अवस्थाले गम्भिर ध्यानाकर्षण गरेकै छ । लकडाउनको मानसिक प्रभावबाट श्रृजित आम पीडाको मनोविज्ञानलाई अत्यन्त सुक्ष्म कोणबाट विश्लेषण जरुरी भएको छ । जीवन शैलीको असहजता र वाक्क दिक्क बसाई संगै विना काम र निष्क्रियताले उत्पन्न गरेको मानसिक प्रभावको उपचार खोज्नै पर्ने अर्को कार्यभार थपिएको छ ।  

४.   दार्शनिकहरुको भनाई यस्तो पनि छ— “ मानिस एकै स्थानमा बस्नको लागि मात्र जन्मिएको हैन ।” लकडाउन भनेको जेलजीवन पनि त हैन । सजगता र सावधानी महत्वपूर्ण पक्ष हो । यता लकडाउन छ । उता बाहिरका मानिसहरु देशका कुनाकुनामा पुग्दा परीक्षण बेखबर छ । लकडाउनको अर्थ कायम नरहन सक्छ । यस विषम परिस्थितिमा परीक्षणको दायरा व्यापक बृद्धि गर्न जरुरी छ । कोरोना भाईरस बिरुद्धका राज्यले तोकेका आचारसंहिताको पूर्ण परिपालना पहिलो शर्त बन्नुपर्छ ।

भविष्यका यस देशका संवाहकहरुको शिक्षा र परीक्षाबारे राज्य गम्भिर बन्नैपर्छ । बालबालिकाहरुको मनोविज्ञान गिरेको छ । परम्परागत विधिको अब रुपान्तरण हुनुपर्छ । भिन्न तरिका शैली अपनाएर जाँच लिनुपर्छ । शिक्षण सिकाइ क्रियाकलापमा पनि अब बिस्तारै डिजिटल युगमा प्रवेशको मार्ग प्रशस्त  भएको छ । जति सकिन्छ त्यो थालनी गर्नै पर्छ । हुँदै नहुनु भन्दा केहि हुनु गरिनु सकारात्मक मानिनु पर्छ । आवश्यक स्रोत साधनको पहुँच र बिस्तारमा योजनाबद्ध कार्यान्वयनमा जानै पर्छ । प्रविधिको विकास र विस्तारमा अब बिलम्व गरिनु हुन्न ।  मिडिया मार्फत शैक्षिक र सीपमूलक सामग्री प्रसारण बढाउनु पर्छ । रेडियो तथा टिभिलाई अधिकतम उपयोगी बनाउने बेला यहि हो । अनलाईन सामग्री प्रसारण तथा कार्यक्रमहरुको व्यापार तत्काल रोकी यस्ता प्रविधिको उपयोग सरकारी स्तरबाट औपचारिक र विधि पूर्वक गरिनु पर्छ ।  

५.  स्वास्थ्यकर्मी संगै मनोसामाजिक परामर्शदाताहरुको जिम्मेवारी बढेको यत्तिबेला प्रत्येक व्यक्ति अझ खासगरी बालबालिका र विद्यार्थीको मनोविज्ञानको गहिरो अध्ययन गरिनु पर्दछ । एकोहोरो देखिनु, चाँडै रिसाउनु, कुनै पनि कुरामा रुची नदेखाउनु, उदासिन देखिनु, प्रत्येक कुरामा निराशा र नकारात्मक टिप्पणी गर्नु, एकान्त अर्थात एक्लै बस्न रुचाउनु, जत्तिबेला पनि सोचमग्न देखिनुलाई डिप्रेशनको अवस्था मानिन्छ । यो स्थिति पटक्कै राम्रो होईन । यस भन्दा पछिको स्टेज झनै भयावह बन्न सक्छ । तसर्थ शहरीया बासिन्दा मूलत बालबालिका एवम् विद्यार्थीको लागि उपयुक्त वातावरणको तयारीमा जिम्मेवार पक्षहरुको गम्भिर ध्यानाकर्षण हुनै पर्दछ । लकडाउनको मोडालिटिमा परिवर्तन गर्नुपर्छ । परिवारमा घुलमिल हुने र एक आपसमा विभिन्न विषयहरुमा छलफल गरिरहनु राम्रो हुन्छ । एक्लै बस्ने र एकोहोरो बन्ने मौका कसैलाई पनि दिनु हुँदैंन । मिडिया मार्फत जानकारी मूलक र स्वस्थ्य मनोरञ्जनात्मक सामग्री प्रसारण गरिनु राम्रो हुन्छ । यो विषम एवम् महाव्याधिको समयमा प्रत्येक पाईलामा संयमता र धैर्यता जरुरी पर्दछ ।  

प्रतिक्रिया