Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षाका सहसचिवको जिम्मेवारी हेरफेर

मंगलबार, १३ जेठ २०७७

काठमाडौं - शिक्षा मन्त्रालयले दुई जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयमै रहेको विद्यालय शिक्षा महाशाखाका प्रमुखको रुपमा कार्यरत कृष्णप्रसाद काप्रीलाई मन्त्रालयको महत्वपूर्ण मानिएको योजना महाशाखाको जिम्मेवारी दिईएको छ । यसै गरी शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक केशव प्रसाद दाहाललाई पाठ्यक्रम विकास केन्द्रको महानिर्देशकमा सरुवा गरिएको मन्त्रालय श्रोतले जनाएको छ ।

काप्रीले गर्दै आएको कार्य अर्थात् विद्यालय शिक्षाको काम प्राविधिक शिक्षा महाशाखाका प्रमुखका रुपमा कार्यरत दीपक शर्मालाई नै तोकिएको । उनले अब दुवै महाशाखाको कार्य गर्ने छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रमुखमा भने कसैलाई जिम्मेवारी नतोकिएको मन्त्री गिरिराजमणि पोखरेल निकट श्रोतले जनाएको छ ।

तत्कालिन महानिर्देशक डा. लेखनाथ पौडेलको अवकास सँगै २ महिना देखि पाठयक्रम विकास केन्द्र नेतृत्व विहीन थियो । यस्तै डा. कमल पोखरेल २ साता अघि प्रदेश सचिवका रुपमा सुदुरपश्चिम प्रदेशमा सरुवा भए सँगै मन्त्रालयको योजना महाशाखा पनि प्रमुख विहीन थियो । मन्त्रालयको योजना महाशाखा निकै महत्वपूर्ण मानिन्छ । उक्त महाशखामा मन्त्रीले आफू निकट सहसचिवलाई राख्ने प्रचलन छ ।

तर, बजेट निर्माण र कोरोना संकटमा शैक्षिक प्रणाली सञ्चालनको खास योजना बनाउने समयमा मन्त्रीले कुनै पनि सहसचिवलाई जिम्मेवारी तोक्न नसक्दा मन्त्रालयको कार्य सम्पादनमा प्रभाव पर्दै आएको थियो ।

यसै गरी पाठ्यक्रम विकास केन्द्र नेतृत्व विहीन हुँदा बदलिदोँ सन्दर्भ सुहाउँदो पाठ्यक्रम निर्माण लगायतका महत्वपूर्ण कार्यमा प्रभाव पर्दै आएको थियो । अहिले जिम्मेवारी हेरफेर गरिएका दुवै जना सहसचिव मन्त्री पोखरेल निकट मानिन्छन् । तर जिम्मेवारी दिदाँ बरिष्ठतालाई ध्यान दिईएको उक्त श्रोतको दावी छ ।

प्रतिक्रिया