Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

शैक्षिक क्यालेण्डर फेरिने हो ? विचलित मनोविज्ञानलाई ध्यान दिउँ

आइतबार, १८ जेठ २०७७

अहिले लाखौंको संख्यामा विद्यार्थी शिक्षालयको औपचारिक अध्ययनबाट वञ्चित छन् । बर्षभरि मेहनत गरेर परीक्षाको मुखैमा आइपुग्दा स्थगित भएका परीक्षाका बारेमा अहिले सम्म निर्णय नहुँदा उनीहरुको मानसिक वेचैनी बढेको छ । रोकिएका परीक्षाहरु कहिले सञ्चालन हुने होलान् ? शिक्षालयहरु कहिले खुल्लान् ? शैक्षिक क्यालेण्डर नै फेरिने हो की ? हाम्रो पढाई एक बर्ष ढिला हुने पो हो की ? जस्ता प्रश्नको उत्तर नपाउँदा विद्यार्थी अभिभावकमा मानसिक तनाव बढ्दो छ । एकातिर बालबालिकाहरु निराश भएका छन् भने अर्कोतिर अभिभावकहरु पनि छोरोछारीहरुको पढाई लेखाई प्रति चिन्तित छन् ।

अहिले शिक्षा क्षेत्रका समस्याहरुको बारेमा समाजमा विभिन्न विचारहरु प्रवाह भईरहेका छन् । एकातिर कोरोना कोभिड– १९ को महामारी बढ्दो छ भने अर्कोतिर यसको अन्त्यको तिथि मिति पनि निश्चित छैन । औषधि बनेको छैन । खोप छैन । समय त खराब छ नै तथापि राज्यले शैक्षिक क्रियाकलापहरु सञ्चालनका वैकल्पिक उपायहरुको खोजी गर्ने  गृहकार्य गर्न विलम्ब गर्नु हुँदैन ।  तर राज्य अल्मलिई रहेको छ । ठोस कार्य योजना बनाउन सकेको छैन ।

त्यसो त प्रधानमन्त्रीद्वारा नागरिकका नाममा गरिएको पछिल्लो सम्वोधनमा स्थगित परीक्षाहरुको प्रबन्ध गर्ने र विद्यालय सञ्चालन गर्ने विधि निर्माणमा शिक्षा मन्त्रालय जुटिरहेको भनिएको छ । यो सकारात्मक सन्देश भएता पनि समयको किटान नगरिएकोले अन्योल घटेको छैन । अहिले लाखौंको संख्यामा विद्यालय शिक्षा देखि उच्च तहसम्मका शिक्षार्थी पढाईबाट वञ्चित मात्र भएका छैनन्, उनीहरु सामाजिकीकरणको प्रकृया, साथी भाईहरु संगको सामूहिक अन्तरकृया, शैक्षिक वातावरण, रमाईलोपन एवं गुरुहरुको निर्देशन र निगरानीबाट पनि टुटेका छन् ।  छुटेका छन् । नियमित पढाई लेखाईको अभ्यासबाट विच्छेद भएका छन् । यो अवस्था लामो समयसम्म रहनु हुँदैन ।

अहिले लामो समय सम्मको लकडाउनको कारण विभिन्न उमेर समूहका विद्यार्थी निराश भएका छन् । यस्तो अवस्थामा राज्य, अभिभावक, शिक्षक, विज्ञ, शिक्षाविद, चिन्तक एवं मनोविद् लगायत सरोकारवालाहरुले आ–आप्mनो ठाउँबाट उनीहरुलाई विचलित मनोविज्ञानबाट जोगाउन आवश्यक छ । यसो गर्दा अभिभावकहरुले बालबालिकाहरुलाई सकारात्मक सूचना र सन्देश प्रवाह गर्नु पर्दछ । आ–आप्mना घरमा रहेका बालबालिकाहरु अभिभावकहरुले सकारात्मक बनाई पढाई, लेखाई, घरायसी कार्य लगायत सिर्जनात्मक क्रियाकलापमा संलग्न गराउनु पर्दछ ।  

विश्व इतिहासमा हुने गरेका महामारीहरुको अध्ययनले कतिपय रोगहरुको अन्त्य हुन  बर्षौं लाग्ने गरेको पाइन्छ ।  अहिलेसम्म कतिपय रोगहरुको औषधि नै बन्न सकेको छैन । यस सन्दर्भमा अहिले कोरोना महामारीको पनि निश्चित समयको किटान गर्न गाह्रो छ । विज्ञहरु भन्छन्, यसको अन्त्यको निश्चित तिथि मिति भन्न सकिन्न । औषधिहरु बनाउने अनुसन्धान जारी छ । यस्तो अवस्थामा अब के गर्ने ? सबैका अगाडि ठूलो प्रश्न चिन्ह खडा भएको छ । र उच्च सतर्कताका साथ काम गर्ने बेला आएको छ । यो जटिल परिस्थितिमा राज्यले साेंच बुझका साथ शिक्षा क्षेत्रका समस्याहरु समाधान गर्ने उपायको खोजीमा जुट्न विलम्ब गर्नु हुदैन ।

राज्य संस्थागत निर्णय गर्ने आधिकारिक संस्था भएकोले शिक्षा क्षेत्र र यससंग जोडिएका समस्याहरुको समाधान गर्नको लागि गहिरो अध्ययन गरी उचित निर्णय गर्नु पर्दछ । तर अहिले शिक्षा मन्त्रालय अलमलको स्थितिमा देखिन्छ । कोराना महामारी सकिएला र सबै कामहरु गरांैला भन्ने मनोविज्ञानबाट निर्देशित भए जस्तोे देखिन्छ । यस प्रकारको कार्यशैली समय सान्दर्भिक हुन सकदैन ।  राज्यले शिक्षा क्षेत्रमा देखा परेका समस्याहरु समाधान गर्नको लागि समय सापेक्ष कार्य योजना बनाउनु पर्दछ ।  अहिले अभिभावक, शिक्षक, विद्यार्थी लगायतले सरकारको मुख ताकी रहेको अवस्था छ । तसर्थ विज्ञ लगायत सरोकारवालाहरुसंग राय सल्लाह लिएर शिक्षालयका गतिविधि सञ्चालन र स्थगित भएका परीक्षाका बारेमा समय सुहाउँदो वैज्ञानिक कार्य योजना तथा कार्यान्वयनमा जानु पर्दछ ।

अहिले शिक्षा क्षेत्रमा तमाम समस्याहरु देखा परेका छन् । एकातिर शैक्षिक सत्र शुरु गरी पठनपाठनलाई अघि बढाउन वातावरणको सिर्जना कसरी गर्न सकिन्छ भन्ने ठूलो चुनौति छ भने अर्कोतिर शैक्षिक सत्र पुरा भई परीक्षाको प्रतिक्षामा बसेका विद्यार्थीको परीक्षा सञ्चालनको कुरा त्यत्तिकै गम्भीर छ । राज्यले समस्याहरु वखान गरेर मात्र हुँदैन । लकडाउन खुले पछि सबै कुराको समाधान हुन्छ भन्ने चिन्तनमा लाग्नु हुँदैन । कोभिड महामारीको असर लामो समयसम्म रहन गएमा के गर्ने ? सरकारले कोभिडको महामारीको अन्त्यको लागि कुरेर बस्ने की यसको बीचमा सुरक्षित उपपायहरु अवलम्बन गरी शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्ने ?
कतिपय देशहरुमा कोरोना महामारी हुँदाहुँदै पनि शैक्षिक कार्यक्रमहरु सञ्चालन गरी रहेका छन् । राज्यले राम्रा कुराहरु अन्य राष्ट्रहरुबाट पनि सिक्नु पर्दछ ।  यसो गर्दा शिक्षण संस्थाहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेमा ध्यान दिन भने जरुरी हुन्छ । अहिले तत्कालै राज्यले कमसेकम स्थगित भएका परीक्षाका बारेमा स्पष्ट धारणा बनाउन जरुरी छ । परीक्षा गर्ने हो भने त्यसका लागि आवश्यक सुरक्षाका विधि निर्माण र स्वास्थ्य सचेतनाका आवश्यक कार्य गर्ने, हैन परीक्षा हुँदैन भने विद्यार्थीको मूल्याँकनको विधि के हुने त्यो निर्माण गर्ने काममा ढिलाई गर्नु हुँदैन । यति गर्न सकेमा मानसिक विचलनमा रहेका विद्यार्थीलाई सकारात्मक बनाउन सकिन्छ ।

लामो समयको लकडाउनका पछिल्ला दिनहरुमा शिक्षा क्षेत्रको वहस भई रहँदा लेखक, विचारक, बुद्धिजीवी, विज्ञहरुको अन्तरकृया लगायत शिक्षा सम्बन्धि लेख, रचना, बहस एवं विमर्शहरुले समग्र शिक्षालाई रचनात्मक एवं सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यस प्रकारको प्राज्ञिक विचार, बहस र विमर्शबाट उचित चिन्तनहरुलाई मार्ग निर्देशको रुपमा बुझेर आगामी दिनमा शिक्षा क्षेत्रलाई चलायमान बनाउन राज्यले ढिला नगरोस् ।

अन्त्यमा अहिलेको नयाँ पुस्ता सोसियल मेडियासंग अत्यन्त नजिक छ । विद्यालय तहदेखि विश्वविद्यालयसम्मका शिक्षार्थीलाइ सोसियल मेडियामा आउने नकारात्मक वा सकारात्मक समाचारहरुले प्रभाव पारी रहेका हुन्छन् । शिक्षा क्षेत्र अत्यन्त संवेदनशील एवं प्राज्ञिक थलो भएकोले यस सम्बन्धित समाचारहरु पनि सकारात्मक, सूचनात्मक एवं आशावादी र हुन जरुरी छ । अहिलेको असाधारण अवस्थामा राज्य, अभिभावक, शिक्षक, विज्ञ एवं सरोकारवालाहरुले आ–आप्mनो ठाउँबाट शिक्षा क्षेत्रका समस्याहरु समाधान गर्न र बालबालिकाहरुलाई सकारात्मक एवं रचनात्मक बनाउन महत्वपूर्ण भूमिका खेलौं ।

प्रतिक्रिया