Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

एसईई नगर्ने सरकारको निर्णय

बुधबार, २८ जेठ २०७७

काठमाडौं - कक्षा १० को अन्तिममा लिने एसईई परीक्षा नगर्ने सरकारले निर्णय गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले लगेको ठाडो प्रस्ताव माथि बुधबार अबेर सकिएको मन्त्रीपरिषद् बैठकले निर्णय गरेसँगै यस बर्ष एसईई परीक्षा नहुने पक्का भएको हो । कोरोनाको जोखिम न्यूनिकरण गर्न स्थगित गरिएको उक्त परीक्षा नगर्ने बारेमा मन्त्रीपरिषद्ले सैद्धान्तिक निर्णय गरेको मन्त्री पोखरेलले बताए ।

अवस्था झन् प्रतिकुल हुँदै गएको, शिक्षाका सरोकारवालाहरुबाट पनि परीक्षा नगर्दा हुन्छ भन्ने सुझाव आएको र लामो समय सम्म विद्यार्थी अभिभावकलाई अन्योलमा राख्न उचित नहुने भन्दै मन्त्री पोखरेलले प्रस्ताव लगेका थिए ।

'हामीले लगेको प्रस्तावमा मन्त्रीपरिषद्ले सहमती दिएको छ, अब निर्णय प्रमाणित भएर आए पछि आवश्यक कार्यविधि बनाईने र विद्यार्थीको मुल्याँकनको विधि तय गरिने छ, यो काम परीक्षा बोर्डले गर्ने छ' पोखरेलले भने, 'कक्षा ११ र १२ का सन्दर्भमा कुनै निर्णय गरिएको छैन, आजलाई हामीले यस बर्षको एसईईका विषयमा मात्रै निर्णय गरेका हौं ।'

आगामी बर्ष देखि के गर्ने भन्ने विषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको मन्त्री पोखरेलले बताए । विद्यालयबाट यस अघि हुँदै आएको मुल्याँकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणिकरण गर्ने गरी मन्त्रालयले प्रस्ताव लगेको थियो । विद्यालयले यस अघि नै गरेको मूल्याँकनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने, उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणिकरण गर्ने प्रस्ताव शिक्षा मन्त्रालयको छ ।

शैक्षिक सत्रका बारेमा के गर्ने भन्ने विषय लकडाउनको मोडालिटिमा भर पर्ने तथा कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय मन्त्रीपरिषद्ले नगरेको हुँदा बोर्ड मार्फत् आफैंले गर्न सकिने मन्त्रालयको बुझाई छ । त्यसैले यी दुई विषयमा उक्त प्रस्तावमा केही उल्लेख गरिएको थिएन । कोरोना भाईरसको जोखिमका कारण परीक्षा आउन १२ घण्टा पनि बाँकी नहुँदा गत चैत ५ गते सरकारले स्थगित गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै चैत ११ गतेबाट जारी लकडाउनका कारण अवस्था असहज भए पछि परीक्षा हुने नहुने अन्योलले विद्यार्थी अभिभावक मारमा परेका थिए ।

शिक्षा ऐनको आठौं सँशोधनले विद्यालय शिक्षाको संरचना परिवर्तन गरेर कक्षा १२ सम्म पुर्याईसकेको ४ बर्ष भईसक्दा पनि उक्त परीक्षाको शैली साविकको एसएलसीकै जस्तो भएको भन्दै आलोचना भईरकेका बेला यस बर्ष बदलिन लागेको परीक्षाको मोडेललाई बदल्ने सुनौलो मौका ल्याएको छ ।

शिक्षा मन्त्रालयको सामुन्ने आएको अपजस मेटाउने मौका

एसईई परीक्षाबारे मन्त्रालयको प्रस्ताव सहितकाृ खबर पढ्नुहोस्  : एसईई परीक्षाबारे मन्त्रालयको प्रस्ताव, विद्यालयकै मूल्याँकनलाई मान्यता

यसैबिच सरकारले लकडाउनको मोडालिटिमा पनि परिवर्तन गरेको छ । काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा  पसल खोल्ने दिने, लामो रुटका बाहेक सवारी साधनलाई चारपांग्रे निजी सवारी साधन भए चालक बाहेक २ जना र मोटरसाइकलमा एक जना मात्रै बस्न पाउने गरी जोर बिजोरका आधारमा चल्न दिने सरकारले निर्णय गरेको छ । असार १ गतेदेखि सरकारी कार्यालयहरु पनि खुल्ने भएका छन् ।

विना विकल्प लामो समय सम्म लकडाउन गरेको भन्दै जनस्तरबाट विरोध भए पछि सरकारले बाध्य भएर मोडालिटि बदलेको हो । मन्त्रिपरिषद्को निर्णय औपचारिक बिहीबार सार्वजनिक गरिने जनाईएको छ ।

प्रतिक्रिया