Edukhabar
मंगलबार, ११ बैशाख २०८१
गतिविधि

शिक्षा मन्त्रालयले तयार गर्‍यो अभ्यासक्रम पुस्तिका, एकरुपता कायम गर्ने उद्देश्य

आइतबार, ०७ असार २०७७

काठमाडौं - योगको महत्व स्थापित गराउँदै अभ्यासमा एकरुपता कायम गर्न शिक्षा मन्त्रालयले राष्ट्रिय योग अभ्यासक्रम पुस्तिका तयार गरेको छ ।  अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर प्रधानमन्त्री केपी ओलीद्वारा आईतबार सार्वजनिक पुस्तिकामा सुर्य नमस्कार सहित ४१ वटा आशन, तिन वटा प्राणायम र एउटा ध्यान पद्धति समावेश गरिएको छ । योगको विधि र शैलीमा एकरुपता कायम गर्न जरुरी रहेको निष्कर्श साथ मन्त्रालयले विज्ञहरु लगाएर उक्त पुस्तिका तयार पारेको हो ।

पोहोर योग दिवस मनाउने क्रममा गठित आयोजक समितिले अभ्यासक्रम निर्माण गर्ने निर्णय गरे अनुसार योग र ध्यानका अभियन्ता सोनाम साथीको संयोजकत्वमा मन्त्रालयले ७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले राष्ट्रिय योग दिवसको दिन गत माघ १ गते बुझाएको प्रतिवेदनका आधारमा उक्त पुस्तिका तयार पारेको मन्त्रालयले जनाएको छ । उक्त प्रतिवेदनका आधारमा अभ्यासक्रमलाई श्रव्य दृश्य सामग्रीका रुपमा समेत तयार पार्ने योजना भए पनि कोभिड - १९ को विपद्ले सफल हुन नसकेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए ।

भर्चुअल माध्यमबाट पुस्तिका सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले शारीरिक र मानसिक हिसाबले सवल रहन स्वस्थ्य हुनु पर्ने उल्लेख गर्दै आहारा, व्यायम र आरामको सन्तुलन मिलाए मात्र स्वस्थ्य रहन सकिने बताए । पूर्वजहरुले भान्सामा प्रयोग गर्दै आएका कतिपय खानेकुराको महत्व बुझाउँदा 'केही विद्धान'ले मजाक बनाएको भन्दै उनले आपत्ति पनि जनाए ।

बजेट माथिको छलफलका क्रममा केही दिन अघि राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले रोग प्रतिरोधी क्षमताका लागि बेसारको महत्व हुने र कोरोना जस्ता भाईरससँग लड्न सघाउने अभिव्यक्ति दिएका थिए । उनको उक्त धारणाका विषयमा सामाजिक सञ्जालमा मजाक उडाउने क्रम जारी छ ।

पुस्तिका सार्वजनिक गर्दा पनि ओलीले आफूँले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसार अदुवालाई 'मजाक' बनाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘योग ध्यान’ हाम्रै भूखण्डको खोज भएको दावी गर्दै शिक्षा मन्त्री पोखरेलले शिव, कपिल, जनक, बुद्ध, गोरखनाथ जस्ता महायोगीहरुले प्रतिपादन र विकास गरेको प्राचिन विज्ञान बहुआयामिक र बहुउपयोगी रहेको बताए । प्राचिन र अर्वाचिन कालमा विकास भएका योग ध्यानका वैज्ञानिक सिद्धान्त र व्यवहारिक श्रृङखलाहरुलाई संयोजन गरेर ‘साधना पथ’ का लागि एउटा व्यवस्थित सामग्री आवश्यक भएको निष्कर्श सहित पुस्तिका तयार पारिएको उनले बताए ।

अभ्यास पुस्तिका योगको जनचेतना फैलाउनमा मात्र नभई योगका सरल विधिहरुलाई जनसाधारणमा पुर्याएर अभ्यासमा एकरुपता ल्याउन प्रकाशित गरिएको बताउँदै उनले आम जनताका लागि अभ्यासक्रम सँगै विद्यालय शिक्षादेखि नै योग ध्यानको पाठ्यक्रम र पाठ्य पुस्तकहरु बनाएर नयाँ पुस्तालाई त्यस दिशामा उद्धत गराइने बताए । साधनालाई पूर्ण बनाउन आशन अघि सुक्ष्म व्यायाम, एक अर्का आशनका विचमा नृत्य, बन्ध र विश्रामहरु मिलाइएको बताउँदै उनले शिवको ताण्डव नृत्य, बुद्धको विपश्यनाको ‘आनपान’ र गोरखनाथको षटकर्म यस साधना पथमा समावेश भएकोले अभ्यासक्रम हाम्रै मौलिकतामा आधारित रहेको बताए ।

'कतिपयलाई आशनहरुमै बढि केन्द्रित गरेकोले यो पुस्तिकमा पतञ्जलीको योगमा सिमित भएको भान पर्न सक्छ । सत्य के हो भने शरीरको भित्री र बाहिरी आयामलाई व्यापक रुपमा समेटेको महायोगी पतञ्जलीको अष्टाङ्ग योगको ध्यान धारणा र समाधिलाई आत्मसात नगरी योगले पूर्णता प्राप्त गर्न सक्दैन' मन्त्री पोखरेलले भने, 'पतञ्जलीको प्रसिद्ध योगाश्चित्त वृत्तिनिरोध कपिलको साङ्ख्य सुत्रमा उल्लेख छ ।'

पुस्तिका सँगै साधना पथका नयाँ अभ्यासक्रमहरु बनाएर आम मानिसलाई यसको प्रत्यक्ष अनुभूति हुने वातावरण, परिस्थिति र प्रणाली बनाउनु पर्ने र योग ध्यानलाई अध्ययन, अनुसन्धान र सेवासँग जोड्ने तर्फ केन्द्रित हुनु पर्ने उनको भनाई छ ।

सन् २०१५ देखि संयुक्त राष्ट्रसंघको आव्हानमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थाले पछि २०७२ सालदेखि नेपाल सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय योग दिवस आयोजनाको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको थियो । त्यस यता हरेक बर्ष योगका कृयाकलाप गरेर दिवस मनाईदैं आए पनि यो बर्ष कोरोना भाईरस संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया