चौतारो र चौरमै शिक्षक : गफ चुट्नेहरु बसिरहेछन्, काम गर्नेहरु अघि बढि सके !


मेलम्ची  (सिन्धुपाल्चोक) - काठमाडौंको सिंहदरबारमा बसेर भनेको जस्तो सजिलो छ ? गाउँ बुझ्नु पर्यो नी गाउँ ! कसका घरमा छ ईण्टरनेट ? टिभी र रेडियो बाट पढाउने गफ दिएर मात्रै हुन्छ ! 

- ईण्टरनेट, टिभी, रेडियो नभएको ठाउँमा हामी पुग्नु रे, पैसा चाँही नथप्ने, काम चाँही घर घरै गएर गर्नु पर्ने ! यस्तै तालले कसरी हुन्छ घरघरमा गएर पढाई ?  

- गाउँ गाउँमा सिंहदरबार आयो भन्थे चुपचाप छन् त ! हेरौं न तिनले के गर्दा रहेछन् ! 

- दरबार त कुन्नि, यी सिंहहरु हामीलाई तर्साउन पो आएका हुन्, काम गर्न हो र ! हामीलाई नै कराउने हुन्, हामीलाई श्रोत थपौं भन्दा वास्ता गर्दैनन् आँफू भत्ता खान्छन् बस्छन् !

कोरोना भाईरस (कोभिड - १९) को जोखिमका कारण विद्यालयहरुको पठनपाठन ठप्प भएसँगै सामुदायिक विद्यालयका अधिकाँश शिक्षकहरु हिजो आज यस्तै (कु) तर्क गरेर दिन काटिरहेका छन् !

‘विकास निर्माण’  को नाममा स्थानीय क्षेत्रको ठेक्का पट्टामा व्यस्त रहने आरोप लाग्ने जनप्रतिनिधिहरुको क्वारेण्टाईन निर्माण तर्फको हिजो आजको व्यस्तता प्रति गाउँघरमा उसैगरी शंकालु दृष्टि बढ्दो छ । कोरोना नियन्त्रण र संक्रमितको व्यवस्थापनमा स्थानीय जनप्रतिनिधि जुट्नु पर्छ स्वभाविक हो । तर, विद्यालय शिक्षाको अधिकार आफू मातहत भएको यतिका समय सम्म पनि व्यवस्थापनमा झारा टारिरहनु विडम्वना बनेको छ । संविधानले तीन तहको सरकारको परिकल्पना गरेसँगै गठन भएका स्थानीय सरकार पनि राज्य नै हुन्, राज्यले कुनै एक विषयलाई मात्रै प्राथमिकता दिन पाउँदैन, त्यस माथि संविधानले नै मौलिक हक अन्र्तगत राखेको शिक्षा प्रतिको संवेदनशीलता बुझ्नबाट स्थानीय सरकार पन्छन सक्दैनन् । तर केही स्थानीय सरकारका जनप्रतिनिधिलाई कोभिडका कारण आफ्ना क्षेत्रका हजारौं बालबालिकाको सिकाइ रोकिएकोमा पटक्कै चिन्ता नदेखिनु विडम्वना भएको छ । 

गत असार १ गते देखि वैकल्पिक विधिबाट पठन पाठन गर्ने सरकारले निर्णय गरिसकेको छ । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ मा स्थानीय तह तथा विद्यालयले स्रोत साधन र प्रविधिको पहुँचका आधारमा विद्यार्थीको ५ वर्ग निर्धारण गरि सिकाइ अघि बढाउनु पर्ने छ । तर अझै पनि अधिकाँश शिक्षकहरु यस्तै फत्तुर गफ चुटेर बसिरहेका छन् । कतिपय स्थानीय सरकारका जनप्रतिनिधि उस्तै गरी ‘विकास निर्माण’ मै व्यस्त छन् !

यो भिडमा आफ्नो निष्ठा र दायित्वलाई अग्रपंक्तिमा राखेर जुटेका केही शिक्षकहरु भने फेला पर्न थालेका छन् । उनीहरुलाई सकेसम्म सहयोग गर्न र साथ दिन लागिरहेका स्थानीय सरकार पनि भेटिन थालेका छन् । तीनै कर्मजीवि शिक्षक र उनीहरुको हिम्मत जुटाउने स्थानीय सरकारको उदाहरण हेर्न र सिकाइमा अपनाईएको शैली बुझ्न मन भए तपाईलाई स्वागत छ – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थित तालामराङ्मा रहेको तेर्से माध्यमिक विद्यालयमा !

...

स्वास्थ्यसँग जोडिएको अत्यन्तै गम्भिर विषय, संसार आक्रान्त बनाएको छ । 

चैत ५ गते भित्र बार्षिक परीक्षा सक्न सरकारले दिएको निर्देशन तेर्से माध्यमिक विद्यालयले पनि अपनायो । हतार हतार परीक्षा सकियो । 

रोगको संक्रमणको जोखिमका कारण चैत ११ गते देखि सरकारले देशै भरी लकडाउन गर्यो ! 

अब, के हुन्छ ? 

उत्तर सहज थिएन । दिन वित्दै गयो । मानवीय गुण हो शुरुका केही दिन विना काम घरै बस्न पाउँदा शिक्षक, विद्यार्थी खुसी नै भए । 

यहि बिचमा विद्यालयले अन्य कक्षाका रोकिएका परीक्षाको नतिजा सार्वजनिक गर्यो । 

एक दिन, दुई दिन, एक साता, दुई साता हुँदै बैशाख पनि सकियो ! 

शहर बजार तिर अनलाईनबाट पठन पाठन गर्ने हल्ला चल्दै थियो । आफुहरु के गर्ने कुनै टुङ्गो छैन ! अब चैं अति नै भयो ! शिक्षकहरुका मनमा हुटहुटी शुरु भयो, अनेक प्रश्न आउन थाले – कहिले सम्म यसरी बस्ने ? कहिले सम्म आफ्ना विद्यालयका ५ सय ५१ जना बालबालिकाको सिकाइ रोक्ने ? यस्तो बेला हामी शिक्षकको केही भूमिका हुन्न ? 

जेठको पहिलो साता पनि वित्न लाग्दै थियो, उत्तर मिलिरहेको थिएन ! 

प्रधानाध्यापक कृष्ण ढुङ्गाना र उनको शिक्षक समुह आन्तरिक छलफलमा जुट्यो । भेट्न मिल्नेहरुसँग भेटघाट, नमिल्नेहरुसँग फोनमै छलफल भयो, लौन केही त गरौं !

यसो गर्ने कि उसो गर्ने, छलफल जारी नै थियो, सबै शिक्षकलाई अनिवार्य गर्नु पर्छ भन्ने अवस्था थिएन, तै पनि केही शिक्षकहरुले स्वतः स्फुर्त रुपमा शुरु गरे – घर वरीपरी रहेका विद्यार्थी, अभिभावकहरूसँगको भेटघाट !

'हामी विद्यार्थीको हालखबर बुझ्न घर घरै गयौं, के गर्दै छौ ? भन्दै सोध्यौं, शुरुमा त केही अभिभावकले किन घर आएको होला भने जस्तो पनि गरे' ढुङ्गाना  सुनाउँछन्, 'तै पनि बालबालिकालाई कक्षा र उमेर अनुसार हस्त लेखन, कोरोना विरूद्धको सचेतना, घरमा भएका पुराना पाठ्यपुस्तक हेर्दै गर है भनेर फर्कियौं ।' 

अझै पनि कसरी सिकाइ सुरु गर्ने केही मेलो आईरहेको थिएन । 

घरघरमा गएर विद्यार्थीसँग भेटेर फर्के पछि सबैले आआफ्नो अनुभव सुनाए । ती अभिभावकको भनाईलाई विश्लेषण गर्दा २ वटा मुख्य विषय तय भयो –

१. बालबालिकाले हामीले भनेको मान्दैनन्, कमसेकम शिक्षकहरुले यसो यसो गर भनेर अह्राईदिए हुन्थ्यो की, भन्ने अभिभावकको अपेक्षा

२. अहिले सम्म कोरोनाको संकटले गाउँ सुरक्षित छ, त्यसो हो भने स्वास्थ्य सावधानी अपनाएर फरक तरिकाबाट पढाउने उपाय निकाल्न हुँदैन ? 

अभिभावकका यी कुराले उनीहरुलाई बल दियो । सबै विद्यार्थीलाई विद्यालय बोलाउन पो सकिएन, सबैलाई एकै ठाउँमा भेला पार्दा पो सक्रमणको जोखिम होला । तर भौतिक दुरी कायम गरी सानो संख्यामा बालबालिका जुटाउँदा के समस्या ? 

उनीहरुले विद्यालयको सेवा क्षेत्रको आधारमा सबै विद्यार्थीलाई पायक पर्ने गरी गाउँको चौतारो, चौर, सामुदायिक भवन, व्यक्तिका घर, मन्दिरको भवन, सार्वजनिक स्थल आदी क्षेत्रमा गरी ११ ठाउँलाई अध्ययन स्थल बनाउने तय गरे – नाम दिए समुदाय तर्फ विद्यालय । 

ठाउँ तय भए पछि शिक्षकको काम शुरु भयो । शिक्षकले एउटा वर्क सिट बनाउने तय भयो । एक साता भरी विद्यार्थीले के गर्ने भन्ने तय गर्ने गरी हरेक विषयको न्यूनतम साढे २ देखि अधिकतम ३ घण्टामा विद्यार्थीले सक्ने गरी विषयगत रुपमा उक्त वर्क सिट तयार पारियो । हरेक साता आईतबार, सोमबार र मंगलबार शिक्षकले त्यो सिट तयार पार्ने अघिल्लो साताको परीक्षण गर्ने, बुधबार समुदाय तर्फ विद्यालयका ५ केन्द्रमा र विहीबार बाँकी ६ केन्द्रमा पुगेर बालबालिकालाई नयाँ सिट दिने क्रम शुरु भएको छ । 

हरेक शुक्रबार शिक्षकहरु भौतिक दुरी कायम गर्दै भेला भएर एक साताको आआफ्नो अनुभव र आउँदा दिनको योजना बनाउने गर्छन् । कक्षा २ सम्मका बालबालिकालाई कक्षा शिक्षकबाटै सिकाउने गरिएको छ । 

'हामीले त्यो वर्क सिटलाई गुगल फर्ममा पनि तयार पारेका छौं, कक्षा अनुसार मिलाएर प्रिण्ट गर्ने र वितरण गर्ने गरिएको छ, हरेक विद्यार्थीलाई एउटा सिट दिदाँ पनि ५ सय ५१ सीट त प्रिण्ट गर्नु पर्ने भयो' ढुङ्गाना भन्छन् 'स्वास्थ्य सावधानी अपनाउन आवश्यक साबुन, स्यानीटाईजर, मास्क, तोकिएका केन्द्रमा शिक्षकहरु जाने दिन खाजाको व्यवस्था जस्ता सना साना व्यवस्थापकीय कामले पो धेरै चुनौती दिएको छ ।' 

सिकाइ शुरु गर्ने विषयमा निर्देशिका जारी गरेर मात्रै पुग्ने गरी सोचिएको कुरालाई उनी  व्यवहारिक मान्दैनन् । संसारमा के भएको छ ? भन्नु भन्दा पनि हाम्रा गाउँघरका विद्यालयको अवस्था के छ ? के समस्या भोगेका छन् भन्ने कुराको वस्तुनिष्ट विश्लेषण विनाको कामको अर्थ नभएको उनी बताउँछन् । 

'वैकल्पिक विधिबाट पठन पाठन गर्नु भन्दैमा कहाँ हुन्छ, गाउँको अवस्था हेर्नु पर्दैन ?' प्रश्न गर्दै उनी भन्छन् 'सबै विद्यार्थीसँग ईण्टरनेट छैन, टिभी रेडियोको पहुँच पनि देखिएन, भने पछि शिक्षक विना कुनै उपाय नै छैन भन्ने कुरा बुझ्नु पर्छ, अहिले जे जति प्रयास गरेका छौं शिक्षकको विवेकले मात्रै काम अघि बढेको छ ।' 

विद्यालयले ४ सय ६३ विद्यार्थी बिच गरेको अध्ययन अनुसार १ सय ७३ जनासँग मोवाईल डाटाको पहुँच भए पनि त्यो सामाजिक सञ्जालको प्रयोगमा मात्रै सिमित छ । ४० जनासँग कम्प्युटर भएको र ५७ जना सँग मात्रै वाईफाईको पहुँच देखिएको छ । रेडियो र टिभिको पहुँच भएकाको संख्या दोहोरिएको छ । जस अनुसार रेडियोको २ सय ७३ र टिभिको हपुँच २ सय २३ मात्रै छ । 

नगरपालिका क्षेत्रमा रहेका ७० वटा सामुदायिक विद्यालय मध्ये हालै ८ वटा मर्ज भएका छन् । चाहे जे भए पनि नगरपालिकामा भएका सबै जसो सामुदायिक विद्यालयका विद्यार्थीको प्रविधि पहुँचको अवस्था यो सँग मिल्दो जुल्दो नै छ । त्यसैले शिक्षक र विद्यार्थीको भेटघाट बाहेकको अर्को विकल्पबाट सिकाइ सहज हुन कठिन देख्छन् मेयर डम्बर बहादुर अर्याल । 

'परिस्थिती असामान्य भयो, यस्तो बेला कसले के गरिदेला भनेर बस्ने की, आआफ्नो जिम्मेवारी अनुसार जो जहाँ छौं त्यहीँबाट जे जसरी सकिन्छ गर्दै जाने ? भन्ने प्रश्नले हामी सबैलाई अघि बढ्ने बाटो देखाएको छ' अर्यालले भने 'तेर्से माविका सर मिसहरुले गरेको काम उदाहरणीय देखिएको छ, पालिकाका अन्य स्कुलका शिक्षकहरु पनि नयाँ नयाँ तरिकाले जुटिरहनु भएको खबर आएको छ, प्रतिकुल अवस्थामा पनि हाम्रा बालबालिकाको सिकाइमा केही काम शुरु भएको छ, उहाँहरुको राम्रो काममा हाम्रो साथ र समर्थन सँधै रहन्छ ।'

विद्यालय तत्काल खोल्न नसक्ने अवस्था भए पनि प्रत्येक वार्ड वार्डमा पालो लगाएर, विषयको रुटिन बनाएर शिक्षकहरु जाँदा बालबालिकालाई फाईदा पुग्ने उनले अपेक्षा गरे । पालिकामा रोगको संक्रमण नियन्त्रणमा राख्न जो जति बाहिरबाट आएका छन् तिनीहरुलाई सिधै क्वारेण्टाईनमा राखेर परीक्षणको दायरामा ल्याउने गरिएको अर्याल बताउँछन् । यसले गर्दा पनि समुदायमा अहिले सम्म जोखिम नआएको र यसलाई कायम राख्दै आन्तरिक जीवन सहज बनाउने तर्फ स्थानीय सरकार प्रयत्नशील रहेको उनी बताउँछन् । यसका लागि बालबालिका र शिक्षकको गतिविधिलाई जोड्नु मुख्य भएको उनको भनाई छ । 

अन्य पालिकामा विद्यालयलाई नै क्वारेण्टाईन बनाईए पनि मेलम्चीले भने होटललाई क्वारेण्टाईन बनाएको छ । विदेशबाट आएका मध्ये २२ जना आईसोलेसनमा र ५० जना क्वारेण्टाईनमा रहेका छन् । यो संख्या दिनदिनै फेरबदल भईरहने उनले बताए ।  

पालिका भित्रका सबै बालबालिकाका लागि पाठ्यपुस्तक वितरण गरिसकेको भए पनि भर्ना लगायतका गतिविधि रोक्न संघीय सरकारले गरेको निर्णय फुकुवा नहुँदा कसरी अघि बढ्ने भन्ने अलमल भएको शिक्षा अधिकृत सुधिनराज बुढाथोकी बताउँछन् । 

'भर्ना लगायतका कार्य नगर्नु भनेको छ, त्यसका बारेमा थप निर्णय आएको छैन' उनले भने 'भोली नगर सभा छ यहि बिचमा संघीय सरकारबाट पनि केही निर्देशन आउला अनी हामी पालिका भित्रका बालबालिकाको सिकाइलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा थप कार्य अघि बढाउँछौं ।'

निजी विद्यालयहरुमा समेत सिकाइको क्रम शुरु गरेको अनौपचारिक जानकारी आए पनि विस्तृत जानकारी प्राप्त नभएको उनी बताउँछन् । पालिकाको रेकर्डमा ६ वटा निजी विद्यालय देखिएको तर थप केही विद्यालयहरु रेकर्डमा नभए पनि सञ्चालनमा रहेको 'बुझिन आएको' बताउँदै उनी सबैलाई नियमन गर्दै सिकाइको प्रकृयामा जोड्ने बताउँछन् । 

कोरोनाको संकट कसरी अघि बढ्दै जान्छ भन्ने कुरा यकिन गर्न कठिन छ । तर सत्य कुरा के हो भने कुनै पनि संकट आईलाग्यो भनेर समय रोकिदैंन । बालबालिकाको सिकाइ पनि यस्तै कुरा हो । सामान्य अवस्था जस्तो गरी विद्यालयमै जाने, पठनपाठन गर्ने जस्तो शैली यतिखेर अपेक्षा गर्नु हुँदैन । पर्याप्त स्वास्थ्य सावधानी अपनाउने, बालबालिकाहरु भएको ठाउँ सम्म शिक्षक पुग्ने र अभिभावक विद्यार्थीलाई रोगको बारेमा समेत जानकारी दिदैं बालबालिकालाई सिकाइमा जोड्ने कामको अग्र पंक्तिमा शिक्षक जुट्नु जरुरी छ । उनीहरुको हिम्मत र अभियानमा साथ दिने काम स्थानीय सरकारले गर्नु पर्छ । सुरक्षित तरिकाले जीवनशैली अघि बढाउनु नै अहिलेको संकटबाट पार पाउने विकल्प हो भन्ने बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकार प्रष्ट हुनु जरुरी छ । 

(सम्पादकीय नोट : कोरोना भाईरस (कोभिड - १९) का कारण आएको असहजतामा बालबालिकाको सिकाइ कसरी प्रभावकारी बनाउने ? कसरी शिक्षक र सम्बन्धित निकायलाई यस प्रति जिम्मेवार बनाउने ? यस सन्दर्भमा संसारमा के कसरी काम भईरहेका होलान् ? यहाँ के गर्न सकिएला ? सिकाइ सहजता र बालबालिकालाई केन्द्रमा राख्दा उब्जिएका यस्तै यस्तै प्रश्नको उत्तर दिन कोही सफल हुन्छ भने कि त्यो शिक्षक हो कि स्थानीय सरकार ! असल अभ्यास गरेकालाई समर्थन, कोशिस गरेकालाई हौसला र नगर्नेहरुलाई सजग बनाउँदै झकझक्याउने क्रममा यसपटक यो सामाग्री  तयार पारिएको हो ।)