Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

एउटा विद्यालयको भावुक पत्र, पछि शिक्षकले सिकाउने छन्, अहिले बालबालिकालाई खुसी राखौं

आइतबार, १४ असार २०७७

ललितपुर - ठूला भनिएका निजी विद्यालयहरुले बन्दका बेलाको समेत शुल्क उठाउन अभिभावकलाई बिल पठाएको खबर सार्वजनिक भईरहँदा सेण्ट मेरिज माध्यमिक विद्यालयले भने बालबालिकालाई ध्यान दिन आग्रह गर्दै अभिभावकलाई पत्राचार गरेको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमण न्यूनिकरणका लागि घोषित लकडाउनका कारण बालबालिकामा थप ध्यान दिन आवश्यक रहेको स्मरण गराउँदै विद्यालयकी प्रिन्सिपल सिष्टर मरियट सी.जे. ले निकै भावुक भाषामा उक्त पत्र लेखेकि हुन् ।   

अभिभावकलाई सम्बोधन गर्दै उक्त पत्रमा भनिएको छ – 'हामीहरुले उनीहरुलाई (बालबालिका) पढाईका बारेमा धेरै दवाव र तनाव नदिई खुसी राख्ने कोशिष गरौं, एक पटक जब उनीहरु सामान्य अवस्थामा फिर्ता आउँछन्, शिक्षकहरुले उनीहरुलाई आवश्यकता अनुसार सबै कुरा सिकाउनु हुने छ ।'

अभिभावकलाई विद्यालयको एक अभिन्न अंग रहेको स्मरण गराउँदै पत्रमा सबै जना ठूलो चिन्ता, अनश्चितता र चुनौतीका साथ बाँचिरहेको उल्लेख गरिएको छ । सबै जना जीवनको एकै नाउमा सवार रहेको उल्लेख गर्दै पत्रमा भनिएको छ – 'हामीलाई थाह छैन की अर्को के घटना हाम्रो सामु आईपर्छ, हामी जीवनका सबै क्षेत्रमा प्रभावित भएका छौं आर्थिक संकट, संवेगात्मक (भावनात्मक) उतारचढाव र शारिरिक व्यथाहरुले हामीलाई डस्न थालेका छन् ।'

यस्तो विषम परिस्थितीमा अभिभावकको दुःख वा संघर्षमा विद्यालय परिवार अभिभावकको साथमा रहेको उल्लेख गर्दै पत्रमा बालबालिकाको देखभाल गर्न अभिभावक र शिक्षकको सह जिम्मेवारी रहेको उल्लेख छ ।

'हामी हाम्रो तर्फबाट अनलाईन कक्षा सञ्चालन गरेर तथा अध्ययन सामग्री पठाएर महामारीको समयमा पनि प्राज्ञिक र बौद्धिक रुपमा सवल बनाउन कोशिस गरिरहेका छौं' पत्रमा भनिएको छ 'यो महामारी पछि हाम्रा बच्चाहरुले स्मरण गर्ने छन् कि उनीहरुले अनलाईनमा के सिके भन्दा पनि यो समयमा उनीहरुले के कस्तो अनुभूति गरे ।'

गुठी अन्र्तगत सञ्चालित उक्त विद्यालय ललितपुर सहित धरान, विराटनगर, पोखरा र गोर्खामा पनि सञ्चालित छन् । मिसिनरीबाट सञ्चालन भएका यी विद्यालयहरु न्यून शुल्कमा गुणस्तरीय पढाइ हुने भनेर ख्याती प्राप्त छन् । कक्षा १ मा मात्रै नयाँ भर्ना हुने यस विद्यालयमा भर्नाका लागि हजारौको भिड लाग्छ । तर, यस बर्ष कोरोनाका कारण उक्त परीक्षा समेत स्थगित भएको छ । परिस्थिती सामान्य भए पछि उक्त परीक्षा सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।

यसैबिच मिसिनरी अन्तर्गत नै सञ्चालित सेण्ट जेभियर्स माध्यमिक विद्यालयले भने परीक्षा लिएर पनि नतिजा सार्वजनिक गर्न अनुमति पाएको छैन । कोरोना जोखिम न्यूनिकरण गर्न भन्दै सबै खाले परीक्षा चैत ५ गते भित्रै सक्ने सरकारको निर्णय पछि पहिले तोकिएको दिन चैत ८ गतेको म्यादलाई अघि सारेर विद्यालयले ५ गते नै परीक्षा सञ्चालन गरेको थियो । तर उक्त परीक्षाको अनलाईनबाट हुने नतिजा सार्वजनिक गर्न समेत शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका प्रमुख योगेन्द्र बरालले रोक लगाए पछि हजारौं बालबालिका र तिनका अभिभावक अन्योलमा परेका छन् ।

संविधानले विद्यालय शिक्षा सम्मको अधिकार स्थानीय सरकार मातहत गरेको अवस्थामा इकाइले रोक लगाउन दिएको निर्देशन नमिल्दो भएको भन्दै आलोचना भएको छ । विद्यार्थी संगठनको 'स्वार्थ'मा बरालले उक्त कार्य गरेको भन्दै उनको कार्यशैलीको समेत आलोचना भईरहेको छ ।

न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको गुठी अन्र्तगत सञ्चालित उक्त विद्यालयमा यस बर्ष कक्षा १ प्रवेशका लागि झण्डै ७ हजार बालबालिका सहभागी रहेको विद्यालयले जनाएको छ । बालबालिका र अभिभावकको अन्योल हटाएर विद्यालय पहिचान गर्नु पर्ने अवस्था भए पनि बरालको उक्त अमिल्दो निर्देशनका कारण ती हजारौं बालबालिका र अभिभावक अन्योलमा परेका छन् । सरकारले वैकल्पिक विधिबाट पठन पाठन शुरु गर्न निर्देशिका जारी गरिसकेको अवस्थामा हजारौं बालबालिकाको विषयलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै अभिभावकले समेत दवाव दिन थाले पछि बरालले उक्त विषय सल्टाउन शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा लेखि पठाएका छन् ।

इकाइले 'गर्नै नपर्ने काम गरेको' तर निकाश निकाल्न केन्द्रमा पठाएकोले उक्त विषयका बारेमा निर्णय गर्नु अघि मन्त्रालयमा परामर्श जारी रहेको केन्द्र श्रोतले जनाएको छ । सरकारले जेठ १८ गते जारी गरेको निर्देशिका कार्यान्वयन अघि नै अन्य कक्षाका बालबालिकालाई विद्यालयले अनलाईन कक्षा सञ्चालन गरिरहेको छ ।

सरकारले गत असार १ गते देखि निर्देशिका नै लागू गरे पछि सबै बालबालिकालाई सिकाइमा जोड्नु पर्ने कानूनी बाध्यता समेत छ । यसका लागि सबै बालबालिकाको विद्यालय पहिचान जरुरी छ । उक्त निर्देशिका कार्यान्वयनका सन्दर्भमा समेत यो विषय आर्कषित भएकोले अनलाईन मार्फत् नतिजा सार्वजनिक गरेर बालबालिकाको नाम पञ्जिकरण गर्ने गरी बाटो खुलाउन छलफल भईरहेको मन्त्रालय श्रोतले जनाएको छ ।  

'नयाँ भर्ना र शुल्क जस्ता विषय निजी विद्यालय सञ्चालकहरुका संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेर टुङ्ग्याउने मन्त्रालयको तयारी छ' शिक्षा मन्त्रालय श्रोतले भन्यो 'तर बालबालिकाले आफ्नो विद्यालय चिन्न पाउनु पर्छ, सबै बालबालिका वैकल्पिक विधिमा जोडिनु पर्छ, त्यसैले उनीहरुको पञ्जिकरण गर्न दिनु पर्छ ।'

अभिभावकको भेला नगर्ने, शुल्क नउठाउने जस्ता कार्य यकिन गरेर अनलाईनबाट नतिजा सार्वजनिक गर्ने विषयमा कुनै विवाद गरिरहनु नपर्ने मन्त्रालयको बुझाई रहेको उक्त श्रोतले बतायो ।

'सरकार नै वैकल्पिक सिकाइ शुरु गर्ने, सरकारकै निकाय हजारौं बालबालिकाको विषय रोकेर बस्ने मिल्ने काम भएको छैन' उक्त श्रोतले भन्यो 'बुझेर नबुझेर उल्टो काम भईहालेछ अब त्यसलाई सच्याईन्छ, बालबालिकाको पञ्जिकरण गरेर सिकाइमा जोड्ने सरकारको योजना हो ।'

प्रतिक्रिया