'न्यू नर्मल' अभ्यासमा शिक्षकहरु


कपिलवस्तु - कोरोना संक्रमणको दर उच्च रहेसँगै सामुदायिक विद्यालयका कक्षा कोठा क्वारेण्टाईन बने पछि विद्यार्थी घरैमा बसेर रेडियो र टिभीमा दर्शक र स्रोता बन्न वाध्य भएका छन् । अरु बेला मनोरञ्जनका लागि हेर्ने र सुन्ने टिभी र रेडियो अहिले उनीहरुका लागि कक्षा कोठा बनेका छन् । साथमा किताब, कापी र कलम लिएर टिभी र रेडियो अघिल्तिर बसेका बालबालिकाको फेरिएको दैनिकी सँगै जिल्लामा यतिवेला एउटा शब्द चलन चल्तीमा आएको छ,‘न्यू नर्मल’ ! अर्थात् विद्यार्थीका लागि रेडियो सुनेर र टिभी हेरर पढ्नु र सिक्नु ‘न्यू नर्मल’ जस्तै भएको छ । उक्त शब्दको अर्थ जानकारी नभए पनि उनीहरुको दैनिकीमा ‘न्यू नर्मल’ को शब्द सार्थक हुन पुगेको देखिन्छ । बाहिरी दुनियाँसँग दुरी कायम गर्दै घरबाटै संचार माध्यम मार्फत विषयगत कक्षामा उपस्थिती जनाउने उनीहरुको दैनिकीमा यो प्रकृयाले चाहेर वा नचाहेर अभ्यस्त बनाएको छ ।  

कपिलवस्तुमा ४ सय ३१ सामुदायिक विद्यालय छन् । १ सय ५६ निजी विद्यालय सञ्चालनमा छन् । तर यति बेला सबै विद्यालय कोरोना भाईरस कोभिड १९ को महामारीका कारण बन्द छन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा अधिकाँश सामुदायिक विद्यालय क्वारेण्टाईन स्थलका रुपमा उपयोग गरिए । जिल्लामा संक्रमित रोगीको संख्या १२ सय भन्दा अधिक पुगे पनि पछिल्लो समय वृद्धि दरमा सामान्य कमी आएको छ ।

सिमापारि भारतबाट हजारौ नागरिक स्वदेश फर्किएकोले उनीहरुलाई राख्न विद्यालयहरुलाई क्वारेण्टाईन स्थल बनाईएको हो । भारतबाट आउनेको संख्या कमी आएसँगै जिल्लामा संक्रमितको संख्यामा पनि कमी आएको छ । जिल्लामा ७ सय भन्दा धेरै संक्रमित उपचार पश्चात निको भएका छन् ।

यस अवधीमा विद्यालयको उपयोग आधारभुत स्वास्थ्य केन्द्रका रुपमा गरिएको छ । वाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष गुणनिधि भूसालका अनुसार सामुदायिक विद्यालय यस अवधीमा आश्रय स्थल बने ।

लामो समय शैक्षिक कृयाकलाप बन्द गर्नु उचित नहुने निश्कर्ष सँगै पठन–पाठनको फरक प्रकृया शुरु हुन थालेको छ । शिक्षकहरु स्वास्थ्य सर्तकता अपनाउदै विद्यार्थीको अवस्था जान्न घर दैलोमा पुगेका छन् । शैक्षिक सत्रका लागि पाठ्य पुस्तक वितरण कार्य सम्पन्न भईसकेको छ । जिल्लामा लकडाउनको समयमा केही निजी विद्यालयले अनलाईन कक्षा सञ्चालन गरे । सामुदायिक विद्यालय रेडियो र टिभीबाट कक्षा सञ्चालन गर्न अग्रसर रहे । यही अवधीमा विद्यालयहरुले नयाँ शैक्षिक सत्र सञ्चालनका विद्यार्थी भर्ना कार्य पनि सम्पन्न गरिसकेका छन् ।

कोभिड–१९ को महामारीका कारण सिर्जित यो अवस्थाले, मानव जगतको दैनिकीमा साँच्चै परिवर्तन ल्याईदिएको छ । अझै परिवर्तन विकासशिल देशका विद्यालयमा ल्याईदिएको महशुस हुन थालेको छ । विद्यालयहरु आफ्ना विद्यार्थीलाई घरै बसेर पढ्न सक्ने गरी रेडियो, टिभी र अनलाईनबाट कक्षा सञ्चालन गर्न जुटेका छन् । स्थानीय रेडियो र टिभीले शैक्षिक कार्यक्रम उत्पादन शुरु गरेका छन् । उनीहरुका वास्तविक र नियमित स्रोता र दर्शक विद्यार्थी बन्न पुगेका छन् ।

विकास, चेतना र गतिविधीका हिसावले कपिलवस्तु जिल्लाको तुलना हिमाली जिल्ला हुम्लासँग हुने गरेको छ । मुस्लिम समुदायको बाहुल्य रहेको जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बाणगंगा नगरपालिका भने शैक्षिक सचेतना सहित सभ्यता जर्गेना गर्न एक कदम अघि देखिन्छ । थारु समुदायको बाहुल्य रहेको यस नगरमा मेयर पनि त्यही समुदायका छन् । साविकका ६ गाउँ विकास समिति मिलेर बनेको यस नगरको सम्वन्ध जिल्लाामा अन्य नगरको तुलना अन्तराष्ट्रिय सम्वन्ध विस्तार गर्न पनि एक कदम अघि देखिएको छ । शहरलाई अहिले विश्वको १ सय नमुना विकासोन्मुख शहरको सुचीमा राखेर चीनको शहरसँगको भगीनी सम्वन्ध र बेलायतको गैरसरकारी संस्थासँगको सहकार्यले पनि नगरको परिचय फेरिने क्रममा छ ।

नगर घोषणा हुदाँका बखत करिब ७५ हजार जनसँख्या रहेको यहाँ बसाई सराईको चाप छ । जनसँख्याको चापका कारण नगरमा कुल ७७ विद्यालय सञ्चालनमा छन् । ती मध्ये ४७ सामुदायिक र २५ संस्थागत विद्यालय छन् । नगर शिक्षा शाखाका अनुसार जिल्लामा शिक्षाका गतिविधीमा नगर पहिलो नम्बरमा आउन सफल छ । लकडाउन अवधीमा यहाँका ७ निजी विद्यालयले अनलाईन कक्षा सञ्चालन गरेर विद्यार्थीलाई अध्यापन गराउन सफल रहे ।

सामुदायिक विद्यालयहरुले लकडाउनको अवधीमा आवश्यक पूर्वाधार निर्माणलाई जोड दिन सफल रहे । लकडाउनको अवधीमा शिक्षकहरुको संगठन ‘नेल्टा’ मार्फत स्थानीय टीभीबाट कक्षा सञ्चालन गरे । तर टीभीको पहुँच नगरका सबै परिवारमा समान नभए पश्चात अनिवार्य गणित मात्र टीभीबाट अध्यापन गराउने र अन्य विषयको अध्यापन स्थानीय रेडियो मार्फत गराउने गरी तयारी गरिएको छ । नगरमा ४ वटा सामुदायिक एफएम रेडियो स्टेशन र एक टीभी च्यानल सञ्चालनमा रहेका छन् ।

नगरमा रेडियो कक्षा

वाणगंगा नगरपालिकाले असारको दोश्रो साताबाट रेडियो शिक्षा सुरु गरेको छ । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका अनुसार कक्षा ४ देखि १० सम्मका लागि दैनिक छुट्टाछुट्टै ४ विषयको पढाई हुन्छ । विगत तीन महिना देखि देशभर लकडाउन घोषणासँगै विद्यालय पनि बन्द रहे । सरकारले असार १ गतेबाट वैकल्पिक विधिबाट पठनपाठन शुरु गर्ने घोषणा गरेसँगै यहाँका विद्यालयका शैक्षिक गतिविधि सुरु भएको छ । लकडाउन अवधीमा विद्यार्थीको अध्ययन अध्यापनमा प्रत्यक्ष असर पुगेपछि वैकल्पिक उपाय अपनाउदै नगरपालिकाले रेडियो कक्षा सुरुवात गरेको हो ।

स्थानीय रेडियोबाट शुरु कक्षामा नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषय अध्यापनको व्यवस्था गरिएको छ । प्रत्येक रेडियोबाट दैनिक साढे तीन घण्टा शैक्षिक कक्षा सञ्चालन हुने तालिका छ ।  नगर भित्रका करिब १६ हजार विद्यार्थीलाई केन्द्रित गरी रेडियो कक्षा सञ्चालन गर्न लागिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा अधिकृत खिमबहादुर जिसीले जानकारी दिए ।

गृहकार्यको जाँचका लागि शिक्षकलाई घर घर खटाउने निर्णय भएको छ । रेडियो कक्षा विहान ११ बजे देखि दिउँसो साढे २ बजेसम्म सञ्चालन हुने छ । यसको अनुगमन शिक्षकबाट गराइने र रेडियो कक्षाबाट गृहकार्य पनि दिइने भएको छ ।

नगरले प्रविधि मैत्री शिक्षालाई जोड दिँदै शिक्षकलाई त्यस विषयमा केन्द्रित रहेर दुई दिने तालिम पनि दिएको छ । नगर भित्रका विद्यालयको शिक्षामा चासो लिदै स्थानीय सरकारका जन प्रतिनिधीले समेत सहयोग गर्दै आएका छन् । हालै सम्पन्न सातौ नगर सभाले नगरमा करिब सवा अर्ब रुपैयाँ बराबरको वार्षिक बजेट घोषणा गरेको छ । शिक्षा र स्वास्थ्य तर्फका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । वडा नम्बर ८ का अध्यक्ष गुणनिधी भूसालका अनुसार नगरका कतिपय विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक संख्या कम रहेका विद्यालयमा स्थानीय स्तरबाट राहत शिक्षक उपलब्ध गराइएको छ । विद्यार्थीको अवस्था र शैक्षिक गतिविधी अनुगमनका लागि पनि यतिवेला उक्त सहयोग कामयाब भएको छ ।

शिक्षाको लयलाई पूरानै गतिमा फर्काउन नगर शिक्षा कार्यलयले सहयोग एवं समवन्य गर्दै आएको छ । यस अवधीमा स्थानिय स्तरमा छुट्टै एक विषयको पठन–पाठन सुचारु गर्न पाठ्य पुस्तक निर्माणको काम शुरु गरिएको उनले जानकारी गराए । बौद्ध विश्व विद्यालयका प्राध्यापकहरुलाई बौद्धको जीवनकाल र जिल्लाको अवस्थाको अध्ययन गरेर पाठ्य पुस्तक निर्माणको जिम्मेवारी दिइएको छ ।

साथै केन्द्रीय प्रशारण अन्र्तगत संघीय सरकारले नेपाल टेलिभिजनबाट अध्यापन गराएको अनुभवलाई स्थानीय स्तरमा समेत अनुकरण गरिएको छ । स्थानीय स्तरमा उक्त अभ्यासलाई  निरन्तरता दिएको नगर शिक्षा कार्यलयका जिसीको भनाई छ । स्थानीय एक टिभीमा गणित विषयको अभ्यास सञ्चालन गरिएको छ । अन्य ४ रेडियोमा अंग्रेजी सहितका अन्य विषय । रेडियो र टिभी कक्षा सञ्चालनका लागि नगरले निर्देशिका बनाउने सम्मको तयारी गरेको छ ।

संचार माध्यमबाट सुरु गरिएको अभ्यासको अनुगमन शिक्षकहरुले नै गर्नेछन् । शिक्षकहरुको अनुगमन शिक्षा कार्यलय र जनप्रतिनिधीहरुले गर्ने छन् । नगरमा गरिएको शिक्षाको अभ्यासलाई अन्यत्र पनि अनुकरणीय बनाउने गरी मोडलका रुपमा विकास गर्न लागिएको नगर शिक्षा कार्यलयको दावी छ ।  

जिसीले भने ‘परिवर्तित अवस्थाको जिम्मेवारीलाई सबैले कर्तव्यका रुपमा लिनसक्नु पर्छ ।’

सरकारी काम कहिले जाला घाम भन्ने प्रवृतीबाट कर्मचारी र शिक्षक मुक्त हुन सक्दा यस अवधीको अभ्यासले पक्कै अपेक्षा गरिए अनुसार परिणाम आउने उनको विश्वास छ । सहकार्य, सहअस्तित्व र समवन्य गरेर अगाडी बढ्नु वर्तमानको आवश्यकता भएको जिसी बताउँछन् । नगरमा शिक्षाको अभ्यासलाई परिचालन गर्ने मुख्य जिम्मेवारी नगर शिक्षा कार्यलयको भए पनि यसको जिम्मेवार पक्ष शिक्षक नै हुन् । नगरका शिक्षकहरुले पनि उक्त जिम्मेवारीलाई सहज रुपमा लिएका छन् ।

शिक्षकहरुले गरे कोष निर्माण

नेपाल शिक्षक महासँघ जिल्ला शाखाको सक्रीयतामा नगरका शिक्षकहरुबाट उमाबि, निमाबि र प्राबि गरी सात, पाँच र तीन दिन बराबरको तलब जम्मा गरेर कोष निर्माण गरिएको छ । कोषमा १६ लाख ६० हजार रुपैयाँ जम्मा भएको छ । उक्त रकम नगरको शैक्षिक गतिविधी सञ्चालनमा उपयोग गरिने भएको छ । अप्ठ्यारो परेका ठाउँमा सहयोग पुर्याउन उक्त रकम खर्च गर्नै मोतिपुर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णु भण्डारीले बताए ।

‘हामीले नगर शिक्षा कोष निर्माण गरेका छौ’ उत्साहित हुदै उनले भने 'त्यसका लागि नगरका शिक्षकहरुले गच्छे अनुसार तहगत रुपमा समान योगदान गरेका छौं, कोष निर्माणको उद्देश्य शैक्षिक गतिबिधी सुचारु गर्दा आईपर्ने अप्ठ्यारालाई तत्काल सहज तुल्याउनु नै हो ।'

महामारीको समयमा नगरका क्वारेण्टाईन स्थलमा बस्नेहरुका लागि समेत उक्त कोषबाट खर्च गरिएको भण्डारीले जानकारी दिए । विषम परिस्थितीको सामना गर्दै जिवनको गतिमा लय भर्नु वर्तमानको आवश्यक भएको उनी बताउँछन् । आफू गणित विषयको शिक्षक भएकोले ‘वर्ग स्कावायर’को सुत्रलाई मन्त्र मानेर कामको जिम्मेवारी र कर्तव्यलाई पालना गर्न अग्रसर रहेको उनले बताए । कर्तव्यको पालना सबैले आ–आफ्नो स्थानबाट गर्न सके महामारीको अवस्थाबाट पनि केही नयाँ अनुभव प्राप्त हुने उनको बुझाई छ ।

तर शहरी शिक्षाको अंग बनेको अनलाईन कक्षा ग्रामिण परिवेशमा अझै सहज नभएको उनी बताउँछन् । श्रम गरेर जिविकोपार्जन गर्ने वर्गका सन्तानसम्म प्रविधिको सहज उपलब्धता नभएको उनको अनुभव छ ।

प्रविधिको पहुँचले समाजमा केही चुनौती पनि थपिदिएको उनी बताउँछन् । अझै किताबमा आधारित रहेर अध्यापन गराउँदै आएका शिक्षकका लागि प्रविधि चुनौतीका रुपमा उदाएको उनले बताए । त्यसैले समय र सन्र्दभसँगै समाजको वास्तविकतामा आधारित रहेर सबैले जिम्मेवारीलाई कर्तव्यका रुपमा भुमिका निर्वाह गर्नुको विकल्प नभएको उनको भनाई छ । महामारीको भयावहमा पनि शिक्षालाई गतिदिने मुख्य जिम्मेवारी शिक्षकको नै भएको भण्डारीको बुझाई छ । दृढ विश्वासले गरिएको कामको नतिजा पनि सफल आउने उनको दाबी छ । यस्तो अवस्थामा विपन्न परिवारका सन्तानलाई शिक्षाको ज्योति प्रदान गर्नु नै सामुदायिक विद्यालयका शिक्षकका लागि वास्तविक फल भएको उनको बुझाई छ ।

बिदा कटौतीको प्रस्ताव

नगरमा दशै र तिहार बिदा कटौतीको प्रस्ताव गरिने भएको छ । शिक्षकहरुले सहमति जनाए व्यहारमा कार्यन्वयन गरिने भण्डारीले बताए । यतिवेला आफु अधिकार भन्दा पनि कर्तव्य पालनामा प्रतिवद्ध रहेको उनको दावी छ ।

‘जसरी पसलेको लागि उपभोक्ता देवता हुन् । त्यसै गरी हामी शिक्षकका लागि विद्यार्थी देवता समान हुन्, अझै विपन्न परिवारका सन्तान अध्यापन गराउने सामुदायिक विद्यालयका शिक्षकले आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन् मिल्दैन' उनले भने 'हाम्रो  विद्यालयमा यो वर्षको दशै र तिहारको बिदामा कटौती गर्न करिब अधिकाँश शिक्षक मञ्जुर हुनु भएको छ ।'

यही सहमती अनुसार दशैमा ५ र तिहारमा ३ दिन मात्र विद्यालय विदा गर्ने प्रस्ताव गर्ने उनको तयारी छ । अधिकाँश शिक्षक स्थानीय भएकोले आफ्नो प्रस्ताव स्वीकार हुने उनको विश्वास छ । शिक्षकले योगदान गरे बन्द अवधीको शिक्षाको गतिलाई पूरानै लयमा फर्काउन सकिने प्रअ भण्डारीको विश्वास छ ।

महामारीको अवस्था मूल्यांकन गर्दा अझै के हुन्छ भन्न सकिने अवस्था छैन । त्यसैले विषम अवस्थामा विद्यालयमा विद्यार्थीको दैनिक उपस्थितिको अवस्था नदेखिएकोले शिक्षकले उनीहरुको घर दैलोमै पुगेर अध्यापन गराउँदा अतिरिक्त वेतनको आशा र अपेक्षा गर्न नहुने उनी बताउँछन् ।

आफ्नो विद्यालय र शिक्षकहरु जिम्मेवारी प्रति वफदार रहेको भण्डारीले बताए । चुनौतीको सामना गरेर जिम्मेवारी प्रति शिक्षकहरु लगनशील हुन सके विद्यार्थीको भविष्यलाई सही दिशा दिन सकिने उनको विश्वास छ । कर्तव्य, लगनशिलता र जिम्मेवारी व्यावसायिक जीवनका लागि सफलताका सुत्र भएको उनले बताए ।

यतिवेला शिक्षकको फेरिएको जिम्मेवारीमा घरदैलो गरेर संचार माध्यमबाट गराएको अध्यापन विद्यार्थीले कति बुझे ? बुझे वा बुझेनन् ? नबुझेकालाई घर मै गएर वा बोलाएर बुझाउनु उनीहरुको दैनिकी हुने भएको छ । त्यसका लागि नगर शिक्षा कार्यलयले समवन्य गर्ने भएको छ । नगरका शिक्षकहरुका लागि जनप्रतिनिधीहरुले जस्तै गरी विद्यार्थीको तथ्यांक लिएर घर दैलो पुग्ने नयाँ अभ्यास हुने भएको छ । साथै शिक्षक–शिक्षकहरुका बीचमा अनुभव आदान–प्रदान गर्नु र विद्यार्थी र अभिभावकका बीच आईपरेको गाह्रो  र अप्ठयारोलाई स्थानीय जनप्रतिनिधीसम्म पु¥याएर समस्याको निवारणका लागि पहल गर्नु पनि शिक्षकको भुमिका हुने भएको छ ।

अतिरिक्त समय नभनेर बालबालिका र शिक्षक विचको सम्बनध विकास गर्दै शैक्षिक गतिविधी सञ्चालन गर्न खट्नु पर्ने नगरका शिक्षकहरुका लागि महामारीको अवधी ‘न्यू नर्मल’ जस्तै हुने भएको छ ।

(सम्पादकीय नोट : कोरोना भाईरस (कोभिड – १९) का कारण आएको असहजतामा बालबालिकाको सिकाइ कसरी प्रभावकारी बनाउने ? कसरी शिक्षक र सम्बन्धित निकायलाई यस प्रति जिम्मेवार बनाउने ? यस सन्दर्भमा संसारमा के कसरी काम भईरहेका होलान् ? यहाँ के गर्न सकिएला ? सिकाइ सहजता र बालबालिकालाई केन्द्रमा राख्दा उब्जिएका यस्तै यस्तै प्रश्नको उत्तर दिन कोही सफल हुन्छ भने कि त्यो शिक्षक हो कि स्थानीय सरकार ! असल अभ्यास गरेकालाई समर्थन, कोशिस गरेकालाई हौसला र नगर्नेहरुलाई सजग बनाउँदै झकझक्याउने क्रममा यसपटक यो सामाग्री तयार पारिएको हो ।)