Edukhabar
मंगलबार, २२ असोज २०८१
खबर/फिचर

शिक्षक विद्यालयमा मात्रै हैन, पुग्न थाले टोल टोलमा

सोमबार, २९ असार २०७७

गल्कोट (बागलुङ्) - सामुदायिक विद्यालयका कतिपय शिक्षकहरु विद्यालय जाने, शैक्षिक गतिविधि शुरु गर्ने भन्ने सुन्ना साथ झोक्किन्छन् – हामीलाई कोरोना लाग्यो भने को जिम्मेवार ? 

यो प्रश्नको उत्तर यति सजिलो भईदिएको भए संसार यतिखेर यो हद सम्म त्राहिमाम भएर बस्ने थिएन !

अवस्था असामान्य हो, यो अवस्थामा सामान्य तरिकाको अपेक्षा गर्नु मुर्खता हो र शिक्षक मुर्खको कोटीमा पर्न उद्दत हुनु विडम्बना ! 

यो विडम्बनाबाट मुक्त हुन प्रयत्न गर्ने शिक्षक स्वयंले हो र उनीहरुको हिम्मतमा साथ दिने भनेको स्थानीय सरकारले नै हो । यो अभ्यास शुरु भएको छ गल्कोट नगरपालिकामा । 

...

कोरोना भाईरस (कोभिड – १९) जोखिमका कारण सरकारले घोषणा गरेको लकडाउनले विद्यालय बन्द भयो । २ – ४ दिन त विद्यार्थी, शिक्षक सबैलाई रमाईलै लागेको थियो । तर जति दिन बित्दै गयो उति हैरानी शुरु भयो । केही विद्यालयका शिक्षकहरुले के गर्न सकिन्छ भन्ने बारेमा आफू आफू छलफल गर्दै थिए । अनौपचारिक रुपमा आफ्ना बालबालिकाको हालखबर बुझ्दै थिए । के गर्दै छन्, के पढ्दै छन् ? सोधि खोजि सँगै पाठ्यपुस्तकको वितरण शुरु गरे । किताब बोकेर घर घरै पुग्दा कतिपय अभिभावकहरु शिक्षक घर आएको मन पराउँथेनन् । स्वभाविक हो महामारिको त्रास चरम विन्दुमा पुगेको थियो । 

कतिञ्जेल यसरी चुपचाप बस्ने ?

शिव माध्यमिक विद्यालय काँडेवासका शिक्षकहरुको मनमा पनि यस्तै  हुटहुटी चलिरहेको थियो । स्वास्थ्य सावधानी प्रमुख कुरा हो, तर बालबालिकाको सिकाइ यो भन्दा पनि महत्वपूर्ण हैन र ! त्यसो भए कसरी शुरु गर्ने त ? 

प्रधानाध्यापक हरि चालिसेले आफ्ना सहकर्मी शिक्षकहरुसँग छलफल शुरु गरे । 

'घरै बसेर त भएन आफ्ना बालबालिका कता छन् पायक पर्ने शिक्षकहरु उनीहरुका सम्पर्कमा पुगौं छलफल गरौं, यसले पनि त सिकाइ शुरु गर्न सघाउँछ हामीले यस्तै छलफल गर्यौं' चासिले भन्छन् 'शुरुमा त हामी पनि कोरोनाका कारण डराएकै थियौं, तर स्वास्थ्य सावधानी अपनाउन विशेष ध्यान दिने र अनौपचारिक रुपमा आफ्ना विद्यार्थी भेटघाट गर्ने काम शुरु गर्यौं ।' 

यत्तिकैमा जेठ ८ गते नगरपालिकाले प्रधानाध्यापकहरु सहित शिक्षा सरोकारवालाहरु बिच छलफल राख्यो । पालिका भित्रका प्राय विद्यालयका प्रतिनिधि र अन्य सरोकारवालाहरुले आफूहरुले गर्दै आएको र गर्ने योजना बनाएको अभ्यासका बारेमा चर्चा गरे । आफ्ना धारणामा सबैले सकारात्मक प्रतिकृया दिए पछि हरि सरको उत्साह बढ्यो । भोली पल्टै सामाजिक दुरी कायम गरेर विद्यालयमा शिक्षकहरुको भेला आयोजना गरियो । आफ्ना विद्यार्थी भएको क्षेत्र पहिचान गर्ने र त्यहाँ जुन शिक्षकलाई पायक पर्छ उसलाई सहभागी गराउने योजना बन्यो । 

सरकारले असार १ गतेबाट वैकल्पिक विधिबाट सिकाइ शुरु गर्ने घोषणा गर्दा सम्म हरी सरको टीमले विभिन्न ११ स्थानलाई अध्ययन स्थल तोकेर शिक्षक र बालबालिकाको भेटघाट हुने थलो बनाउने तय गरिसकेको थियो ।  

शिव माविकै ट्रष्ट भवनमा २ वटा, पहिले वडा कार्यलय रहेको भवन झारमौरामा एउटा र नवदीप आधारभूत विद्यालय वायसल्लामा एउटा अध्ययन स्थल तोकियो । यस्तै बालकल्याण आधारभूत विद्यालय मल्म गल्याड, चालिसेटोलामा रमा चालिसेको घर, बालविकास र भानु आधारभूत विद्यालय तोकियो ।  देवकोटा आधारभूत वि. ज्यामिरे, पचुवा स्थित बाबुराम बि.क. को घर र तुल्शीनाथ कँडेलको घरमा तोकिएका अध्ययन स्थलमा शिक्षकहरु जान थाले । 

हरेक अध्ययन स्थलमा एक जना संयोजक तोकियो । कक्षा १ – ५ का लागि एउटै शिक्षकले अध्ययन गर्न सक्ने भए पनि ६–१० का लागि शिक्षकहरुलाई विषय र समय मिलाएर बोलाउने काम त्यही संयोजक मार्फत् थालियो । 

'शुरुमा हामी किताव बोकेर घर जाँदा शंका गरेका अभिभावकहरु विस्तारै कन्भिन्स हुन थाले, हामीले दैनिक रुटिन बनाएरै बालबालिकालाई पढाउन शुरु गर्यौं' चालिसे सम्झन्छन्, 'पढाई लेखाईबाट टाढा भएका बालबालिका लामो समय पछि शिक्षकसँग भेट हुँदा उत्साही भए, हामी पनि फरक शैलीबाट पढाउने कार्यमा अभ्यस्त हुँदै गयौं ।' 

अध्ययन केन्द्रमा कक्षा चल्दै थियो, शिव माविको अभ्यासको चर्चा हुँदै थियो, अरु विद्यालयहरुले पनि यस्तै अभ्यास शुरु गर्दै थिए, अकस्मात ४ जना व्यक्तिमा कोरोना पोजेटिभ देखियो !

भारतबाट फर्केर विद्यालयमा बनाईएका क्वारेण्टाईनमा बसेका उनीहरुमा कोरोना देखिए पछि नगरपालिकाले असार ७ गते देखि एक साता लकडाउन घोषणा गर्यो । अध्ययन स्थलमा शुरु भएको पठन पाठन पनि रोकियो । 

नगरपािलकाको शिक्षा शाखाले अध्ययन सामग्री निर्माण गरेर विद्यालयहरुमा वितरण गर्ने निर्णय गरेको थियो । त्यो पनि रोकियो । अब के हुन्छ ? 

उस्तै अन्योल बोकेको प्रश्न अघिल्तिर उभियो । 

दोश्रो चरण 

अकस्मात आईपरेको समस्या अहिलेका लागि किनारा लागेको छ । यो महामारीे कतिखेर के हुन्छ यसै भन्न नसकिए पनि तत्कालको अवस्था सामान्य भएको देखिएकाले शिक्षकहरुलाई बालबालिकाहरुको सिकाइ शुरु गर्न आग्रह गरिएको नगर प्रमुख भरत शर्मा बताउँछन् ।

'बालबालिका जहाँ छन् त्यहीँ गएर शिक्षकहरुलाई पठनपाठन गर्न शुरु गर्नुहोस् भनेर टोल टोलमा शिक्षक भन्ने अभियान गर्ने नीतिगत निर्णय गरेका छौं' शर्माले भने 'यो महामारीको अवस्था हो, हरदम सावधानी अपनाउने हो, यति हुँदा हुँदै पनि फेरी केही संकट आईलाग्छ कि भनेर हात बाँधेर बस्न त भएन, त्यसैले शिक्षकलाई बालबालिका भएका ठाउँमा पुर्याउन ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाई हो ।' 

नगरपालिका भित्रका १४ वटा सामुदायिक विद्यालयमा बनाईएका क्वारेण्टाईनमा कुनै बेला भारतबाट फेर्केका ३ सय जना सम्म व्यक्ति राखिएको थियो । अहिले त्यो संख्या घटेर ३० जनामा झरेको छ । पोजेटिभ देखिएका ४४ जना मध्ये अहिले सम्म ३४ जना निको भएर घर फर्किसकेका शर्मा बताउँछन् । 

'विदेशबाट आउनेहरुको संख्या घटेसंगै ति क्वारेण्टाईनमा बस्ने मान्छेहरु पनि घटिहाले, अब हटिया स्थित गलकोट बहुमुखि क्याम्पस र नरेठाँटीमा रहेको महेन्द्र माविलाई मात्रै क्वारेण्टाईन बनाउने र अन्य विद्यालयहरुलाई निर्मलीकरण गरेर राख्ने सोच बनाईएको छ' शर्मा भन्छन्, 'यति भए पछि बालबालिका र शिक्षकलाई स्वास्थ्य सावधानी अपनाउँदै विद्यालयमै उपस्थित हुन पनि गाह्रो हुँदैन, तर यो केही समय पछि को कुरा हो, अहिले चाँही टोलटोलमै जान भनिएको छ ।'

नि:शन्देह स्वास्थ्य सावधानी प्रमुख कुरा हो । महामारीका बारेमा विद्यार्थी मार्फत् घर घरमा जनचेतना पुर्याउन पनि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले बालबालिका र शिक्षक बिचको भेटघाटलाई प्राथमिकतामा राखेर सिकाइ शुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमराज आचार्य बताउँछन् । 

'शिक्षक र विद्यार्थी बिचको भेटघाट भनेको पाठ्यपुस्तक पढ्ने विषय मात्रै पनि त हुँदैन' उनले भने 'महामारीको त्रासले बालबालिकाको मनमा पारेको नकारात्मक असर हटाउन शिक्षक मार्फत् काउन्सिलिङ् पनि त गर्न सकिन्छ ।'

पालिका भित्रका सबै विद्यालयको अवस्था र शिक्षकको जागरुकता समान नभए पनि राम्रो अभ्यास गरेका विद्यालयहरुले एक आपसमा अभ्यासको आदान प्रदान शुरु गरेको उनी बताउँछन् । शिव मावि सहित मल्मका प्रगती आधारभूत विद्यालय, जनहित मावि, दिपज्योती मावि, जनजागृति मावि, पृथ्वी मावि, पाण्डवखानी मावि लगायतका शिक्षकहरुले पनि आफ्ना विद्यार्थी भएका ठाउँमा शिक्षकहरु पुग्ने अभ्यास शुरु गरेको जानकारी प्राप्त भएको उनले बताए । 

पालिका भित्र रहेका ७१ सामुदायिक विद्यालय मध्ये हाल सालै मर्ज भएर ६७ रहेको र त्यसमा ३ सय ८२ शिक्षक दरबन्दीमा कार्यरत रहेको पालिकासँग तथ्याङ्क छ । यी सबै विद्यालय रहेको भौगोलिक अवस्था र सबै शिक्षकको जागरुकता समान नरहेकाले पनि एउटै शैलीमा सिकाइ शुरु हुन सकेको छैन । 

'शिक्षकको सोच र विद्यालयको अवस्था समान छैन, राम्रो गर्न चाहने विद्यालयका शिक्षकहरुले गाउँ ठाउँमा क्लष्टर बाँडेर विद्यार्थीको सिकाइ शुरु गरेका छन्' आचार्यले भने 'केही विद्यालयहरु अब शुरु गर्ने तयारीमा छौं भन्दै छन्, समग्रमा अब फरक तरिकाले सिकाइ शुरु गर्नु पर्छ भन्ने निश्कर्ष हो ।' 

पालिका भित्र रहेका १० वटा निजी विद्यालयहरुले भने अहिले सम्म खासै कुनै प्रभावकारी अभ्यास शुरु गरेका छैनन् । कतिपय निजी विद्यालयका बालबालिका सामुदायिकका शिक्षकले शुरु गरेको अध्ययन स्थलमा पुग्ने गरेका भेटिन्छन् । शुरुमा भर्चुअल कक्षा चलाउने भनिए पनि सबै विद्यार्थी सम्म ईण्टरनेट र कम्प्युटर लगायत आवश्यक सामग्रीमा पहुँच नभएकाले उक्त कार्य रोकेको जानाकरी प्राप्त भएको आचार्यले बताए ।

(सम्पादकीय नोट : कोरोना भाईरस (कोभिड – १९) का कारण आएको असहजतामा बालबालिकाको सिकाइ कसरी प्रभावकारी बनाउने ? कसरी शिक्षक र सम्बन्धित निकायलाई यस प्रति जिम्मेवार बनाउने ? यस सन्दर्भमा संसारमा के कसरी काम भईरहेका होलान् ? यहाँ के गर्न सकिएला ? सिकाइ सहजता र बालबालिकालाई केन्द्रमा राख्दा उब्जिएका यस्तै यस्तै प्रश्नको उत्तर दिन कोही सफल हुन्छ भने कि त्यो शिक्षक हो कि स्थानीय सरकार ! असल अभ्यास गरेकालाई समर्थन, कोशिस गरेकालाई हौसला र नगर्नेहरुलाई सजग बनाउँदै झकझक्याउने क्रममा यसपटक यो सामाग्री तयार पारिएको हो ।)

प्रतिक्रिया