Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

कक्षा ११ को परीक्षा सञ्चालनमा रोक

शुक्रबार, २३ साउन २०७७

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा सञ्चालनमा रोक लगाएको छ । आफैंले परीक्षा लिने गरी कार्यविधि पारित भएको आधारमा कतिपय जिल्लाका विद्यालयहरुले कक्षा ११ को परीक्षा लिने तयारी गरेका थिए । तर उक्त तयारीलाई तत्काल रोक्न भन्दै बोर्डले सूचना जारी गरेको छ । 

‘कोभिड – १९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाईएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नु / नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ’ बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।

कोभिडका कारण परीक्षा हुन नसकेपछि बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याँकन, नतिजा तथा प्रमाणिकरण कार्यविधिमा परीक्षा सञ्चालनको व्याख्या गरिएको छ । कार्यविधि अनुसार कक्षा ११ को आँशिक तथा ग्रेड वृद्धि परीक्षा दिने परीक्षार्थीका हकमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्नु अघि र नियमितको हकमा कक्षा १२ को परीक्षा आवेदन फारम भर्नु अघि विद्यालयले परीक्षा लिने व्यवस्था छ । यसरी परीक्षा लिदाँ स्वास्थ्य सजगता अपनाउने सामाजिक दुरी कायम गर्ने लगायतका मापदण्ड कार्यविधिमै निर्धारण गरिएको छ । 

कोभिड - १९ का कारण स्थगित कक्षा ११ को नियमित तर्फको परीक्षा आगामी माघ भन्दा अगाडि लिइसक्नु पर्ने व्यवस्था छ । आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व परीक्षा दिइसक्नु कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया