Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
शिक्षामा यो साता

साता भरी शिक्षा, परीक्षा केन्द्रित विषय

आइतबार, ०७ भदौ २०७७

काठमाडौं - गत साताभरी प्रकाशित शिक्षाको मुख्य खबरमा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजासँग सम्बन्धित विषयहरु रहेका थिए । खबरमा उल्लेख भए अनुसार ४ लाख ८२ हजार विद्यार्थीले एसईई परीक्षाका लागि फारम भरेकामा ४ लाख ७२ हजार ७८ जनाको मात्र नतिजा प्रकाशन भएको छ र बाँकी विद्यार्थीको विभिन्न कारणले नतिजा प्रकाशन भएको छैन । 

नतिजासँग सम्बन्धित आलेख पनि प्रकाशन भएको छ । खबरमा उल्लेख भए अनुसार एसईईको नतिजा प्रकाशन भएपनि सरकारले अर्को सूचना नआएसम्म कक्षा ११ को भर्ना नगर्न निर्देशन दिएको छ । समाचारमा उल्लेख गरे अनुसार जिपिएको पुरा विवरण प्रकाशन गरिएको छैन र नतिजा पुनरावलोकन तथा पुन परीक्षा पनि सञ्चालन हुने छैन । मुख्य दैनिकहरुकै मुख्य खबर अनुसार सरकारको निर्णय अनुसार विद्यार्थीको मूल्याङ्कन विद्यालयहरुले गरेका थिए र त्यसलाई परीक्षा बोर्डले प्रमाणीकरण गरेर नतिजा प्रकाशन गरिएको हो । 

कोभिडको संक्रमण बढ्दै जाँदा त्रिभुवन विश्वविद्यालयले सबै परीक्षाहरु स्थगित गरेको छ । परीक्षा सञ्चालन सम्बन्धी अधिकार परीक्षा नियन्त्रण कार्यालयले डिन कार्यालयलाई दिएको थियो । परीक्षा नियन्त्रण कार्यालयले बन्दाबन्दीको अवधिमा पनि थुप्रै विषय तथा सेमेष्टरका नतिजा प्रकाशन गरेको थियो । समाचारमा उल्लेख भए अनुसार बन्दाबन्दी हुनु अगाडिका विभिन्न ८ वटा परीक्षाका नतिजा प्रकाशन बाँकी रहेको छ । परीक्षा स्थगित भएसँगै त्रिभुवन विश्वविद्यालयका अस्पताल सेवा बाहेक अन्य सबै सेवा र संस्थाहरु भदौ १ देखि १५ सम्मका लागि बन्द गरिएको छ । शिक्षक र कर्मचारीहरु घरबाटै काम गर्न तथा अनलाइन कक्षा सञ्चालनका लागि क्याम्पस प्रमुखको सम्पर्कमा रहिरहन भनिएको छ । 

सञ्चार माध्यमका लागि परीक्षाको समय उत्सवजस्तै भएको छ । धेरै मानिसको रुचिको विषयमा समाचार बन्नु त स्वभाविक नै हो, त्यो भन्दा पनि यसबाट हाम्रो शिक्षा प्रणाली कति परीक्षा केन्द्रित छ भन्ने देखिन्छ । परीक्षा, शिक्षा प्रणालीको सामान्य विषय हो तर यसको वास्तविक मर्म हराइरहेको छ । सञ्चार माध्यम र समाजले शिक्षाको वास्तविक र गहन विषयमा छलफल गरेको पाँइदैन । सिकाइ भन्दा अङ्कका लागि दौड चलेको पाइन्छ । गत वर्ष भन्दा जिपिए ४ ल्याउने विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ । यसले ः परीक्षाको अङ्क वस्तुगत छैन र सिकाइको वास्तविकता प्रस्तुत गर्दैन, सबैका लागि सिकाइ भन्दा अङ्क महत्वपूर्ण छ तथा निजी शिक्षाका लागि अङ्क व्यापार गर्ने वस्तु बन्न पुगेको छ । हुनत यो विश्वव्यापी विषय पनि हो र परीक्षाले सिकाइ र सिर्जनात्मकता भन्दा पनि कण्ठ गर्नेमा ध्यान दिने गर्दा धेरैका लागि यो चासोको विषय बन्ने गरेको छ । 

काठमाडौं र वीरगंजबाट पक्राउ परेका नेपाल विद्यार्थी संघका सदस्यहरुको विषयसँग सम्बन्धित समाचारले निरन्तरता पाएको छ । नेविसंघले देशभरका क्याम्पसमा ताला लगाएको विषय मुख्य समाचार बन्यो । उनीहरुले पक्राउ परेका विद्यार्थीको तत्काल रिहाइ र झुटा आरोप फिर्ता गर्नुपर्ने माग गरेका छन् । साथै उनीहरुले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक आस्थामा भएको पदाधिकारी नियुक्ति रोक्नुपर्ने र पोखरा विश्वविद्यालयमा नियुक्तिको माग पनि गरेका छन् । त्रिविको उपकुलपति र रेक्टरको नयाँ भवन तर गेट निर्माणको खर्च र त्यसको निर्माणमा भएको कमजोरी पनि समाचारको रुपमा प्रकाशन भएको छ । 

यसैगरी त्रिविमा भइरहेको राजनीतिक नियुक्तिसँग सम्बन्धित विषयको सम्पादकीय प्रकाशन भएको छ । सम्पादकीयमा विश्वविद्यालयमा पदाधिकारीहरु नियुक्ति गर्दा प्राज्ञिक योगदान र उत्कृष्टतालाई ध्यान नदिएको र यसले हाम्रो उच्च शिक्षालाई निरन्तर कमजोर बनाउँदै लगेको उल्लेख गरिएको छ । यसैगरी  कोभिडको अवस्था सँगै उच्च शिक्षाको पुर्नसंरचना तथा सुधार गर्नुपर्ने विषयसँग सम्बन्धित आलेख पनि प्रकाशन भएको छ । 

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाको सुधारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको अध्यक्षतामा बसेको ४४ औ सिनेटको वैठकले नौ सदस्यीय कार्यदल गठन गरेको समाचार आएको छ । 
विश्व विद्यालय अनुदान आयोगले आयोजना गरेको भर्चुअल वैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले विश्वविद्यालयका उपकूलपतिहरुलाई ६ महिनाभित्र सक्ने गरी कोभिड लक्षित शैक्षिक पात्रो र कार्यतालिका तयार गरी पेस गर्न निर्देशन दिएको विषय पनि समाचारको रुपमा प्रकाशन भएको छ । 

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सबैखाले शैक्षिक संस्था सञ्चालनमा प्रतिबन्ध लगाएका छन् र नियम उल्लघन गर्नेलाई १ महिनासम्म जेल सजाय हुने भएको छ ।  

बाग्लुङ्गको शिव माध्यमिक विद्यालय गलकोटले सञ्चालन गरेको सिकाइ केन्द्रमा मास्क लगाएर पढ्दै गरेका विद्यार्थी । 

यसैगरी विद्यालयको पाठ्यपुस्तकमा कोभिडसँग सम्बन्धित सूचनाहरु समावेश गरिएको विषयलाई पनि समाचारको रुपमा प्रकाशन गरिएको छ । सरकारले वैकल्पिक सिकाइ निर्देशिका जारी गरी असार १ बाट कार्यान्वयनमा ल्याएको भएपनि वैकल्पिक सिकाइ व्यवस्थित हुन सकेको छैन र शैक्षिक सत्रको रुपमा समावेश गरिएको छैन । 

वर्तमान जटिल परिस्थितिमा पनि सरकारले शैक्षिक सत्र कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा निर्णय लिन सकेको छैन । विव्यस, अभिभावक तथा विद्यार्थी सरकारका निर्णयहरुबाट अलमलमा परेका छन् ।

मन्त्रीपरिषद्का अपरिपक्व निर्णय, गैरजिम्मेवार राष्ट्रिय परीक्षा वोर्ड र विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा गरेको मूल्याङ्कनले धेरै विद्यार्थीको जिपिए छुटेको छ र उनीहरुको भविष्यको बाटो अलमल भई  नैतिक रुपमा कमजोर भएका छन् । त्रिविले परीक्षा नलिइ अनलाइन माध्यमबाट नयाँ सेमेष्टर तथा तहको पठनपाठन गर्ने निर्णय गरेको छ तर स्नातकोत्तर तथा अन्य सेमेष्टरका अन्तिम परीक्षाको वारेमा कुनै सम्बोधन गरेको छैन । योसँगै सरकार नै शैक्षिक प्रणालीको समस्या समाधानमा असक्षम भएको र अलमलमा परेको प्रश्न उठेको छ । 

‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरले कान्तिपुर, द हिमालयन टाइम्स दैनिक र सेतो पाटी, नयाँ पत्रिका र दि रिपब्लिका अनलाइन पोर्टलहरूमा २०७७ साउन २८ देखि भदौ २ गते सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Exam News week !

 

प्रतिक्रिया