Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

कक्षा १२ को परीक्षा असोजमा नभए ५० प्रतिशत ११ बाट, बाँकी 'ओपन बुक एक्जाम' को अवधारणा पेश

शुक्रबार, १२ भदौ २०७७

काठमाडौं - कोरोना भाईरस कोभिड १९ को सक्रमण जोखिमका कारण शैक्षिक क्षेत्रमा परेको अन्योल हटाउन विभिन्न उपाय सुझाउँदै सत्ताधारी दल नेकपाको विद्यार्थी सँगठनले सरकारको ध्यानाकर्षण गराएको छ । शैक्षिक सत्र खेर जान दिन नहुने सहित विद्यालय तथा विश्वविद्यालय तहका स्थगित विभिन्न परीक्षा सञ्चालनका लागि भन्दै अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले  शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ध्यानाकर्षण सिहतको ज्ञापन पत्र बुझाएको जनाएका छन् । 

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बोधार्थ सहित ईमेलबाट बुझाईएको भनिएको उक्त ज्ञापन पत्रमा कक्षा १२ को परीक्षाको लागि होम सेण्टरको व्यवस्था गरी असोज महिनामा गर्ने गरी तयारी गर्न ध्यानाकर्षण गराईएको छ । 

'कोरोना सहज भएमा होमसेण्टरको व्यवस्था गरी जति सक्दो छिटो परीक्षा सञ्चालन गर्ने । सहज नभएको सन्दर्भमा बैकल्पिक माध्यमबाट परीक्षा लिने' ज्ञापन पत्रमा भनिएको छ,  'त्यसका लागि कक्षा ११ आधारमा ५० प्रतिशत मुल्याङ्न गर्ने र बाँकी ५० प्रतिशत अनलाईन भाइवर तथा ओपन बुक एक्जाम आदि प्रणाली अबलम्बन गर्ने ।'

महामारीका कारण शैक्षिक सत्र खेर जान नदिन सरकारले अहिले देखि नै विकल्पहरु बारे तयारी गर्नु जरुरी रहेको उल्लेख गरिएको उक्त ज्ञापनपत्रमा विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षाका सन्दर्भमा छुट्टा छुट्टै अवधारणा पेश गरिएको छ ।  

ज्ञापन पत्रमा विद्यालय शिक्षाका सन्दर्भमा ध्यानाकर्षण गरिएका विषय  

- विद्यालय तहमा यस वर्षको शैक्षिक सत्र हरहालतमा कायम हुनेगरी विशेष निर्णय मार्फत  बैकल्पिक सिकाइ प्रणाली  र परीक्षा प्रणाली अबलम्बन गर्ने । 

- स्थानीय तहको निगारानीमा अनलाइन माध्यम वा भौतिक दुरी कायम गरी सुरक्षित ढंगले  विद्यार्थी भर्ना तथा कक्षा उन्नत्तिको  ब्यवस्थित अभिलेखिकरण गर्ने  ।

- स्रोत साधनको पहुँचका आधारमा स्थानीय तह र सम्वन्धित विद्यालयले सवै प्रविधिको पहुंच नभएका ,रेडियोरएफ.एम.मा पहुँच भएका ,टेलिभिजनमा पहुच भएका ,कम्प्युटर रमोबाइल भएका तर अनलाइन पहूंच नभएका र इन्टरनेटमा पहुँच भएका विद्यार्थीको पहिचान र वर्गीकरण गरि तद्अनुरुपकै सापेक्षतामा वैकल्पिक सिकाई प्रणालीलाई प्रभावकारीताका साथ ब्यवस्थित गर्ने।

- शिक्षा मन्त्रालयले असार १ गतेवाट लागू  गरेको वैकल्पिक प्रणालीवाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका ०७७ को ब्यवस्थित तथा वैज्ञानिक समीक्षा र अनुगमन गरि त्यसलाई औपचारिक  शैक्षिकसत्रको अंग वनाउने गरि तयारी अघि वढाउने ।

- नयाँ सन्दर्भमा विद्यालय तहको पाठ्यक्रम र पाठ्यभारलाई  परिमार्जन गरि दशैंतिहार लगत्तै  पठनपाठनको शुरुवात गर्ने । कोरोना महामारी नियन्त्रण  भयो भने  विद्यालय सुचारु गर्ने र सहज नभए अनलाइन तथा विविध बैकल्पिक  सिकाइ प्रक्रियालाई अघि  वढाउने । 

- कक्षा १२ को परीक्षाको लागि होम सेन्टरको व्यवस्था गरी  असोज महिनामा  गर्ने गरी तयार गर्ने ।  कोरोना सहज भएमा होमसेन्टरको व्यवस्था गरी जतिसक्दो छिटो परीक्षा सञ्चालन गर्ने । सहज नभएको सन्दर्भमा बैकल्पिक माध्यमबाट परीक्षा लिने । त्यसका लागि कक्षा ११ आधारमा ५० प्रतिशत मुल्याङ्न गर्ने र  वांकी ५० प्रतिशत अनलाईन भाइवर तथा Open book Exam आदि प्रणाली अबलम्बन गर्ने । 

- अझैपनि पाठ्यपुस्तक नपुगेका विद्यार्थीहरु भएका ठाउँमा  अविलम्ब पुर्याउन विशेष व्यवस्था गर्ने । 

- शैक्षिक वातावरण बनाउन आइसोलेशन र कोरिन्टिनहरु रहेका विद्यालयहरुमा  डिइन्फेक्शन गर्ने तथा कोरेन्टिनहरुको बैकल्पिक व्यवस्था गर्ने ।

- संस्थागत विद्यालयहरुको हकमा अनलाईन  कक्षाहरुको शुल्क निर्धारण गरि कार्यन्वयन र अनुगमन गर्ने । तर विद्यार्थीले नलिएका सुविधा र शिर्षकमा अनावश्यक शुल्क लिन नपाइने ।

- अनलाइन शिक्षा लगायतका विशेष शिक्षाको लागि विशेष योग्यता भएका  विशेष जनशक्तिलाई करारमा भर्ति गर्ने र स्वयंसेवक शिक्षकको  भर्तिको व्यवस्था गर्ने । 

- कक्षा ११ मा भर्ना हुनुका लागि  यस वर्ष तय गरिएको SEE ग्रेडिङ मापदण्डलाई स्थगित  गरी गतवर्षको मापदण्ड अनुसार नै भर्ना गर्ने व्यवस्था गर्ने  ।

विश्वविद्यालय तह अन्र्तगत ध्यानाकर्षण गरिएका विषय 

- त्रिभुवन विश्वविद्यालय लगायत सबै  विश्वविद्यालयहरुमा यस वर्षको शैक्षिक सत्र कायम हुनेगरी बैकल्पिक पढाइ र परीक्षा प्रणालीको तयारी शुरु गर्ने । 

- अनलाइन तथा बैकल्पिक कक्षा र परीक्षा प्रणालीको तयारी र सञ्चालन गर्ने अधिकार सम्बन्धित विभाग तथा डिन कार्यालयलाइ प्रदान गर्ने । संकायको सापेक्षतामा पढाइ र परीक्षाको विशेष व्यवस्था गर्ने । 

- पठनपाठनको हकमा  स्वतः सेमेस्टर अपग्रेड गर्ने र सहज भएको समयमा क्रमसः बांकी रहेका सबै समेस्टरहरुको परीक्षा गराउने । 

- अन्तिम परीक्षाको हकमा पनि विशेष र बैकल्पिक प्रणाली लागू गर्ने । 

- रिक्त रहेका विश्वविद्यालयहरुमा यथासिघ्र पदाधिकारी नियुक्ति गर्ने । 

- सरकारले विद्यार्थीलाई  लक्षित गरेर सबै शिक्षण संस्थाहरुमा वाइफाइ तथा विद्यार्थीहरुलाइ सुपथ रुपमा  एनटिसि तथा एनसेल डाटा प्याकको व्यवस्था गर्ने ।

- सम्पुर्ण विश्वविद्यालयहरुले मातहत कलेजलाई आफ्ना सम्पुर्ण  विद्यार्थीलाई सम्पर्कमा ल्याई वैकल्पिक सिकाईका माध्यमबाट पठनपाठन कार्यलाई नियमित गर्ने।

- सम्पर्ण शिक्षण संस्थाहरुमा कोरोना भाइरस संक्रमणबाट बच्ने उपायाहरुको पूर्व तयारी गर्ने । 

- नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल लगायत सम्पूर्ण व्यवसायिक परिषदबाट लिइने लाइसेन्स परीक्षाहरु बैकल्पिक प्रणालीद्वारा  सञ्चालनको व्यवस्था गर्ने ।

- MD/MS/MDS  लगायत स्वास्थ्यका स्नातकोत्तर तहका रोकिएर सम्पुर्ण प्रवेश परीक्षाहरुको बैकल्पिक व्यवस्थाद्वारा सञ्चालन गर्ने ।

प्रतिक्रिया