Edukhabar
मंगलबार, २७ साउन २०८२
विचार / विमर्श

गुणस्तरीय विद्यालय शिक्षाको अपेक्षा : जराको वास्ता नगरी हाँगा स्याहारेर फल फलाउने सोच

आज नियमित रूपमा कक्षामा उपस्थित नभएका यी भोलीका शिक्षकहरूबाट भोलीको विद्यालयहरूको शिक्षण–सिकाइ प्रभावकारी हुन्छ भनेर हामी अपेक्षा गरिरहेका छौं ।

सोमबार, २६ साउन २०८२

'नेपालमा विद्यालय शिक्षा गुणस्तरीय छैन' शिक्षा क्षेत्रमा चलिरहेको अहिलेको जनबोली हो यो । 

'विद्यालय शिक्षा गुणस्तरीय नहुनुको कारण शिक्षकहरूरू नै हुन्' शिक्षाविद् तथा अवकाश प्राप्त प्राध्यापकहरूको जिब्रोमा टाँसिएको कथन हो यो । 

'विद्यालयमा शिक्षण–सिकाइ प्रभावकारी नभएकै कारण विद्यालय शिक्षा गुणस्तरीय हुन नसकेको हो' अवकास प्राप्त विद्यालय निरीक्षकहरू, सम्बन्धित शैक्षिक निकायहरूका पदाधिकारीहरू र सरकारले व्यक्त गरिरहेको विचार हो यो । 

'विद्यालयका शिक्षकहरूको परम्परागत शिक्षण विधि कै कारण शिक्षण–सिकाइ प्रभावकारी नभएको हो ।' शिक्षकहरूलाई तालिम दिने उच्च शैक्षिक संस्थामा प्राध्यापनरत प्राध्यापकहरूको लिखित आलेखहरूमा समावेश हुने वाक्य हो, यो । 

यी सबै धारणाहरू तथा विचारहरू आ–आफ्ना ठाउँमा सही वा गलत होलान्, तर एउटा सत्य कुरा के हो भने शिक्षण–सिकाइ प्रक्रियामा शिक्षकको महत्वपूर्ण भूमिका रहन्छ र शिक्षकको शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी भएमा विद्यार्थीको उपलब्धि स्तर बढ्छ । विद्यार्थीको उपलब्धि स्तरलाई गुणस्तरका विभिन्न मानकहरूमध्ये एउटा मानक हो भन्ने मान्यताको धरातलमा उभिएर हेर्दा माध्यमिक शिक्षालाई गुणस्तरीय बनाउन शिक्षक र उसकोे भूमिकालाई केन्द्रविन्दुमा राख्नुपर्ने हुन्छ । 

शिक्षकले खेल्ने भूमिकाको प्रभावकारीताको मात्रामा उसको शैक्षिक पृष्ठभूमी, शिक्षण कार्यमा उसको प्रतिवद्धता, शिक्षण पेशामा उसको अभिवृद्धि, शिक्षक तालिम दिने संस्थाका पाठ्यक्रम, शिक्षण अभ्यासको कार्यान्वयनको स्थितिमा भरपर्छ । त्यसैले शिक्षकको शिक्षण–सिकाइ प्रभावकारी छैन भनेर निचोड निकाल्नु भन्दा अगाडि त्यसका कारक तत्वहरू पहिचान गरी तिनीहरूको स्थितिबारे अवगत हुनु जरुरी छ ।  

सबै शिक्षकहरूको शिक्षण–सिकाइ प्रभावकारी छैन वा छ भनेर निचोड निकाल्नु पनि गलत सावित हुन्छ । कतिपय शिक्षकहरूको शिक्षण–सिकाइ प्रभावकारी हुन्छन् भने कतिपय शिक्षकहरूको शिक्षण–सिकाइमा सुधार ल्याउनु पर्ने हुन्छ ।

जे होस् विद्यालयको शिक्षण–सिकाइमा सुधार ल्याउनका लागि शिक्षक तालिम दिने संस्थाहरू तर्फ फर्केर हेर्नु पर्ने हुन्छ ।

शिक्षक तालिम (बि.एड) मा भर्ना हुने विद्यार्थीहरूको लागि आवश्यक शैक्षिक स्तर

विद्यालयका लागि आवश्यक शिक्षकहरू तयार गर्ने संस्था विश्वविद्यालय अन्तर्गतका शिक्षाशास्त्र संकाय, वा स्कूल अफ एडुकेसनका क्याम्पसहरू हुन् । भविष्यमा शिक्षक हुने उद्देश्य लिएका कक्षा १२ उत्तीर्ण विद्यार्थी यी क्याम्पसहरूमा सञ्चालित बि.एड.कार्यक्रममा भर्ना भई अध्ययन गर्दछन् । अहिलेको भर्ना नियम अनुसार वि.एड.मा भर्ना हुनको लागि न्यूनतम योग्यता कक्षा १२ मा '२.०१ जिपिए' (+सी) राखिएको छ । '३.२१ जिपिए (ए) र सो भन्दा माथिको जिपिए ल्याउने विद्यार्थीका लागि शिक्षक उत्पादन गर्ने यी क्याम्पसहरू छनोटमा पर्दैन । अझ '२.४१ जिपिए' (बी) र सो भन्दा माथिको जिपिए हासिल गर्ने विद्यार्थी शिक्षक बन्नको लागि यी क्याम्पसहरूमा निवेदन दिएको अभिलेख पाउन कठिन छ । त्यस्तै '२.०१' (+सी) ल्याउने अधिकाँश विद्यार्थीको उच्चशिक्षा अध्ययनको छनोट विषय वि.एड. हुँदैन । त्यस्तै कक्षा १२ उत्तीर्ण विद्यार्थीका गुरुहरू, अविभावकहरू र नातेदारहरूले समेत शिक्षक तयार गरिने यी शिक्षण संस्थाहरूमा भर्ना हुन सुझाव दिँदैनन् । शिक्षण पेसाप्रति जनमानसको अहिलेको यो सोच, उच्चशिक्षामा विद्यार्थी भर्नाको प्रवृत्ति, विश्वविद्यालयहरूका भर्ना सम्बन्धि मापदण्ड र अभ्यासले के जनाउँदछ भने भोली प्रभावकारी शिक्षक बन्नका लागि आज भर्ना हुन आउने विद्यार्थीको शैक्षिक उपलब्धि स्तर कमजोर भए पनि हुन्छ । 

हाम्रो मूलुकमा यो अभ्यास आज मात्र होइन, विगतदेखि चल्दै आएको हो । तर विकसित मुलुकहरू जस्तो सिंगापुर र फिनलेण्डमा वि.एड. कार्यक्रममा शैक्षिक पृष्ठभूमी राम्रो भएको विद्यार्थीले मात्र भर्ना हुने अवसर पाउँदछन्, किनकी त्यहाँ प्रवेश परीक्षाको साथै  अङ्गे्रजी भाषा परीक्षा र अन्तर्वातामा उत्तीर्ण हुनुपर्ने हुन्छ । यसको साथै उम्मेदवारको शिक्षण पेशाप्रतिको अभिवृत्ति, प्रतिवद्धता के कस्तो छ हेरिन्छ । यी सबै कुराहरूमा सफल भईसकेपछि भर्ना हुनका लागि शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिको सिफारिस पत्र आवश्यक छ । त्यसैले यी मूलुकहरूमा वि.एड. पढ्ने विद्यार्थीको शैक्षिक पृष्ठभूमी नेपालको तुलनामा राम्रो हुन्छ ।

शिक्षक तालिम दिने संस्थाको पाठ्यक्रम

बि.एड. कार्यक्रमको पाठ्यक्रममा समावेश भएका विभिन्न विषयका पाठ्यक्रमहरूमध्ये विद्यालयका शिक्षण–सिकाइसँग प्रत्यक्ष सम्बन्ध भएको पाठ्यक्रम “शिक्षण विधिको पाठ्यक्रम” हो । सञ्चार प्रविधिको विकासको कारणले शिक्षा क्षेत्रमा विकसित मुलुकहरूमा विद्यालयको शिक्षण–सिकाइ प्रक्रियामा अहिले निकै परिवर्तन आइसकेको छ । शिक्षण–सिकाइको उद्देश्य हिजोको जस्तै विद्यार्थीलाई कुनै कुरा घोकाउने, बुझाउने र ब्याख्या गर्न लगाउने नभई सिकेका ज्ञान र सीपहरूलाई नयाँ परिस्थितिमा प्रयोग गर्ने, समस्या समाधान गर्ने, कुनै पनि विषयबारे आलोचनात्मक सोचको विकास गर्ने र आप्mनो धारणा निर्माण गर्ने, सृजनात्मक सोचको विकास गर्ने जस्ता क्षमताहरू विकास गर्नु हुन पुगेको छ । 

यसको लागि शिक्षण–सिकाइ प्रकृयामा सञ्चारका नँया प्रविधिहरू प्रयोग गर्न सक्ने सीपहरूको आवश्यकता पर्दछ । अतः वि.एड., एम.एड.का “शिक्षण विधिको पाठ्यक्रम“मा यी सिपहरू विकास गर्ने खालका पाठ्यवस्तुहरू समाबेश हुनु अनिवार्य छ । तर अहिले विद्यालयको शिक्षण–सिकाइ प्रक्रियामा निकै सुधार गर्नु पर्ने अवस्था आइपुग्दा पनि हाम्रो मुलुकको विश्वविद्यालयहरूमा सञ्चालित बि.एड. तथा एम.एड. कार्यक्रमको शिक्षण विधि पाठ्यक्रमलाई सो अनुरुप परिमार्जन गरिएको छैन । त्यसैले अहिलेको शिक्षण विधि पाठ्यक्रमले समयले माग गरेको शिक्षण–सिकाइ प्रक्रियाहरू सम्वन्धि आवश्यक सिपहरू प्रदान गर्दैन । यसको साथै विद्यालयहरूमा अध्ययन– अध्यापन हुने सामाजिक अध्ययन विषय अनुरुप बि.एड. र एम.एड.कार्यक्रममा पाठ्यक्रम निर्माण गरी कार्यान्वयन भएको छैन । सामाजिक अध्ययन विषय नै अध्ययन नगरेका शिक्षकहरूले उक्त विषय अध्यापन गरिरहेका छन् ।

सुन्नमा आए अनुसार कोही कोही विद्यार्थी त भर्नाका लागि फाराम भर्छन् र भर्ना हुन्छन्, अनि एकै पटक परीक्षा दिनका लागि मात्र क्याम्पसमा आउँछन् । परीक्षाको फाराम भर्न समेत अरुलाई जिम्मा दिइन्छ भन्ने कुरा पनि बेला मौकामा सुनेकै कुरा हो ।

कक्षामा नियमितता

बि.एड. वा एम.एड.मा भर्ना भएका विद्यार्थी हरेक विषयको कक्षामा उपस्थिति निर्धारित प्रतिशत पुगेको खण्डमा मात्र अन्तिम परीक्षमा सामेल हुन पाउने नियम भए तापनि उक्त नियम विभिन्न कारणहरूले गर्दा कार्यान्वयन हुन सकिरहेको छैन । अझ सेमेष्टर प्रणाली लागु हुनु भन्दा अगाडि उपत्यकाका क्याम्पसहरूले ५० जना विद्यार्थी नअट्ने कक्षा कोठामा एउटै सेसनमा एक सय ५० भन्दा बढी विद्यार्थी भर्ना लिने गरेको पाइन्छ । क्याम्पस प्रशासनलाई के थाहा छ भने भर्ना भएका विद्यार्थीमध्ये कक्षामा २५ प्रतिशत नै नियमित रुपमा आउँदैनन् । 

सुन्नमा आए अनुसार कोही कोही विद्यार्थी त भर्नाका लागि फाराम भर्छन् र भर्ना हुन्छन्, अनि एकै पटक परीक्षा दिनका लागि मात्र क्याम्पसमा आउँछन् । परीक्षाको फाराम भर्न समेत अरुलाई जिम्मा दिइन्छ भन्ने कुरा पनि बेला मौकामा सुनेकै कुरा हो । तर, सेमेष्टर प्रणाली लागू भएपछि यो अवस्थामा सुधार आएको भए तापनि अहिले पनि कतिपय विद्यार्थी कक्षामा नियमित रूपमा उपस्थित हुँदैनन् । नियमित रूपमा कक्षामा उपस्थित हुन नसक्ने यी आजका बि.एड. र एम.एड.का विद्यार्थी नै भोलीको शिक्षकहरू हुन् । आज नियमित रूपमा कक्षामा उपस्थित नभएका यी भोलीका शिक्षकहरूबाट भोलीको विद्यालयहरूको शिक्षण–सिकाइ प्रभावकारी हुन्छ भनेर हामी अपेक्षा गरिरहेका छौं ।

शिक्षण अभ्यास

बि.एड. वा एम.एड.कार्यक्रममा अध्ययनरत आजको विद्यार्थी (जो भोलीका शिक्षकहरू हुन)  ले हासिल गरेका शिक्षण–सिकाइ विधिहरू, शैक्षिक सामग्री तथा पाठयोजना निर्माण र प्रयोग सम्बन्धि हासिल गरेका ज्ञान र सीपहरू विद्यालयको वास्तविक कक्षा कोठामा प्रभावकारी ढङ्गले प्रयोग गर्ने क्षमता विकासको लागि अधिकाँश विषयहरूमा करिव ६ हप्ताको शिक्षण अभ्यासको व्यवस्था गरिएको छ, जस अनुसार हरेक विद्यार्थी उनीहरूलाई तोकेको विद्यालयमा गई ६ हप्तासम्म अध्यापन गर्नुपर्छ । यही अवधिमा उसको शिक्षण–सिकाइमा सुधार ल्याउनको लागि विद्यालयका विषय शिक्षक र क्याम्पसका निरीक्षक ती विद्यार्थीको कक्षा अवलोकन गरी पृष्ठपोषण दिइन्छ । वास्तवमा भोली हुनेवाला शिक्षकहरूको शिक्षण–सिकाइ प्रभावकारी बनाउनका लागि यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ, तर प्रभावकारी बनाउन सकिरहेको छैन । यसका मूल कारणहरू शिक्षण अभ्यासमा गएका विद्यार्थीको कक्षा अवलोकन प्रभावकारी नहुनु, कुनै बेला क्याम्पसहरूमा विद्यार्थी सङ्ख्या बढी भएर यस कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको सङ्ख्या नपुग भएर आवश्यक मात्रामा शिक्षण अभ्यास गर्न नपाउनु, अहिले आएर विद्यालयहरूले शिक्षण अभ्यासका लागि विद्यार्थी लिन नमान्नु, कक्षा अवलोकन गरी पृष्ठपोषण दिने क्याम्पसका निरीक्षक आफै तालिम प्राप्त नहुनु आदि हुन् ।

उत्तीर्ण प्रतिशत र उपलब्धि स्तर

बि.एड. वा एम.एड.परीक्षामा, विशेष गरी त्रि.वि.अन्तर्गतका क्याम्पसहरूमा अध्ययनरत, विद्यार्थीको उत्तीर्ण प्रतिशत सन्तोषजनक देखिँदैन । परीक्षामा सामेल भएकामध्ये धेरैजसो विद्यार्थी उत्तीर्ण भयो भन्ने खवर कहिले सुन्नमा आएको छैन । तर सेमेष्टर प्रणाली लागू भएपछि विद्यार्थीको नतिजामा केही सुधार आएको छ । त्यस्तै उत्तीर्ण हुने विद्यार्थीमध्ये धेरैजसो विद्यार्थीको उपलब्धि स्तर मध्यम भन्दा तल नै हुन्छ । त्यसैले कतिपय बि.एड र एम.एड. उत्तीर्ण विद्यार्थी शिक्षक सेवा आयोगद्वारा सञ्चालित शिक्षण अनुमतीपत्र परीक्षामा असफल हुने गरेका छन् ।

समग्रमा विद्यालयका शिक्षण–सिकाइ प्रभावकारी बनाउन शिक्षकहरू तयार गरिने विश्वविद्यायलहरूका संस्थाहरूमा माथि ध्यान केन्द्रिकृत गरी सुधार गर्नु अनिवार्य छ ।

हाल सञ्चालित बि.एड. तथा एम.एड.कार्यक्रमका केही महत्वपूर्ण भागरपक्षहरूको चित्रहरू हुन्, – यी माथि उल्लेखित विषयवस्तुहरू ।

शिक्षाशास्त्र संकाय तथा स्कूल अफ एडुकेशन भित्र यी चित्रहरू आज मात्र देखिएको होइनन्, यी चित्रहरूले हिजोको शिक्षाशास्त्र संकाय तथा स्कूल अफ एडुकेशनका स्थितिहरूको पनि प्रतिनिधित्व गर्छ । त्यसैले हिजो नियुक्ति भएर अहिले विद्यालयहरूमा कार्यरत शिक्षकहरू, हालसाल नियुक्ति भएका कार्यरत शिक्षकहरू र भोलि नियुक्ति हुने शिक्षकहरूको शिक्षण–सिकाइ कस्तो हुन्छ भन्ने कुरा यी तालिम दिने संस्थाहरूको चित्रहरूले स्पष्ट इंगित गर्छ । तर यसको अर्थ सम्पूर्ण शिक्षकहरूको शिक्षण–सिकाइ प्रभावकारी हुँदैन र हुन सक्तैन भन्ने आशय पनि पक्का होइन । कतिपय शिक्षकहरूको शिक्षण–सिकाइ प्रभावकारी भएका पनि छन्, किनकी यी शिक्षकहरू माथि प्रस्तुत चित्रहरू भित्र पर्दैनन् । धेरैजसो शिक्षकहरू माथिका चित्रहरू भित्र परेर पनि शिक्षण पेशामा सामेल भएपछि आफ्नो  शिक्षण पेशा सफल बनाउन भरमग्दुर प्रयास गरी आफ्नो दैनिक शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी बनाएका हुन्छन् ।

तर समग्रमा विद्यालयका शिक्षण–सिकाइ प्रभावकारी बनाउन शिक्षकहरू तयार गरिने विश्वविद्यायलहरूका संस्थाहरूमा माथि उल्लेखित क्षेत्रहरूमा ध्यान केन्द्रिकृत गरी सुधार गर्नु अनिवार्य छ । स्पष्ट रूपमा भन्दा विद्यालयका शिक्षण–सिकाइमा सुधार ल्याउन सम्बन्धित मन्त्रालय तथा निकायहरूको ध्यान शिक्षकहरू उत्पादन गर्ने यी संस्थाहरूका उल्लेखित क्षेत्रहरूमा केन्द्रीत हुनुपर्छ । तर अहिलेसम्म नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा निकायहरूले विद्यालयको शिक्षण–सिकाइमा महत्वपूर्ण भूमिका खेल्ने यी संस्थाहरूको कार्यक्रमहरू प्रति अनभिज्ञ छन् । 

शिक्षण–सिकाइ प्रभावकारी बनाउन स्थानीय, प्रदेश र राष्ट्रिय तहमा ठुलठुला सेमिनारहरू गरेका छन्, विद्यालयहरूको भौतिक सुविधाहरूमा ध्यान दिएका छन्, शिक्षकहरूको लागि तालिमहरूको आयोजना गरिएका छन्, बेला मौकामा विद्यालय निरीक्षण पनि गरिएका छन्, र सामग्रीहरू पनि तयार गरिएका छन् । तथापि अपेक्षाकृत तरिकाले शिक्षण–सिकाइमा सुधार आउन सकेको छैन । किनकी अहिले सम्बन्धित मन्त्रालय तथा निकायहरूले विद्यालयहरूको शिक्षण–सिकाइमा सुधार ल्याउन जरालाई वास्ता नगरी हाँगाहरूको मात्र स्याहार गरेर फल फलाउने कोशिस गरिरहेका छन्, जुन आजको लागि पर्याप्त छैन ।

श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका पूर्व डीन हुन् । 

प्रतिक्रिया