शिक्षकले आफूमा भएको ज्ञानलाई हस्तान्तरण गर्ने कलालाई शिक्षण भनिन्छ । शिक्षण सिकाइ प्राविधिक कार्य हो । नेपालको सन्दर्भमा शिक्षण कलात्मक भन्दा बढि 'न्यारेटिभ सिक्नेस'बाट प्रभावित छ । शिक्षकले पढाउनु भनेको गला सुकुञ्जेल पण्डित्याई गर्ने, बिषयबस्तुलाई व्याख्या गर्ने, कण्ठस्थ गराउने जस्ता कुराहरु बुझेको पाइन्छ । यो बुझाई परम्परागत शिक्षण शैली हो । आजको युगमा यो 'आउटडेटेड् विधि हो । यो विधिलाइ बदलेर आधुनिक तथा विद्यार्थीमैत्री शिक्षण सिकाइ आजको आवश्यकता हो । आधुनिक शिक्षण कलामा विद्यार्थीको ज्ञानात्मक, भावनात्मक, कृयात्मक र व्यवहारिक जस्ता पक्षको 'फिडब्याक'को आधारमा शिक्षण गर्नु पर्दछ ।
शिक्षणमा मूल्यांङ्कन र 'फिडब्याक'को ठुलो महत्व हुन्छ । मूल्याङ्कन भन्नाले कुनै पनि पाठ पढाई सकेपछि विद्यार्थीले के कति उपलब्धी हासिल गर्न सके वा सकेनन् भनेर गरिने परिक्षण हो । विद्यार्थीको सिकाइ उपलब्धी कस्तो हुनु पर्ने र कस्तो भईरहेको छ भनेर लेखाजोखा गर्ने कार्य नै मूल्याङ्न हो । शिक्षाविद टेलरका अनुसार मूल्याङ्कन भनेको शैक्षिक उपलब्धीहरुलाई कुन हदसम्म प्राप्त गर्न सकियो भनेर किटान गर्ने प्रकृया हो । मल्याूङ्कनको बारेमा शिक्षाविद् क्रोनविचले कुनै पनि शैक्षिक कार्यक्रमको अङ्गका बारेमा निर्णय गर्न सङ्कलन गरिएको सूचना हो, भनेका छन् । यो मूल्याङ्कन सूचनाले शिक्षकलाई विद्याार्थीको सिकाइको अवस्था, उपलब्धी, सबल र दुर्बल पक्षहरुको पहिचान गर्न मद्धत गर्दछ ।
कुनै पनि शैक्षिक कार्यक्रम कार्यान्वयन भए पछि मूल्यङ्कनलाई नियमित प्रक्रियाको रुपमा लागु गर्नु पर्दछ भन्ने मान्यता राखिन्छ । शिक्षकले आपूmले अध्यापन गराउने बिषयको सिकाइ उपलब्धी मात्र नभएर विद्यार्थीको सर्वाङ्गीण विकासमा भएको वा हुँदै गरेको प्रगति लगायत उसको समाजिक, शारिरीक, मानसिक, भावनात्मक, संवेगात्मक तथा शैक्षिक गतिविधिहरुको मूल्याङ्कन गर्न अनिवार्य हुन्छ । मूल्याङ्कनका आधारमा विद्यार्थीको कमजोरी पक्षलाई केलाई आवश्यक सल्लाह, सुझाव दिन वा सहयोग गर्न सकिन्छ । मूल्याङ्कन प्रकृयाले शैक्षिक सत्रको अन्त्यमा सिकाइ उपलब्धी राम्रो भएन भनेर चुक चुकाउन भन्दा बेलैमा प्राप्त निष्कर्षको आधारमा आवश्यक पक्ष माथि सुधार गर्न मार्गनिर्देश गर्दछ ।
शिक्षकहरुले पाठ्यपुस्तकीय बिषयबस्तुलाई भाषण, प्रवचन, वर्णन, व्याख्या गर्ने कार्यलाई शिक्षण भनेर बुझेको पाइन्छ । पाठ्यपुस्तकमा लेखिएका विषयबस्तुहरुलाई कण्ठस्थ गराउने, अभ्यास गराउने र सोही मुताविक प्रश्नावली बनाएर कक्षागत श्रेणी बढाउने वर्तमान शिक्षण सिकाइ र मूल्याङ्कन पद्धतिले शिक्षा क्षेत्र नै थला परेको छ । तहस नहस भएको छ । शिक्षण कला हो । शिक्षकले सिकारुको पूर्वज्ञान, रुची, क्षमता, चाहाना, तहगत स्तर, स्वभाव, उमेर सिकाइ उपलब्धीको स्तर लगायतका अवस्थाको पृष्ठभूमीलाइ ख्याल गरेर मात्र शिक्षण गर्नु पर्दछ । शिक्षाविद वर्टनले 'फिडब्याक'ले शिक्षण कार्यमा प्रभावकारीता ल्याउन मद्दत गर्दछ भनेका छन् भने अर्का विद्वान आडमका अनुसार फिडब्याक शिक्षण सुधारको लागि एउटा योजनाबद्ध कार्यक्रम अन्तरगत पर्दछ छ । यसरी हेर्दा शिक्षण सिकाइमा 'फिडब्याक'को महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।
पढाई लेखाइमा रुची जगाउने शिक्षण कलाले मात्र सिकाइ उपलब्धी हासिल हुन सक्दछ । शिक्षाशास्त्री रोवट् फोष्टरले शिक्षकमा भएको ज्ञानलाई विद्यार्थीमा स्थानान्तरण गर्ने कलालाई शिक्षण भनेका छन् । शिक्षण कलाको अर्थ विभिन्न शिक्षण विधिहरुको प्रयोगगरी सहज रुपमा सिकाइ उपलब्धी हासिल गराउनु हो । यसको लागि शिक्षक स्वयम शिक्षण कलामा सक्षम हुन आवश्यक हुन्छ । शिक्षकले सिकारुमा अध्ययन गर्ने भोक जगाउनु पर्दछ । विद्यार्थीलाइ ध्यान नदिइकन अध्यापन गर्ने कार्य शिक्षक केन्द्रीत पण्डित्याईँ मात्र हो । शिक्षणलाई स्तरीय र कलात्मक बनाउन शिक्षकहरुमा शिक्षा प्रतिको अनुराग, पेशाप्रति निष्ठा, अध्ययनशीलता, अनुसन्धान र नविनतम् ज्ञान आर्जनमा रुची जस्ता गुणहरु आवश्यक हुन्छ । शिक्षणमा आएका नयाँ परिवर्तन, प्रविधि, शैली, खोज, तथा अनुसन्धानका क्षेत्रहरुमा शिक्षकहरु अपडेट हुन आवश्यक हुन्छ । यसो भएमा मात्र शिक्षण सिकाइ प्रभावकारी हुन सक्छ ।
जसरी एउटा वैज्ञानिकले कुनै पनि कुराको आविष्कार गर्नको लागि त्यसको सुक्ष्म अध्ययन, अनुसन्धान तथा परिक्षण गरेपछि मात्र उ सफल हुन्छ त्यसरी नै शिक्षण सिकाइमा पनि शिक्षकले विद्यार्थीको 'फिडब्याक'को राम्रोसंग जानकारी भए पछि मात्र त्यसको आधारमा गरिएको शिक्षण प्रभावकारी हुन्छ ।
आइन्सटाइनले मानिसको एउटा मूल्यवान चीज भनेको उसको अन्तरहृदयको आवाज हो, भनेका छन् । बालबालिकाको हृदयको आवाजलाई नसुनीकन गरेको शिक्षण प्रभावकारी हुन सक्दैन । विद्यार्थी मैत्री हुन सक्दैन । विद्यार्थी घर, परिवार, समाज, विद्यालय र कक्षा कोठा लगायतका ठाउँहरुमा भिन्न प्रकारका समस्याहरुले सताईएका हुन सक्छन् । एकातिर विद्यार्थीका पढाई, लेखाइ र बुझाइका समस्याहरु हुन्छन् भने अर्कोतिर उमेर अनुसार शारिरीक, मानसिक तथा संवेगात्मक समस्याहरुले सताईएका हुन सक्दछन् । विद्यार्थीमा उत्पन्न डर, त्रास, घात, आघात, रिस, आवेग, उत्तेजना आदि इत्यादी समस्याहरु प्रति शिक्षक जानकार हुनु पर्दछ । विद्यार्थी भित्र सुसुप्त रुपमा रहेको दुःखको आवाज सुनिदिने व्यक्ति बन्न सक्नु पर्दछ शिक्षक ।
विद्यार्थीलाई मानसिक रुपमा तयार नगरी गरिने शिक्षण उपलब्धी मुलक हुन सक्दैन । मूल्याङ्कनले विद्यार्थीमा रहेका सबल पक्षहरुलाई प्रोत्साहन र दुर्बल पक्षहरुलाई निरुत्साहित गर्न मद्दत गर्दछ भने 'फिडब्याक'ले विद्यार्थीको विगत र वर्तमान अवस्थाको बारेमा सुक्ष्मरुपले अध्ययन गरी सोही मुताविक शिक्षण रणनिति तय गर्न सहयोग गर्दछ । यस अर्थमा शिक्षण सिकाइ सहज, विद्यार्थी मैत्री तथा उपलब्धी मुलुक बनाउन मूल्याङ्कन र 'फिडब्याक'को ठुलो महत्व हुन्छ ।
प्रतिक्रिया