Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

सामुदायिक विद्यालयमा पढ्ने छोरीको नाममा बचत खाता, वार्षिक ४ हजार रुपैंया छात्रवृत्ति

शनिबार, २० भदौ २०७७

भक्तपुर - छात्राको ड्रप आउट रोक्नका लागि चाँगुनारायण नगरपालिकाले छोरीको नाममा बचत खाता कार्यक्रम सञ्चालन गरेको छ । ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ नाम दिइएको उक्त कार्यक्रमको कार्यविधि बनाएर काम थालेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका भित्र रहेका ३९ वटा विद्यालयमा पढिरहेका सबै छात्राहरु सो कार्यक्रमबाट लाभान्वित हुने नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले जनाकारी दिए । नगरपालिकोको सातौं नगरस भाबाट उक्त कार्यक्रम स्वीकृत भई लागू भएको उनले जनाए । 

‘नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न, गुणस्तरीय शिक्षा प्राप्त गर्न, बालविवाह निरुत्साहित गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षा गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउन नगरपालिकाले उक्त कार्यक्रम लागू गरेको हो ।’ मेयर मिश्रले बताए ।

उक्त कार्यक्रममा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत छात्रा सहभागी हुन पाउने छन् भने त्यसका लागि सामुदायिक विद्यालयमै अध्ययन गरेको र नगरवासी हुनुपर्ने प्रावधान तय गरेको नगर शिक्षा शाखाका अधिकृत वीरबहादुर खड्काले बताए ।

‘नगरपालिकाका स्थायी वासिन्दाका छोरीहरुको कम्तिमा माध्यमिक तहसम्मको अध्ययन पूरा गर्ने वातावरणलाई सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्न छोरीहरुको खातामा नगरपालिकाबाट रकम जम्मा हुने गर अनुदान रकमको व्यवस्था हुने भएको छ ।’ शाखा अधिकृत खड्काले भने ।

नगर शिक्षा शाखाका अनुसार गत शैक्षिक सत्रमा नगरपालिका ३९ सामुदायिक विद्यालयमा कूल १ हजार ३ सय ४२ छात्रा रहेका छन् ।

सो कार्यक्रममा आवद्ध छोरीहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमा जोड दिई उनीहरुको शैक्षिक उन्नयनमा टेवा पुर्याइ दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने र गुणस्तरीय प्राप्त गर्न सहयोग पुग्ने नगरपालिकाको ठहर छ ।

नगरपालिकाका सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत छोरीलाई नगरपालिकाले सम्बन्धित छात्राको खातामा अधिकतम् १२ वर्षसम्म हरेक वर्षको शैक्षिकभित्र वार्षिक रुपमा रु. ४ हजारका दरले रकम उपलब्ध गराउने भएको छ ।

‘हामीले छात्राका नाममा खोलेको बचत खातामा रकम जम्मा गरिदिने हो, त्यो सिडमनिका रुपमा हुन्छ, कक्षा १२ पार भएपछिमात्र त्यो रकम निकाल्न पाउँछ, त्यसले उनीहरुको उच्च शिक्षा अध्ययनका लागि पनि सहयोग पुग्छ ।’

उनले बीचमा पढाइ छोडे, विवाह गरेको खण्डमा सो रकम नपाउने प्रावधान नगरपालिकाले तयार गरेको कार्यविधिले समेटेको बताए ।

प्रतिक्रिया