Edukhabar
शनिबार, १५ बैशाख २०८१
विचार / विमर्श

चार सय वर्ष वृद्ध पाठशालाका शिष्यलाई पत्र

बुधबार, १४ असोज २०७७

प्रिय शिष्य ।
न्यानोमाया ।

बिगत ६ महिना यता देखि तिमीहरुसँग भलाकुसरी गर्न नपाउँदा न्यास्रो लागेको छ । त्यो कुरा मनमा खेलाउँदा खेलाउँदै आज मनका कुरा लेख्न मन लाग्यो ! 

तिमीहरु भौतिक रुपले दैलेखको दुल्लु, नेपालग१ज, सिन्धुपाल्चोक, ओखलढुङ्गा, खोटाङ, सर्लाही, रौतहट, सिराहा, सप्तरी, महोत्तरी, लगायत २७ जिल्ला र ६ वटा प्रदेशका भए पनि मनसिक रुपले आज पनि विद्यालयमै छौ कि भन्ने भान हुन्छ ।

संख्यात्मक रुपले थोरै भए पनि भौगोलिक रुपले जनकपुर क्षेत्रकै सबैभन्दा धनी हाम्रो पाठशालामा आज तिमीहरुको अनुपस्थितिमा घाँस उम्रेछ । बिहान बेलुका वेद ध्वनि गुञ्जिने ठाउँमा मुसाको राज र ध्वनि सुरु भएको छ !

प्रत्येक साता कोही न कोही गन्यमान्य व्यक्तिलाई रक्षा सूत्र बाँधी मंगलगान गर्ने तिमी बटुकहरु पाठशाला परिसरमा देख्दा खुशी हुने पाठशालाका छिमेकी यादव, कसेरा र पूरै मटिहानी गाउँ कहिले आउँछौ भनेर बाटो हेरिरहेका छन् । तिमीहरुको नित्य कर्म, योगा, अखण्ड रुद्रा अभिषेक, पाकशाला खेलकुदले सुरम्य बनेको पाठशाला आज सुनसान बनेको छ । तिमीहरुका गुरु र गुरुआमा घर संसारमा रमाउनु भएको छ । 

तर, मलाई भने किन हो बैशाख देखि नै तिमिहरुको यादले सताइ रहेको छ । तिमीहरुको मुस्कानमा आफु पनि मुस्कुराउने र तिमीहरुको अनुहारमा उदासीनता देख्दा आफू पनि उदास हुने बानी परिसकेको मलाई नैराश्यता कुण्ठाले सताएर यो पत्र कोर्दैछु ।

कोभिड १९ ले हाम्रो जिन्दगी अपहरित भएको छ । जता हेर्यो सबैका नाक र मुख मास्क भित्र भूमिगत छन् । हामी आफैसंग त्रसित छौ । हामी मानव, मानव बीच भाग्न विवश छौ । दृष्टिकोणबाट टाढा, स्पर्शबाट टाढा, एक आपसको श्वास प्रश्वास देखि टाढा, सामिप्यको नन्योपन देखि टाढा, अहिले अति आत्म केन्द्रित र सम्बन्ध विच्छेदकारी अवस्थाको सिर्जना भएको छ । थाहा छ तिमीहरुलाई हाम्रो जीवनमा आफ्नो नियन्त्रणमा अब केही रहेन । हाम्रा सचेत चेष्टाहरुका भूमिका शून्यप्राय: छन् । 

मैले १३ वर्षको बाल्यकालमा टेकेको हाम्रो पाठशालामा ३७ वर्ष पार भएछ । आज पाठशाला परिसरमा तिमीहरुलाई हेर्दा मेरा बाल्यकालका स्मृतिहरु अहिले पनि झल्झली याद आउँछ ।

मलाई औँला समातेर खोटाङको अति दुर्गम गाउँ हात्तीवनबाट ल्याउने पाठशालाका  पूर्व शिष्य मेरा मामा भावेंन्द्र कोइराला, मेरा गुरु कर्मपिता अमिरीलाल मण्डल जस्ताको छात्रछायामा  कक्षा आठ देखि उच्च शिक्षा सम्म हासिल गर्ने अवसर पाँए । कठोर अनुशासनमा हुर्केको म अहिले  पढेकै पाठशालाको गोठाले बन्न पाउनु पनि मेरा लागि सौभाग्य नै हो । पवित्र भूमि मटिहानीमै मेरा गुरु अमिरीलाल मण्डलको नेतृत्व गरेको साधारण समुदायिक विद्यालय  राम मावि मटिहानीमा १० वर्ष सम्म नेपाली शिक्षक र सत्र वर्ष देखि पाठशालामा शिक्षक भई जम्मा २८ वर्ष शिक्षण अनुभव र घटनाहरु सम्झँदा कैले आफै गौरवान्वित बन्न पुग्छु त कति घटनाहरुको याद आउना साथ आफैँलाई नरमाइलो समेत लागेको छ । तिमीहरुलाई थाहा छ, मैले त तिमीहरुको समीपमा रहदाँ हाम्रो तीन पुस्ते चौध जनाको परिवार नै बिर्सेछु बल्ल, मैले पनि चार महिना घर परिवारमा बिताउन पाउँदा घर गृहस्थीको कुरा अलि अलि भए पनि बुझ्न पाएँ ।

प्रिय शिष्य,

तिमीहरुलाई सिकाएर ठूलो मान्छे बनाउने सपना लिएर तिमीहरुसंग सहकार्य गर्न होमिएको मैले के कति सिकाउन सकेँ वा सकुँला । त्यो त तिमीलाई नै थाहा होला हुने छ । त्यसको मूल्याङकन अवश्य नै तिमीले गर्नेछौ तर, थाहा छ तिमीहरुलाई तिमीहरुबाट नजानिँदो तरिकाबाट मिलेर धरै कुरा सिकेको छु । तिमीहरुलाई सिकाउने नाममा भौगोलिक विविधता, जातीय विविधता, धार्मिक विविधता, साँस्कृतिक विविधता बाल सुलभाता, अभिभावक विहीनताको अवस्थालाई नजिकबाट नियालेको छु । 

सिन्धुपाल्चोकका १२ वर्षीय वटुक विवेक न्यौपानेका तीन दाजुभाइलाई छाडेर अन्यत्र घरजम गर्न जाने  आमाको निर्दयी अविवेकी निर्णयलाई समेत सम्झेको छु । रुद्रीका श्लोकहरु कण्ठ गर्न विवेक सबैभन्दा सानो तर नेपाली, चाइनिज, अंग्रेजी, संस्कृत, हिन्दीका गीतले सबैलाई  मन्त्र मुग्ध बनाएको छ । अहिले उसको बुवा काठमाडौँमा ऊ हल्लिएर आफन्त कहाँ बसिरहेको  सुन्दा नरमाइलो लागेको छ । उसलाई सबैले माया गरेर पढाउँदा कक्षा ८ मा प्रथम  गरी नौ मा पुगेको देख्दा मेरो घमण्डले छाती फुलेको छ । 

अहिले देश जात जाति, धर्म, लिङ्ग, भाषिक, भौगोलिक अविश्वास भइरहेको अवस्थामा हिमाल, पहाड, तराई कोही छैन पराई, मिनि नेपालको झझल्को दिने पाठशाला आज बन्दले थिलथिलो भएको छ । पाठशालामा कक्षा ८ देखि १२ सम्म पढ्ने तिमीहरूका १० जना साथीहरुको अभिभावकत्व लिएको पाठशाला आज ती छोराछोरी कहिले फर्केलान् ? भनेर बाटो हेरिरहेको छ । 

सर्पले टोक्दा रौतहटका ५ दिदीका एकमात्र भाइ  निशान्त सिंहलाई जलेश्वरको अस्पतालमा रात भरि के हुने हो भनेर तड्पेको मैले भुलेको छैन । ज्वरो आउँदा १० रुपैयाँको बिस्कुट र मागेर ल्याएको सिटामोल खुवाएको, तिमीहरु खाली खुट्टा हिँड्दा चप्पलको फित्ता किनेको वा तिमीहरु मध्ये पैसा नभएर मलिनो अनुहार बनाएर बस्नेको जन्म दिनमा सय रुपैयाँको चकलेट किनेर पाठशाला परिवार एकै ठाउँमा जम्मा पारी  जन्मदिनको शुभकामना भन्दै राजकीय संस्कृत मावि नाम गरेको फेसबुकमा हालेको बिर्सेको छैन । तिमीहरुलाई कापी, कलम, बिस्कुट होस् वा घर जाँदा भाँडा नपुग्दा भाँडा दिएको मैले बिर्सेको छैन । थाहा छ त्यो मैले अतितको आफ्नो पालाको समस्या र अहिले तिमीहरूको समस्या एउटै जस्तो लाग्छ ।

अहिले त पैसा सस्तो भएको छ । भिक्षाटन गरेर भए पनि पाठशालामा केही परिवर्तन भएको छ । खाट, ओछ्यान, ओड्ने, सिरानी जोडेका छौँ । थाहा छ तिमीहरुलाई हाम्रो पालामा आफै किन्नु पर्थ्यो । पैसा महंगो थियो । पाठशालाका पूर्व शिष्य मेरा अनन्य मित्र मनोहर मावि काठमाडौंका प्रधानाध्यापक माधव प्रसाद भट्टराईलाई आएको बेला सोध कस्तो थियो भनेर । ऊ जहिले पनि उसिना चामल ह्वास गनाउँदा र किरा हटाएर खाँदा आँपको  बगैचामा घुरु घुरु रुन्थ्यो । तर अहिले उसलाई सरस्वती माताको कृपा परेको छ ।

प्रिय शिष्य, 

तिमीहरुलाई मैले मेरा भावनाहरु पोख्दा अनि तिमीहरूका सिकाएका  खातिर यी शब्द वाणीहरु सुनाउँदा केवल भावनाका पोकाहरु मात्र पनि लाग्न सक्लान् । तर होइन । यो त मेरो शिक्षण पेशा प्रतिको दायित्व र त्यसका दायित्व पूरा गर्ने अठोट पनि हो । तिमीहरु राम्रो, असल बन्न सफलताको शिखर चढ्नलाई आजैबाट मेहनतको सोपान चढ्नै पर्छ ।

तिमीहरुलाई कक्षामा वा छात्रवासमा बस्दा मनमौजी बोल्न मन लाग्छ । मैले विषय वस्तुको वर्णन गरिरहँदा तिमीहरूलाई साथीसँग खुसुखुसु गर्न मन लाग्छ । मौका पायौ भने मोवाइल चलाई रहन मन लाग्छ । यो सात वर्षको दौडानमा सयौं मोबाइल काण्ड भएको म भन्दा पनि बढी तिमीहरुले सम्झिरहेका छौ । एकआपसमा भलाकुसरी गर्दा तिमीहरूलाई कति आनन्द लाग्थ्यो । दुई शब्द लेख्नु भन्दा पनि दुई कुरा बोल्न मै स्वाद लाग्थ्यो । केही तर्क सुन्नु भन्दा पनि कुर्तक गर्नमा नै मज्जा लाग्न थाल्थ्यो । तर थाहा छ तिमीहरुकै साथी दैलेख देखि आएको खगेन्द्र भण्डारीले कहिले झगडा गथ्र्यो ?  ? अनुशासनको अनुपम उदाहरण पेश गरि यसपटकको एसइइमा विशिष्ट श्रेणी ल्याई पाठशालाको नाक ठाडो बनाएको छ । ऊ प्रति कुनै गुरुको गुनासो आएन । तिमीहरुले कहिलेकाहीँ त झगडा, लफडा गर्दा मध्यरातमा पनि ६ किलोमिटर टाढाको यात्रा तय गर्नुपरेको मैले बिर्सेको छैन । तिमीहरुका अभिभावकले मध्यरातमा मलाई फोन गरि झगडा भएको सुनाउँदा पनि मैले सकेसम्म आफ्नो विवेकलाई प्रयोग गरेको छु ।

तिमीहरुले बुझ्नु पर्छ नेपालको पहिलो पाठशाला नव नेपालको एकीकरण भन्दा पनि पहिल्यै  विसं १७७५ सालमा स्थापित पाठशालाका  शिष्य हौ । चार सय वर्ष प्राचीन पाठशाला जसको परीक्षा बनारसमा हुन्थ्यो । यस पाठशालाले भोजपुरको दिङ्लामा वि.सं १९३२ मा संस्कृत पाठशाला खोल्ने बालागुरु षडानन्दलाई शिष्य बनाएको छ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पाठशालामा आइ  तिमीहरुलाई आफू सात्विक र निष्ठाको राजनीति गर्नमा बुवा मंगलप्रसाद नेपालको देन हो । बुवालाई शिक्षा दिने पाठशालालाई नमन गर्न आएको भन्दा हामी कति खुसी भएका थियौं । 

भूमिसुधार मन्त्रालयका पूर्व सचिव शम्भु कोइराला, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुल प्रसाद कोइराला, रजिष्टार कार्तिकेय झा, पूर्वाञ्चल विश्वविद्यालयका पूर्व डीन डा. शम्भु कोइराला, पाठ्यक्रम विकास केन्द्रका पूर्व निर्देशक शम्भु दाहाल, वर्तमान वन विभागका महानिर्देशक विद्यानाथ झा, लेखक कुमार कोइराला, गैर नेपाली  मातृभाषी ध्रुव राय जसले एसएलसीमा बोर्डफस्ट गरेको इतिहास छ ।

दर्जनौं प्रमुख जिल्ला अधिकारी, प्राध्यापक, पत्रकार, शिक्षक उत्पादन गरेको पाठशालाका तिमीहरु शिष्य हौ । २००७ सालमा पाठशालाबाट एसएलसी उत्तीर्ण गरेका नव्य न्यायमा नेपालकै मूर्धन्य विद्वान प्रा.डा. गोविन्द चौधरीको भर्खरै तिमीहरुले दुई घण्टासम्म संस्कृतमा प्रवचन सुन्यौ । तिमीहरू अरु सामुदायिक विद्यालयका जस्ता शिष्य होइनौ ।

ओखलढुंगाको छहरे  कोइराला गाउँबाट शिक्षा आर्जन गर्न आएका दुई युवा जसले प्रजातान्त्रिक आन्दोलनमा शहीद हुने केशव कोइराला र महेश कोइरालाको कर्मभूमि युगान्तकारी परिवर्तनका लागि लड्नुपर्छ भन्ने गुरुमन्त्र दिने अगुवाका अनुयायी हौ । निरंकुशताका विरुद्ध लड्नुपर्छ भनेर जेल जाने अर्जुन बराल, नारायण घिमिरे, कलम चलाई संस्कृत शिक्षाको विगुल फुक्ने वरिष्ठ पत्रकार हरिहर बिरहीको कर्म क्षेत्रको अनुज हौ तिमीहरु ।  तिमीहरूको काँधमा जिम्मेवारी, हृदयमा समझदारी र इमान्दारी देखाउनु पर्छ । तिमीहरूको काँधमा चुनौति आएको छ यसलाई अवसरमा बदल्नु पर्छ । तिमीहरु अमिरीलाल मण्डल जस्तो  समर्पण भएको गुरूले पढाएको पाठशालाको शिष्य हौ । 

प्रिय शिष्य,

अहिले तिमीहरू पाँच सय भन्दा बढी कोरोना संक्रमित क्षेत्रका शिष्य हौ । अहिले तिमीहरु बसेको क्षेत्र सबै भन्दा बढी जोखिममा छ । अहिले महामारीको उद्गमस्थलमा  हामीहरु लडाईँ लडिरहेका छौँ । 

कामना छ हाम्रो सपरिवार स्वस्थ्य रहने छ, तिमीहरु जहाँ छौ सुरक्षित पढ्ने छौ । पाठशालाको गतिविधि ठप्प छ । होम स्कुलिंग, रेडियो शिक्षा, टेलिभिजन शिक्षा, अनलाइन कक्षा लगायत विकल्पबाट कक्षा सञ्चालन गर्न सकिन्छ । तर त्यसका लागि सरकारले आधार खडा गर्नुपर्छ । आधा समय सकिएको छ । तिमीहरू बसेका गाउँका गाउँलेहरुले मटिहानी पढेका र नपढेकाहरूको तुलना गरिरहेका छन् । गाउँलेले तिमीहरूको परीक्षा नजानिँदो तरिकाले लिइरहेका छन् । त्यसमा तिमीहरु खरो उत्रिने छौ । तिमीहरु त  पाठशालाका उत्पादन ध्यान केन्द्र र ज्ञान केन्द्रका शिष्य हौ । संस्कृत शिक्षा देवकार्य पितृ कार्यका लागि मात्र होइन संस्कार र चरित्र निर्माण गर्ने र विज्ञानलाई पनि चुनौति दिने ज्ञानको भण्डार भएका शिष्य हौ । नेपाली, मैथिली, भोजपुरी लगायत नेपालमा बोलिने मातृभाषाको जननी संस्कृत भाषाका संवाहक हौ ।

संस्कृत शिक्षालाई प्रविधि मैत्री बनाउन अपरिहार्य छ । यस विषयमा पाठशाला लगौटी कसेर लागेको छ । आगामी दिनमा तिमीहरुले गुरु सोमनाथ गौतमको भाषामा विगतले वर्तमानलाई सचेत बनाउँछ, प्रत्येक वर्तमानले भविष्यको संकेत गर्छ भने झैँ पाठशाला फर्किँदा यसका केही झलकहरु देख्नेछौ । प्रविधिको प्रयोग गर्ने प्रव्रिधिमा  शिक्षक र विद्यार्थीको पहुँच पुर्याउने प्रतिबद्धता जाहेर गर्दछु । त्यसका लागि पाठशालामा पढेका पूर्व शिष्य, सरकारी, गैरसरकारी संघसंस्थाहरुसँग समन्वय गरी अगाडि बढाउने छु ।

तिमीहरू असल, ज्ञानी र महान बन्ने उद्देश्यमा मेरो साथ र सहयोग हुनेछ । म तिमीहरूको समस्या समाधानमा सदैव तत्पर रहने छु । तिमीहरूको उज्जवल भविष्यका निम्ति आफ्नो क्षमताले भेटे सम्म लागिरहने प्रतिवद्धताका साथ बिदा हुन चाहन्छु । 

उही तिमीहरुलाई माया गर्ने 

प्राचार्य

पौडेल वि.सं १७७५ सालमा स्थापना भएको मटिहानी नगरपालिका ७, महोत्तरी स्थित राजकीय संस्कृत माविका प्राचार्य हुन् 

प्रतिक्रिया