Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

२३ दिन पछि बल्ल सरकारको चासो

मंगलबार, २० असोज २०७७

काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रको वेथिती विरुद्ध सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसीका मागहरु प्रति सरकारले २३ दिन पछि बल्ल चासो दिएको छ । शिक्षा सचिव गोपीनाथ मैनाली, सहसचिव दीपक शर्मा र उपसचिव लक्ष्मी खड्का सहितको सरकारी कर्मचारीको टोलीले केसीलाई भेटी अनसन तोड्न आग्रह गरेको छ । 

स्वास्थ्य शिक्षाको विषयमा केसीले अघि सारेको माग नागरिकका पक्षमा रहेको तर राज्य केसी प्रति अनुदार रहेको भन्दै आलोचना बढ्न थाले पछि सरकारले टोली खटाएको हो । केसीका पक्षमा दैनिक प्रदर्शन सहित सत्ताधारी बाहेकका राजनीतिक दल, समाजका विभिन्न पेशाका व्यक्तिहरुले राज्यलाई गम्भिर हुन दवाव र आग्रह गर्दै आएका छन् ।    

शिक्षण अस्पताल महाराजगञ्जमा १९ औं सत्याग्रह गर्दै आएका केसीलाई भेट्न दिउँसो पुगेको टोलीले अहिलेको प्राथमिकता अनसन नभई जनजीवनको रक्षा गर्नु रहेकोले फिर्ता गर्न आग्रह गरेको थियो । जवाफमा केसीले यत्ति कुरा भन्न आउनै नपर्ने स्मरण गराएका थिए । अनसन तोड्न सरकारका प्रवक्ताले भनि सकेकोले यो कुरा दोहोर्याउन जरुरी नभएको उनको भनाई थियो । देश महामारीसँग जुधिरहेको अवस्थामा अनसन बस्ने र आफ्नो स्वास्थ्यलाई थप जोखिम नबनाउन आग्रह गरेको मैनालीले बताए । 

'हामी मुख्य २ कुरा सहित उहाँलाई भेट्न गएका थियौं, पहिलो स्वास्थ्य जोखिममा नधेकल्नुहोस् भन्न हो र दोश्रो कुरा अहिलेको प्राथमिकता अनसन हैन भन्न गएका हौं' मैनालीले भने, 'उहाँका कतिपय मागहरु पुरा भईसकेका र कतिपय पुरा हुने क्रममा कतै डिपीआर बनेको, कतै पूर्वाधार बन्दै गरेको अवस्था छ, त्यसैले अहिले अनसन फिर्ता दिलनुहोस् भन्ने मै हाम्रो जोड रह्यो ।'

तर, केसीले आफ्ना तर्फबाट वार्ता टोली तयार रहेकोले सरकारले पनि औपचारिक वार्ता टोली गठन गरेर मात्रै आउन भनेका छन् । मैनालीले सरकारका तर्फबाट ६ मिनेट जति बोले पछि केसीले ३ मिनेटमा आफ्ना माग पुरा नभएसम्म सत्याग्रह जारी रहने  बताएका थिए । 

केसीको ११ औ सत्याग्रहका बेला प्रधानमन्त्री कार्यालयमा रहेका मैनाली सहितको टोलीले उतिखेर केसीसँग वार्ता गरेको थियो । संयोग नै मान्नु पर्छ मैनाली शिक्षा सचिव भएका बेला केसीको १९ औं सत्याग्रह जारी छ । तर उतिखेर र अहिलेको सन्दर्भ फरक रहेको मैनाली बताउँछन् ।

'उतिखेरका अधिकाँश माग स्वास्थ्य शिक्षा सँग सम्बन्धित थिए, अहिलेका मागका बारेमा त तपाई पनि जानकार नै हनुहुन्छ' मैनालीले भने ।

तर, पटक पटक आफूसँग गरेको सहमती पालना प्रति राज्य उदासीन भएको भन्दै आक्रोशित केसीले जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा गत भदौ २९ गतेबाट १९ औं सत्याग्रह शुरु गरेका थिए । पछि उनलाई हेलिकप्टरमा हालेर सरकारले काठमाडौं ल्याएको थियो । 

यसैबिच डा. पिताम्बर शर्मा, नारायण ढकाल, अरुण उप्रेती लगायतका १५ जना लेखक / बुद्धिजीवीले केसीका मागहरुलाई अविलम्ब सम्बोधन गरी केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् । अपिल जारी गर्नेमा शर्मा, ढकाल, उप्रेती सहित डा. कैलाशनाथ प्याकुरेल, डा. महेश मास्के, विमल निभा, डा. सुरेश ढकाल, डा. सरोज धिताल, सरिता तिवारी, धनकुमारी सुनार, कोमल भट्टराई, सुदीप श्रेष्ठ, सोमत घिमिरे, प्रकाश राई र हरि रोका छन् ।

फोटो : केसीको फेसबुकबाट 

प्रतिक्रिया