Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

२४ दिनमा बल्ल वार्ता टोली गठन

बुधबार, २१ असोज २०७७

काठमाडौं - चिकित्सा शिक्षाको वेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले टोली गठन गरेको छ । सत्याग्रहको २४ औं दिनमा सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । 

केसीका माग प्रति सरकार उदासिन भएको भन्दै चिकित्सक संघले बिहीबार देखि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गरेको केही बेरमा सरकारले वार्ता टोली बनाएको हो । संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधबार बेलुका सकिएको छ । 

सत्याग्रहको २३ औं दिनमा सरकारले केसी प्रति चासो देखाएको थियो । शिक्षा सचिव मैनालीले केसीलाई भेटेर सत्याग्रह तोड्न आग्रह गरेका थिए । गत भदौ २९ गते जुम्लाबाट केसीले १९ औं सत्याग्रह शुरु गरेका थिए । 

पढ्नुहोस् :  राज्य उदासीन भएको प्रति आक्रोश व्यक्त गर्दै सत्याग्रह शुरु

अपडेट : यसैबिच सरकारले टोली गठन गरे लगत्तै केसीको तर्फबाट पनि वार्ता टोली गठन भएको सार्वजनिक गरिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेको टोली गठन भएको जनाईएको छ ।

फोटो : केसीको फेसबुकबाट 

 

प्रतिक्रिया