Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

अहिलेको संयन्त्रबाट समस्या हल हुँदैन : शिक्षा मन्त्री पोखरेल

बुधबार, १९ कार्तिक २०७७

काठमाडौं - अभियानात्मक रुपमा काम नगर्ने हो भने अहिलेको संयन्त्रबाट मात्रै मधेसका शिक्षाका समस्या हल हुन नसक्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । प्रदेश २ मा खस्कदों शैक्षिक अवस्थालाई उकास्न आवश्यक नीतिगत पैरवी गर्नका लागि शिक्षा नीति तथा अभ्यास केन्द्रले सरोकारवालाहरु बिच गरेको 'मधेशमा शिक्षाका सवालहरु' विषयक भर्चुअल अन्तरक्रियामा बोल्दै मन्त्री पोखरेलले उक्त धारणा व्यक्त गरेका हुन् । 

कुनै बेला ज्ञानको सन्दर्भमा जागृत मानिने मधेस क्षेत्र किन शिक्षामा पछि परेको हो ? भन्ने विषयलाई सामाजिक, आर्थिक र उत्पादनसँग जोडेर विश्लेषण गर्न जरुरी रहेको उनको भनाई छ । त्यसैले अहिलेकै संयन्त्रबाट मात्रै त्यो सम्भव नभएको उनले बताए ।   

'अहिलेको मेकानिजमबाट मात्रै मधेसका शिक्षाका सवाल हल हुँदैन' मन्त्री पोखरेलले भने 'अभियानात्मक रुपमा नलागी सफल हुँदैन, त्यो अभियानलाई सपना विपना बनाएर अघि बढ्न जरुरी छ ।'

देशको परिवर्तित संरचना र व्यवस्था अनुसार तीन तहका सरकारले शिक्षाका सवालमा मिलेर काम गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई छ । तर, कसरी अभियान गर्ने भन्ने बारेमा अन्तरक्रियाले समेत उपयुक्त अवधारणा दिने अपेक्षा गरेको बताउँदै उनले शिक्षालाई श्रम, सीप, उत्पादन र समृद्धिसँग जोड्नु पर्ने विषयमा जोड दिए । 

शिक्षाको स्वामित्व कसको हो ? भन्ने प्रश्नको उत्तर खोज्न जरुरी रहेको अवस्थामा तीन तहका सरकारबाट दह्रो साथ सहित सुधार हुने उनको दावी छ । 

आफ्नो धारणा व्यक्त गर्ने क्रममा मन्त्री पोखरेलले यस अघि देखि नै व्यक्त गर्दै आएको प्रधानाध्यापकको भूमिका बदल्न र शिक्षकलाई पेशा प्रति प्रतिवद्ध बनाउन नसके सम्म समस्या हल नहुने धारणा समेत दोहोर्याए । 

'विगतमा निरंशुकता विरुद्धको आन्दोलनमा शिक्षकहरु सहभागि  भए पनि अहिले हिजोको ठाउँमा छैनौं' उनले भने 'त्यसैले शिक्षकहरुले आफ्नो दायित्व सहित जिम्मेवार बन्नुको विकल्प छैन ।'

कार्यक्रममा शिक्षा र अधिकारका क्षेत्रमा आवद्ध विभिन्न व्यक्तिहरुले आ-आप्नो प्रस्तुती दिएका थिए ।  मधेसको अवस्था मुलुकको अन्य भागको भन्दा पृथक भएकोले सोही अनुसार फरक ढंगबाट सोच्नु जरुरी रहेको उनीहरुको धारणा छ । कुनै बेला राज्यले एक देश एक भाषाको अवधारणा अपनाएका कारण पनि मधेस विस्तारै शिक्षामा पछाडि धकेलिएको वक्ताहरुको समान धारणा थियो । मधेसमा विद्यमान सांस्कृतिक, सामाजिक, राजनीतिक विभेद र अवस्थाका कारण शिक्षामा वञ्चितीकरण बढ्दै गएको उनीहरुको धारणा छ । 

प्रदेश २ मा विद्यालय जाने उमेरका बालबालिका मध्ये ५० प्रतिशत बालबालिका अझै पनि विद्यालय बाहिरै रहेको सरकारी तथ्याङ्क छ । खास गरी सामाजिक विभेद र आर्थिक रुपमा पिछडिएका कारण यस्तो अवस्था आएकोले यसलाई राज्यले विशेष रुपमा सम्बोधन गर्न जरुरी रहेको वक्ताहरुको धारणा थियो । 

सामाजिक अभियन्ता डा. सुरेन्द्र लाभले मधेसमा शिक्षा खस्केको विषय पक्का भएकोले अब के गर्ने भन्ने बारेमा चर्चा र समाधानको उपाय निकाल्न जरुरी रहेको बताए । छलफलमा उठेका विषयलाई लिपिवद्ध गरी नीति निर्माण तहमा लविङ् गर्ने अवधारणा रहेको आयोजक संस्थाका सदस्य सचिव टीका भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया