Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
शिक्षामा यो साता

विद्यालय खुलेपछि विद्यार्थी खुसी

आइतबार, २१ मंसिर २०७७

काठमाडौं - कोभिड १९ संक्रमण जोखिमका कारण बन्द भएका विद्यालयहरु पुनः खुल्न थालेको, कक्षा १२ र उच्च शिक्षाको परीक्षा, पाठ्यक्रम, अन्तरर्राष्ट्रिय शिक्षा, शिक्षक, अनुदान तथा भौतिक पूर्वाधारका विषय गत साता भरीका मुख्य समाचार हुन् । 

विद्यालय पुनःसञ्चालन निर्देशिका अनुसार विद्यालय खोल्ने अधिकार स्थानीय पालिकालाई दिए पछि सामुदायिक तथा संस्थागत विद्यालयहरु खुलेको विषयका थुप्रै समाचार प्रकाशन भएका छन् । विद्यार्थीले खुसी भएको बताएका छन् । यद्यपी हिमाली क्षेत्रका विद्यालयहरुको भने पाठ्यपुस्तक नै नखोली शैक्षिक सत्र सकिएको छ ।

संक्रमण जोखिम उच्च नै रहे पनि विद्यालयहरुले कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाएका छन् । यस्तै धेरै लामो समय पछि विद्यालय खुलेपनि विद्यार्थीमा कोरोना संक्रमण हुने डर भने कायमै छ ।

हुम्लाको नाम्खा गाउँपालिकाका विद्यार्थीमा देखिएको कोरोना सङ्क्रमण निको भएको सुखद समाचार आएको छ र गाउँपालिकाले यथासम्भव छिटो विद्यालय पुन सञ्चालन गर्ने जनाएको छ । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिकाका विद्यालय सञ्चालन भएको केही दिनमै कोरोना संक्रमण भएकाले पुनः बन्द गरिएको छ । यस्तै उपत्यकामा विद्यालय खोल्ने नखोल्ने विषयमा वहस भइरहेको छ । 

तस्वीर १ः कोभिड महामारीको बीचमा भएको कक्षा १२ को परीक्षामा मास्क सहित विद्यालयको बाहिर परीक्षा दिदै गएका एक परीक्षार्थी । 

गत साताभरी कक्षा १२ को परीक्षासँग सम्बन्धित थुप्रै समाचार, पाठक पत्र, तस्वीर तथा सम्पादकीय प्रकाशित भए । सम्पादकीयमा परीक्षा बोर्डले विद्यार्थीको क्षति भएको समय मिलान गर्नका लागि पनि नतिजा प्रकाशनका लागि अतिरिक्त समय लगाउन नहुने उल्लेख गरिएको छ । लामो समय पछि भएको परीक्षामा विद्यार्थी अनुभवलाई समेटेर समाचार आलेख पनि प्रकाशित भएको छ । कक्षा सकिएको लामो समय पछि भएको परीक्षा र शैक्षिक सत्र नगुम्ने गरी परीक्षा भएकोले विद्यार्थी उत्साहित भएको विषय पनि आलेखमा समावेश गरिएको छ । 

यसै गरी कक्षा १२ को परीक्षा सञ्चालनका लागि गरिएको स्वास्थ्य सावधानी व्यवस्थापन र विद्यार्थीले परीक्षाका मर्यादा उल्लघन गरेको विषय पनि प्रकाशित भएका छन् ।

यस्तै अन्य समाचारमा त्रिभुवन विश्वविद्यालयले कोभिडका कारणले रोकिएका परीक्षाहरु विद्यार्थीको भौतिक उपस्थितिमै लिने तयारी गरेको छ । केही संस्थान तथा विभागले परीक्षा सञ्चालन गरिसकेका छन् भने केहीले मंसिरको अन्तिम साताबाट गर्ने भएका छन् । काठमाडौं विश्वविद्यालयले यस अघि नै अनलाइनबाटै परीक्षा सञ्चालन गरिसकेको समाचारमा उल्लेख छ । 

यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन परीक्षामा कर्णालीका ग्रामीण क्षेत्रका विद्यार्थी पनि सहभागी भएका छन् । महामारीका कारणले विश्वविद्यालयले इमेलबाट परीक्षा लिएको हुँदा विद्यार्थीले घरबाटै परीक्षा दिएका छन् । परीक्षा व्यवस्थापन कार्यालयका अनुसार अण्डरग्राजुएट तहका पहिलो, तेस्रो र पाँचौ तथा पोष्ट ग्राजुएट तहका पहिलो सेमेष्टरका सात हजार पाँच सय ५५ जना विद्यार्थी परीक्षामा सहभागी भएको समाचारमा उल्लेख गरिएको छ । 

यस्तै भक्तपुरको नेपाल इञ्जिनियरिङ कलेजको भ्रष्टाचार सम्बन्धी विषय पनि समाचारको रुपमा प्रकाशित भएको छ । कलेज सञ्चालनमा आर्थिक अनियमितता गरेको अभियोग लागे पछि फरार भएका कलेजका तत्कालिन अध्यक्ष लम्बोदर कुमार न्यौपानेलाई  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको छ । कलेजमा देखिएको २३ करोड १० लाख २३ हजार चार सय ४३ रुपैंया बेरूजु आर्थिक अनियमितताका कारण देखिएको र न्यौपानेले मात्रै तीन करोड ७१ लाख ५३ हजार छ सय ५० रुपैंया बेरूजु रकम ठगी गरेको अभियोग लाग्दै आएको छ । आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैंया घुस दिएको प्रमाण सार्वजनिक भए पछि पाठकले पदबाटै राजीनामा दिनुपरेको थियो ।

तस्वीर २ : ललितपुरको खोकनामा विद्यालय खुले पछि फेस सिल्ड र मास्क सहित विद्यालयमा उपस्थित विद्यार्थी । 

यस्तै अन्तर्राष्ट्रिय समाचारको रुपमा संयुक्त अधिराज्यका कलेजहरुले विद्यार्थीलाई विश्वविद्यालय आउन कोभिड भाइरसका सम्बन्धमा नयाँ प्रोटोकल जारी गरेका छन् । यस्तै अर्को समाचार अनुसार कोभिड १९ को खोप उपलब्ध नहुँदासम्मका लागि भारतको दिल्लीका विद्यालय बन्द हुने भएका छन् । राज्य सरकारका अनुसार भाइरसको खोप उपलब्ध नहुँदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भनिएको छ । 

अर्को एक समाचार अनुसार सर्वोच्च अदालतमा लामो समय देखि मुद्धा विचाराधिन रहँदा कक्षा १ देखि ११ सम्मको नयाँ पाठ्यक्रम कार्यान्वयनमा द्विविधा उत्पन्न भएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीहरुले यसलाई कानुनी वैधानिकताको विषय भन्दा पनि व्यवसायिक रुचिको कारण उल्लेख गरेका छन् । निजी विद्यालय सञ्चालकहरुले नयाँ पाठ्यक्रमको शुरु देखि नै विरोध गर्दै आएका थिए । शिक्षा विज्ञहरुले समय अनुसार हरेक दश वर्षमा पाठ्यक्रम परिवर्तन गर्नुपर्छ भनेका छन् तर शैक्षिक सुधार भन्दा व्यापारिक लाभका लागि यसो गरिएको हो । उच्च माध्यमिक विद्यालय एसोसियसनका अध्यक्षले पाठकपत्र मार्फत सरकारले कठिन परिस्थितिमा जर्बजस्ती गरेको र पाठ्यक्रमको अभिमुखिकरण समेत संभव नभएको जनाएका छन् ।

यस्तै एक विचारमूलक आलेखमा उच्च शिक्षातर्फ शिक्षा विषय वेवास्ताको विषय बनिरहेको र अन्य विषय पढ्न र अन्य विषयमा राम्रो गर्न नसक्नेहरुको छनौटको विषय बनेको उल्लेख गरिएको छ । यो विषयले राम्रा विद्यार्थीलाई आकर्षित गर्न पनि नसकेको र पाठ्यक्रम तथा अन्य अभ्यासहरु पनि समयानूकुल अद्यावधिक छैनन् भनिएको छ । लेखकले शिक्षा अध्ययनमा समसामयिक सुधार गरेर राम्रा विद्यार्थीलाई आकर्षित गर्न सक्नुपर्छ भनेका छन् ।

यस्तै गत साताका अन्य समाचारहरुमा हार्वड विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षको रुपमा पहिलो पटक काला जातीका विद्यार्थी चुनिएको, काभ्रेमा ९० प्रतिशत विद्यालयको पुनर्निमार्ण सम्पन्न भएको, मनमोहन प्राविधिक विश्वविद्यालयको पारामेडिकल भवनको शिलन्यास गरिएको, ३० जना छात्रालाई रेडक्रसले छात्रवृति उपलब्ध गराएको र पर्सामा स्वचालित पिस्तोल सहित लेक्चर पक्राउ परेको विषय रहेका थिए ।

‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्स एवं अनलाईनहरु नयाँ पत्रिका, माई रिपव्लिका र सेतोपाटीमा मंसिर १० देखि १६ गते सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Students Happy to Return in Schools

प्रतिक्रिया