Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

संसद विघटन गैह्र संवैधानिक र बदनियतपूर्ण : शिक्षक महासंघ

मंगलबार, ०७ पुस २०७७

काठमाडौं - नेपाल शिक्षक महासंघले प्रतिनिधि सभाको विघटनलाई गैह्र सवैधानिक, गैह्र राजनीतिक लहडी र बदनियतपूर्ण रहेको ठहर गरेको छ । महासंघका सह अध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदी सहित महासंघमा आवद्ध र सम्बद्ध १२ संस्थाका प्रतिनिधिहरुले संयुक्त अपिल जारी गर्दै संवैधानिक उपलब्धिको रक्षा गर्न आह्वान गरेको छ । 

प्रधानमन्त्री केपी ओलीले गत आईतबार संसद विघटन गर्ने निर्णय गरेका थिए । महासंघको अपिलमा उक्त कार्यलाई लामो संघर्ष र उत्सर्गबाट प्राप्त उपलब्धिलाई अपमानित गर्दै आम जनअपेक्षा र परिस्थितिजन्य प्रतिकूलताको समेत ख्याल नगरी भएको कार्यको संज्ञा दिईएको छ । 

'प्रधानमन्त्री ओलीद्वारा गरिएको यो कार्य गैह्र संवैधानिक, गैह्र राजनीतिक हुनका साथै लहडी र बदनियतपूर्ण रहेको छ' अपिलमा भनिएको छ । 

राष्ट्रिय एकता, जनअधिकार र वर्तमानका राजनीतिक संवैधानिक उपलब्धिको रक्षाको पक्षमा सचेत र संगठित भई सक्रीय रहन पनि अपिलमा आह्वान गरिएको छ । 

अपिल सार्वजनिक गर्नेहरुमा नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक छन् । यस्तै अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानोभाइ कार्की, नेपाल राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमोदकुमार सिंह, संयुक्त शिक्षक फोरम नेपालका चुल्हाइ यादव, नेपाल शिक्षक मञ्चका अध्यक्ष भगवानदास चौधरी, मधेसी शिक्षक फोरम लोकतान्त्रिकका अध्यक्ष विष्णुकुमार चौधरी, लोकतान्त्रिक शिक्षक यूनियनका अध्यक्ष अतुलकुमार लाल, रमाकान्त चौधरी, विजयरत्न बज्राचार्य र बहादुर खड्का छन् । 

प्रधानमन्त्रीले संसद विघटन गरे लगत्तै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पनि राजिनामाको घोषणा गरिसकेका छन् । 

पढ्नुहोस् : निरीह शिक्षा मन्त्रीको अप्रत्याशित बर्हिगमन 

प्रतिक्रिया