Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

संसद विघटनको छैठौं दिनमा नयाँ शिक्षा मन्त्री, शहरी विकासबाट शिक्षामा सरुवा !

शुक्रबार, १० पुस २०७७

काठमाडौं - संसद विघटन भएकोमा आपत्ति जनाउँदै तत्कालिन मन्त्री गिरिराजमणि पोखरेलले राजिनामा दिएको छैठौँ दिनमा प्रधानमन्त्री केपी ओलीले आफ्ना 'वफादार' कार्यकर्ता कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्रीको जिम्मेवारी तोकेका छन् । सत्ताधारी दल भित्रको किचलोका कारण प्रधानमन्त्री ओलीले गत आईतबार संसद भंग गरेकोमा आपत्ति जनाउँदै पोखरेल सहित सात मन्त्रीले राजिनामा दिएका थिए । राजिनामा पछि खाली भएका मन्त्रालय सहित यस अघिका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरी ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेका हुन् । शुक्रबार ८ मन्त्री र १ राज्यमन्त्री थपिएका छन् भने ६ मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । 

संसद विघटन असंवैधानिक कदम भन्दै संवैधानिक अदालतमा मुद्दा चलिरहेका बेला ओलीले मन्त्रीमण्डल हेरफेर गरेका हुन् । प्रधानमन्त्रीको कदमका विरुद्ध चौतर्फी आलोचना जारी छ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टिको स्वामित्व कुन पक्षको हुने भन्ने विषय यकिन गर्न दुवै पक्ष निर्वाचन आयोगमा पुगेका छन् । यही बेला मन्त्रीमण्डल हेरफेर गरेर ओलीले आफ्नो कदम स्वभाविक भएको शन्देश दिने प्रयत्न गरेका छन् । 

गत असोज २८ गते भएको मन्त्रीमण्डल पुर्नगठनमा शहरी विकास मन्त्री बनाईएका श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मा दिएर ओलीले उनको ठाउँमा प्रभु साहलाई नियुक्त गरेका छन् । सत्ताधारी दल भित्रको किचलोका कारण पार्टि फुटमा पुगेपछि बिहीबार सम्म प्रचण्ड माधव पक्षमा रहेका साहलाई मन्त्री दिएर ओलीले आफ्नो कित्तामा ल्याएका हुन् । नयाँ थपिएका मन्त्रीहरुमा प्रचण्ड माधव खेमा छाडेर आएकालाई प्राथमिकता दिईएको छ । 

प्रतिनिधिसभाको गत निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ९ मा काँग्रेस नेता ध्यान गोविन्द रंजितलाई हराएर सांसद भएका श्रेष्ठले २२ हजार ८ सय ५२ मत प्राप्त गरेका थिए । कांग्रेसका रंजितले १४ हजार ८ सय २ मत ल्याएका थिए भने तत्कालिन विवेकशील साझा पार्टीका मिलन पाण्डेले ४ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए । 

श्रेष्ठ तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । पछिल्लो समय उनलाई उपत्यकाको जिम्मेवारी तोकिएको थियो । २०३५ सालमा अनेरास्ववियु हुँदै तत्कालिन नेकपा मालेको संगठित सदस्य बनेका श्रेष्ठ २०३७ सालमा अनेरास्ववियुले गरेको संघर्षमा अग्र मोर्चामा रहेर सकृय थिए । २०३८ सालमा पार्टीको काठमाडौं जिल्ला कमिटी सचिव २०४२ सालमा भक्तपुर र २०४६ सालमा ललितपुरको पार्टी सचिव भएका थिए । २०४७ सालमा अखिल नेपाल किसान संघको सचिव भएका श्रेष्ठ २०५४ सालदेखि तत्कालिन नेकपा एमालेको केन्द्रीय सदस्य थिए । 

२०४८ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका उनी २०५१ को आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भ एभने २०५६ मा काठमाडौं ९ मा पराजित भएका थिए । २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा पनि उनी त्यही क्षेत्रबाट हारेका थिए । तत्कालिन माओवादीसँग एकतापछि गत चुनावमा भने उनी त्यही क्षेत्रबाट विजयी भएका हुन् । २०६१ सालमा उनी स्थानीय विकास राज्यमन्त्री भएका थिए । 

शुक्रबार भएको मन्त्री मण्डल हेरफेरमा प्रधानमन्त्री ओलीले खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् । विश्वकर्माको ठाउँमा दावा लामा र दुगडको ठाउँमा विमला विश्वकर्मालाई ल्याईएको छ । थपिएका नयाँ मन्त्रीमा टोपबहादुर रायमाझीलाई उर्जा, मणि थापालाई खानेपानी र प्रेम आलेलाई वन मन्त्री बनाएका छन् । त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासन, गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पर्यटनमा र संघीय मामिला मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्यमा सरुवा गरेका छन् । जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् । यस अघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानून मन्त्री शिवमाया तुम्बाहाङ्फे भूमि व्यवस्था मन्त्री मन्त्री बनेकी छन् । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र राज्य मन्त्रीहरुले प्रधानमन्त्री ओली समक्ष पद तथा गोपनीयताको शपथ खाएका छन् । 

नयाँ मन्त्रीमण्डलको विवरण यस प्रकार छ : 

प्रतिक्रिया