Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

फागुन २३ देखि शिक्षकलाई कोभिड विरुद्धको खोप

आइतबार, ०९ फागुन २०७७

काठमाडौं - सरकारले आगामी फागुन २३ गते देखि शिक्षकहरुलाई कारोना भाईरस (कोभिड - १९) विरुद्धको खोप दिने भएको छ । भारतको सेरम इन्ष्टिच्युटसँग खरिद गरिएको २० लाख डोज मध्ये १० लाख डोज खोप आइतबार आएसँगै यो चरणमा शिक्षकहरु समेटिएका हुन् । 

महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले यो चरणमा खोप लगाउन पाउनेछन् । बालबालिकाको प्रत्यक्ष सम्पर्कमा आउने वर्ग भएर पनि शिक्षकहरुलाई प्राथमिकतामा नराखिएको भन्दै आलोचना भईरहेका बेला यस्तो निर्णय भएको हो । 

स्वास्थ्य मन्त्रालयका सचिव सहित शनिबार बसेको विशेषज्ञ लगायतका सरोकारवालाहरुको बैठकले अहिले सम्म सञ्चालन भएको खोप अभियानको प्रगती पुनरावलोकन र समिक्षा गरी विभिन्न निर्णय गरेको हो । 

मन्त्रालयले फागुन २३ गतेबाट जेष्ठ नागरिकलाई पनि खोप दिने निर्णय गरिसकेको छ । औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ कर्मचारीहरुले ९ र १० फागुनमा खोप पाउने छन् ।
भारतले अनुदानमा १० लाख डोज खोप दिए पछि गत माघ १४ गते देखि नेपालमा खोप अभियान सुरु भएको हो । 

प्रतिक्रिया