Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक महासंघमा नयाँ विवाद : निवृत्त व्यक्ति स्वतः पदमुक्त हुने निर्णयको विरुद्धमा संगठन

सोमबार, ०२ चैत्र २०७७

काठमाडौं - सेवा निवृत्त व्यक्ति स्वतः पदमुक्त हुने गरी नेपाल शिक्षक महासंघको विशेष राष्ट्रिय परिषद् बैठकले गरेको निर्णयको विरुद्धमा महासंघको एक घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले आफ्नो धारणा सार्वजनिक गरेको छ । परिषद् बैठकको निर्णय कार्यान्वयनका लागि प्रदेश जिल्ला र स्थानीय समितिमा परिपत्र गरेको २४ घण्टा नबित्दै संगठनको धारणा सार्वजनिक भएको हो । यो सँगै महासंघमा नयाँ विवाद शुरु भएको छ । गत फागुन २९ गते बसेको परिषद् बैठकको निर्णय कार्यान्वयनका लागि महासंघका सह अध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीले परिपत्र गरेका थिए । 

तर उक्त परिपत्र प्रति आपत्ति जनाउँदै संगठनका महासचिव हंसबहादुर शाहीले सोमबार जारी गरेको विज्ञप्तिमा वर्तमान नेतृत्व यथावत कायम राख्न माग गरेको स्मरण गराईएको छ । सेवाबाट निवृत्त भएर पनि केन्द्रिय अध्यक्षले नेतृत्व नछाडेका कारण उत्पन्न विवादलाई निरुपण गर्न गत फागुन १४ गते भएको सहमती विपरित परिपत्र गरिएको विज्ञप्तिमा उल्लेख छ । 

उक्त विवाद समाधान गर्न गत फागुन २९ गते सम्पन्न महासंघको विशेष राष्ट्रिय परिषद्ले विधानमा भएको व्यवस्था र यस अघिको सहमती विपरित अध्यक्ष कायम रहिरहने बाबुराम थापाको ईच्छालाई रोकेको थियो । तर परिषद्को उक्त निर्णयलाई चुनौती दिदैं शाहीले जारी गरेको विज्ञप्तिमा परिपत्र जारी गरेका सहअध्यक्ष दवाडीको हस्ताक्षर प्रति पनि प्रश्न उठाईएको छ । 

हेर्नुहोस् विज्ञप्ति : 

शाहीद्वारा जारी यो विज्ञप्तिमा उल्लेख मिति चैत २ हुनु पर्नेमा अन्यथा भएको छ । 

आफू निवृत्त हुने भए पछि एक बर्ष कार्यकाल बढाउने गरी अध्यक्ष थापाले विधानमा गरेको संशोधनका कारण महासंघमा विवाद हुँदै आएको थियो । आफू निवृत्त हुन ६ महिना बाँकी छँदा थापाले गत बर्ष असोज ४ र ५ गते बसेको परिषद् बैठकबाट कार्यकाल थप गर्ने र निवृत्त भए पनि पदमा बस्न पाइने २ बुँदा पास गराएका थिए । थापा गत चैत ३० गते सेवाबाट निवृत्त भईसकेका छन् । त्यस लगत्तै महासंघ आवद्ध १४ संगठन मध्ये महासंघमा थापाले प्रतिनिधित्व गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन र  संस्थागत विद्यालय शिक्षक युनियन बाहेकका संगठन उनको शैलीको विरुद्धमा उभिए पछि परिषद् बैठकबाट सेवा निवृत्त व्यक्ति स्वतः पदमुक्त हुने निर्णय भएको थियो । 

थापा संगठनको अध्यक्ष हुँदाका महासचिव एवं थापाका विश्वास पात्र लक्ष्मण शर्मा अहिले संगठनका अध्यक्ष छन् भने यूनियनको अध्यक्षमा थापाकै भाइ होमकुमार थापा छन् । पेशागत संगठनमा पेशामै नभएको व्यक्ति नेतृत्वमा भए पछि बढेको आलोचना र महासंघ आवद्ध घटकहरु मध्ये अधिकाँशको विरोध जारी हुँदा समेत पद नछाड्न थापाले विभिन्न विवाद निकालिरहेको महासंघका एक नेता  बताउँछन् । 

'उहाँलाई पहिले नै पद छाड्न मन थिएन त्यसैले असोजमै परिषद् बैठक राखेर निवृत्त भए पनि पदमा बस्न पाइने विवादित २ बुँदा पास गराउनु भएको थियो' ति नेता भन्छन्, 'पेशामै नभएको व्यक्ति नेतृत्वमा हुनु लाजमर्दो भएको भन्दै चौतर्फि आलोचना भए पछि लाज टार्न परिषद्मा सहमती जनाउनु भएको थियो, आज फेरी संगठनको काँधमा बन्दुक राखेर आफ्नो पद लम्ब्याउने प्रपञ्च रच्नु भएछ ।' 

परिषद् बैठकबाट पास भएको कुरा मानेर अघि बढ्दा नै अहिले सम्म खस्केको थापाको शाख कायम रहन सहयोग पुग्ने ति नेता सुझाव दिन्छन् । बरु संगठनबाट अध्यक्षका रुपमा प्रतिनिधित्व गर्ने व्यक्तिको नाम जतिसक्दो छिटो पठाएर नेतृत्व हस्तान्तरण गर्नु सम्पूर्ण शिक्षकको हितमा हुने ति नेताको भनाई छ । 

महासंघको नेतृत्व पदीय लोभ लालचमा फस्दै जाँदा शैक्षिक विषय र शिक्षक हक हितका मुद्दा ओझेलमा परेका छन् । गत असोज देखि खाली रहेको शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिमा शिक्षा मन्त्रीले गरिरहेको अर्घेल्याईंले बढुवा कुरेर बसेका हजारौं शिक्षकको वृत्ति विकास अवरुद्ध भएको छ । यस तर्फ महासंघको कुनै चासो सार्वजनिक भएको छैन । नयाँ आयोग नखुल्दा हजारौं शिक्षक हुन ईच्छुक योग्य व्यक्तिको भविष्य अन्योल भएको छ । यसले बालबालिकाको पठनपाठनमा नकारात्मक प्रभाव पारेको छ । यस्ता विषयमा आवाज वुलन्द पार्नु पर्ने बेला महासंघमा तन्किरहेको पदीय लालच लाजमर्दो छ । 

प्रतिक्रिया