Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

शिक्षक महासंघमा नयाँ नेतृत्वको बाटो खुल्यो, सेवा निवृत्त व्यक्ति स्वतः पदमुक्त

सोमबार, ०२ चैत्र २०७७

काठमाडौं - नेपाल शिक्षक महासंघको कुनै पनि तहका समितिमा रहेका सेवा निवृत्त व्यक्ति स्वतः पदमुक्त हुने भएका छन् । सेवाबाट निवृत्त भएर पनि केन्द्रिय अध्यक्षले नेतृत्व नछाडेका कारण उत्पन्न विवादलाई निरुपण गर्दै गत फागुन २९ गते सम्पन्न महासंघको विशेष राष्ट्रिय परिषद्ले यस्तो निर्णय गरेको हो । यो निर्णयले विधानमा भएको व्यवस्था र यस अघिको सहमती विपरित अध्यक्ष कायम रहिरहने बाबुराम थापाको ईच्छालाई रोक्दै नयाँ नेतृत्वको बाटो खुला गरेको छ । 

आफू निवृत्त हुने भए पछि एक बर्ष कार्यकाल बढाउने गरी अध्यक्ष थापाले विधानमा गरेको संशोधनका कारण महासंघमा विवाद हुँदै आएको थियो । आफू निवृत्त हुन ६ महिना बाँकी छँदा थापाले गत बर्ष असोज ४ र ५ गते बसेको परिषद् बैठकबाट कार्यकाल थप गर्ने र निवृत्त भए पनि पदमा बस्न पाइने २ बुँदा पास गराएका थिए । थापा गत चैत ३० गते सेवाबाट निवृत्त भएका थिए । त्यस लगत्तै महासंघ आवद्ध १४ संगठन मध्ये महासंघमा थापाले प्रतिनिधित्व गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन र  संस्थागत विद्यालय शिक्षक युनियन बाहेकका संगठन उनको शैलीको विरुद्धमा थिए । 

झण्डै एक बर्ष चलेको यो विवाद निरुपण गर्न गत फागुन १४ गते सहमती गरिएको थियो । 

पढ्नुहोस् उक्त सहमती : शिक्षक महासंघ नेतृत्व विवाद समाधानको सहमती

सोही सहमतीका आधारमा परिषद् बैठक बसेको हो । 

परिषद्को निर्णय सँगै थापाको कार्यकाल सकिएको छ । अब नेपाल राष्ट्रिय शिक्षक संगठनले अध्यक्ष हुने व्यक्तिको नाम नपठाईञ्जेल सहअध्यक्ष पूर्ण प्रसाद दवाडीले महासंघको नेतृत्व गर्ने छन् । संगठनले एक साता भित्र अध्यक्षको नाम पठाउने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । 

महासंघ परिषद्ले सबै तहका समितिको कार्यकाल फागुन २९ गतेबाट लागू हुने गरी ६ महिना थप गरेको छ । थप गरिएको अवधिमा सबै तहका अधिवेशन सक्नु पर्ने छ । 

विगतमा महासंघसँग सरकारले गरेका सम्झौता कार्यान्वयनका लागि संवाद शुरु गर्ने पनि परिषद्ले निर्णय गरेको छ । यसका लागि मंगलबार संवाद समितिको बैठक राखिएको छ । आफूहरुसँगका सहमती सम्बोधन हुने गरी शिक्षा ऐन जारी गराउनका लागि कडा पक्षीकरण गर्ने पनि परिषद्ले निर्णय गरेको छ । 

परिषद्को ६ बुँदे उक्त निर्णय आवश्यक कार्यान्वयनका लागि प्रदेश जिल्ला र स्थानीय समितिमा परिपत्र गरिएको महासचिव सुवेदीले जानकारी दिए । 

प्रतिक्रिया