Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

शिक्षक महासंघ नेतृत्व विवाद समाधानको सहमती

सोमबार, १७ फागुन २०७७

काठमाडौं - सेवाबाट निवृत्त भएर पनि अध्यक्षले नेतृत्व नछाडेका कारण नेपाल शिक्षक महासंघमा उब्जेको विवाद समाधान गर्ने गरी सहमती गरिएको छ । विधानमा भएको व्यवस्था र यस अघिको सहमती विपरित बाबुराम थापाले  अध्यक्ष पद नछाडे पछि उब्जिएको विवाद समाधान गर्न सोमबार चार बुँदे सहमती भएको हो । 

आफू निवृत्त हुने भए पछि एक बर्ष कार्यकाल बढाउने गरी अध्यक्ष थापाले विधानमा गरेको संशोधनका कारण महासंघमा विवाद हुँदै आएको थियो । आफू निवृत्त हुन ६ महिना बाँकी छँदा थापाले गत बर्ष असोज ४ र ५ गते बसेको परिषद् बैठकबाट कार्यकाल थप गर्ने र निवृत्त भए पनि पदमा बस्न पाइने २ बुँदा पास गराएका थिए । परिषद्मा प्रस्तुत १० बुँदे संशोधन प्रस्तावमा समेटिएका अन्य बुँदामा सहमती भए पनि उल्लेखित दुई बुँदा प्रति शिक्षक संघले जनाएको विमतीका कारण थापा विवादमा परेका थिए ।

गत चैत ३० गते सेवाबाट निवृत्त भए पनि महासंघको अध्यक्षका रुपमा सार्वजनिक कार्यक्रममा थापाको सहभागिता निरन्तर थियो । यही बिचमा आन्तरिक किचलोका कारण विभाजन उन्मुख भएको सत्ताधारी दलको दुई गुट मध्ये थापालाई केपी ओलीले आफ्नो गुटको केन्द्रिय सदस्य बनाएका थिए । 

महासंघ आवद्ध १४ संगठन मध्ये महासंघमा थापाले प्रतिनिधित्व गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन र  संस्थागत विद्यालय शिक्षक युनियन बाहेकका संगठन उनको शैलीको विरुद्धमा थिए । आफू संगठनको अध्यक्ष हुँदाका महासचिव एवं थापाका विश्वास पात्र लक्ष्मण शर्मा अहिले संगठनका अध्यक्ष छन् भने यूनियनको अध्यक्षमा थापाकै भाइ होमकुमार थापा अध्यक्ष छन् । पेशागत संगठन भए पनि पेशामै नभएको व्यक्ति नेतृत्वमा भए पछि बढेको आलोचना र महासंघ आवद्ध घटकहरु मध्ये अधिकाँशको विरोध पछि थापा यो सहमती गर्न वाध्य भएको महासंघका एक नेताले बताए । 

थापाको उक्त शैली विरुद्ध शुरु देखि नै  विमती जनाउँदै आएको नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शर्मा र सहजीकरण कार्यदलका संयोजक सानोभाइ कार्कीले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहमती पत्रमा थापाको पनि हस्ताक्षर छ । 

सहमती पढ्नुहोस् : 

यो सहमतीसँगै आगामी फागुन २९ गते देखि महासंघबाट थापाको वर्हिगमन हुने छ । उनको विदाई सँगै यस अघिकै सहमतीका आधारमा महासंघको अध्यक्ष आफूहरुले पाउने संघका नेताहरुले दावी गरेका छन् । 

प्रतिक्रिया