Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

विद्यालय व्यवस्थापन समिति गठन गर्न ताकेता, चैत भित्र नगरे अनुदान रोक्का

सोमबार, ०९ चैत्र २०७७

काठमाडौं - व्यवस्थापन समिति गठन नभएका विद्यालयलाई चैत मसान्त भित्र गठन गर्न काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ । लामो समय सम्म समिति गठन नहुँदा विद्यालय विकासका लागि गर्नु पर्ने कार्यमा वाधा उत्पन्न भएकोले उक्त ताकेता गरेको  महानगरको शिक्षा शाखा प्रमुख रामप्रसाद सुवदीले बताए । समयमा विद्यालय व्यवस्थापन समिति गठन नहुँदा बालबालिकाको सिकाइ सुदृढिकरणमा पनि अपेक्षाकृत कार्य हुन नसकेको उनको भनाई छ । 

'कतिपय विद्यालयहरुमा व्यवस्थापन समिति नै नभएकोले काम गर्न कठिनाई परेको गुनासो प्राप्त भए पछि हामीले चैत मसान्त भित्र गठन गर्न भनेका छौं' सुवेदीले भने 'तोकिएको समयमा गठन नभएमा विभिन्न शिर्षकमा विद्यालयमा जाने अनुदान निकाशामा बाधा पर्ने कुरा समेत जानकारी गराईएको छ ।'

महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को परिच्छेद ५ मा हरेक सामुदायिक विद्यालयमा विद्यालयको समग्र सञ्चालन, निरिक्षण र व्यवस्थापन लगायतका कार्य गर्न तीन बर्षे कार्यावधि तोकि समिति गठन हुने व्यवस्था गरिएको छ । उक्त समितिले शिक्षक अभिभावक संघ गठन गर्नु पर्छ । तर, कतिपय विद्यालयहरुमा अवधि सकिदाँ समेत समिति र संघ गठन भएका छैनन् । यसले गर्दा विद्यालयको भौतिक निर्माण लगायत विद्यालयका आर्थिक तथा शैक्षिक गतिविधिहरु सञ्चालनमा कठिनाई भएको महानगर शिक्षा शाखाको ठहर छ । 

महानगर भित्र रहेका ९२ वटा सामुदायिक विद्यालय मध्ये करिव १० वटा जतिमा अझै पनि व्यवस्थापन समिति गठन हुन नसकेको शिक्षा शाखाका मोति भट्टराईले बताए । धेरै जसो विद्यालयमा समिित गठन भ एपनि केही विद्यालयका समस्या जटिल देखिएको उनी बताउँछन् । कतिपयमा राजनीतिक स्वार्थ र कतिपयमा वडा र विद्यालय बिचको असहज सम्बन्धका कारण समस्या भएको रिपोर्टिङ् प्राप्त भएको उनको भनाई छ । यो ताकेता संगै त्यस्ता विद्यालयहरुले पनि सहमती कायम गरि समिति निर्माण गरी सहज रुपमा शैक्षिक कृयाकलाप सञ्चालन गर्ने छन् भन्ने अपेक्षा गरिएको उनले बताए । महानगपालिका भित्र छ सय ४५ वटा निजी विद्यालय छन् । निजी विद्यालयमा भने समस्या नभएको उनको भनाई छ ।

प्रतिक्रिया