Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

तलब नपाए पछि शिक्षकले लेखे अभिभावकलाई पत्र

विहीबार, २६ चैत्र २०७७

ललितपुर - विद्यार्थीबाट साविककै शुल्क उठाएर पनि तलब नदिने र उल्टै आफूहरुलाई नकारात्मक बनाउन दुष्प्रयास गरिएको भन्दै हात्तीवन स्थित आईजे पायोनियर स्कुलका शिक्षकहरुले अभिभावकहरुलाई पत्र पठाएका छन् । कोरोनाको महामारीका बेलामा पनि नियमित शुल्क बुझाईरहेका अभिभावकलाई धन्यवाद दिदैं, शिक्षक कर्मचारीले भने गत बैशाख देखि नै पूर्ण तलब नपाएको उक्त पत्रमा उल्लेख गरिएको छ ।

संस्थागत विद्यालय शिक्षक युनियनको एकाइ कमिटिको लेटरहेडमा अध्यक्ष विमला शाह र सचिव केशवकुमार श्रेष्ठ द्वारा हस्ताक्षर गरी पत्र पठाईएको हो । निजी विद्यालयमा कार्यरत शिक्षकहरुको हक अधिकारका लागि कार्य गर्न गठित यूनियनका केन्द्रिय अध्यक्ष होमकुमार थापा पनि यही विद्यालयका शिक्षक हुन् । 

तलब नपाउँदा कतिपय शिक्षक कर्मचारीको गुजारा मै समस्या भए पछि विस्थापित हुन परेको अवस्था पनि पत्रमा अवगत गराईएको छ । यस बारेमा पटक पटक व्यवस्थापनको ध्यानाकर्षषण गराउँदा भेट समेत नपाएको भन्दै शिक्षकहरुले दशैं जस्तो चार्डमा समेत तलब नदिएर खल्लो बनाएको गुनासो गरेका छन् । 

कोरोना संक्रमणको जोखिमका कारण भौतिक रुपले विद्यालय सञ्चालन हुन नसक्दा पनि आँफैले विभिन्न तालिम लिई, आफ्नै उपकरण, ईण्टरनेट र अन्य उपकरण खरिद गरेर पढाई निरन्तर राखेको स्मरण गराउँदै उक्त पत्रमा अहिले विद्यालय खोल्दा समेत तलब नपाएको उल्लेख गरिएको छ । 

'दिन छुटेको रकम विद्यालय भौतिक रुपले सञ्चालन भए पछि दिन्छौं भनियो र पर्खन भनियो तर अहिले आनाकानी गरिएको छ' पत्रमा भनिएको छ । 

यस बारेमा गत फागुन १९ गते र चैत १ गते लिखित जानकारी गराउँदा पनि विद्यालयले सुनुवाई नगरेर जेठमा लिनु पर्ने परीक्षा चैत २२ गते देखि लिने गरी सुचना जारी गरेर अभिभावकका अघिल्तिर आफूहरुलाई गलत देखाउने प्रपञ्च गरिएको आरोप लगाईएको छ । अहिले पठाएको परीक्षाको कार्यक्रम अभिभावकबाट थप पैसा उठाउन चालेको नाटक भएको पत्रमा उल्लेख छ । 

'हाम्रो आन्दोलनले परीक्षाको कार्यक्रममा कुनै असर पर्न गए हाम्रा मागहरु पुरा भए पछि हामी सरकारले तोकेको अवधि भित्रै परीक्षा सक्ने प्रतिवद्धता गर्दछौं' पत्रमा भनिएको छ 'हाम्रा विद्यार्थीको पढाई प्रति हामीहरु लगनशील भएर लागिरहेका छौं लाग्ने छौं ।'

पटक पटक कुरा गर्दा पनि व्यवस्थापन पक्षले आलटाल गरेपछि वाध्य भएर अभिभावकलाई जानकारी गराईएको सचिव श्रेष्ठ बताउँछन् । आफ्नो कामको पारिश्रमिक माग्दा समेत विद्यालय व्यवस्थापनले गरेको व्यवहार ज्यादै निकृष्ट रहेको श्रेष्ठ बताउँछन् । 

'हामीले विद्यालयको नाफा वा अन्य थप रकम मागेका हैनौं, हाम्रो पारिश्रमिक मागेका हौं, हामी बालबालिका पढाउने आफ्नो काममा निरन्तर लागिरहेका छौं तर विद्यालय सञ्चालकले हाम्रो यो शैलीलाई कमजोरी ठानेको देखियो' उनले भने 'त्यसैले विद्यालयका मुख्य पक्ष रहेका अभिभावकसँग हामीले सकारात्मक हस्तक्षेपको आग्रह गरेका हौं ।'

पुरा तलब पाउनु पर्ने सहित शिक्षकहरुले सञ्चयकोषमा नियमित रकम दाखिला गर्नु पर्ने, सामाजिक सुरक्षा कोष, कक्षा शिक्षक भत्ता,गाडी चालक सहचालकको तलब, अवकास प्राप्त शिक्षक कर्मचारीको उपदान, समय पुगेकाहरुको स्थायित्वका विषयलाई मागका रुपमा अघि सारेका छन् । 

अभिभावककलाई पठाईएको उक्त पत्रको बोधार्थ  ललितपुर महानगरपालिकाको शिक्षा शाखा, वडा कार्यालय, शिक्षक महासंघ, निजी विद्यालयहरुको सञ्चालक आवद्ध संस्था, अभिभावक संघलाई  दिईएको छ । 

विद्यालयले गत बैशाखको शुल्क मिनाहा गरे पनि त्यस यता साविककै शुल्क लिएको र भर्ना शुल्क समेत उठाएको शिक्षकहरु बताउँछन् । आफ्नै भवन र संरचनामा रहेको उक्त विद्यालयका केही शिक्षक कर्मचारीले ५ देखि २५ प्रतिशत मात्रै तलब पाईरहेको शिक्षकहरु बताउँछन् । विद्यालयका शिक्षक समेत रहेका यूनियनका केन्द्रिय अध्यक्ष थापा यस्ता विषयलाई सम्बोधन गर्न गरिएको आग्रह विद्यालय व्यवस्थापनले अटेरी गर्दा यो अवस्था आएको टिप्पणी गर्छन् । शुरुमा ८० प्रतिशत सम्म तलब पाउनु पर्ने शिक्षक कर्मचारीको माग थियो । विद्यालयले ५० प्रतिशत सम्म दिन सक्ने बताएको थियो । व्यवस्थापन र शिक्षक प्रतिनिधिहरु बिच पटक पटकको छलफल पछि भएको सहमतीमा खाईपाई आएको तलबको ७७ दशमलब ५ प्रतिशत दिने उल्लेख थियो । तर विद्यालय व्यवस्थापनले अनेक वहाना बनाएर पारिश्रमिक नदिने प्रपञ्च रचे पछि शिक्षकहरुले अभिभावक गुहारेका थापाले बताए । 

'गरेको कामको पारिश्रमिक दिने विषयमा कुनै सम्झौता हुँदैन, यसलाई विद्यालय व्यवस्थापनले समयमै बुझ्नु पर्ने थियो बुझेन' उनले भने 'अझै पनि केही वितेको छैन आफूले गरेको सहमती पालाना गर्न व्यवस्थापन तयार हुना साथ समस्या समाधान भईहाल्छ ।'

विद्यालयको सञ्चालक ईन्दिरा श्रेष्ठ भए पनि व्यवस्थापन सञ्चालनमा प्रिन्सिपल रामु पाण्डेको बोलवाला धेरै हुने शिक्षकहरु बताउँछन् । सञ्चालक श्रेष्ठ व्यापारिक घराना ज्योति समूहको पारिवारिक सदस्य हुन् । अन्य व्यापार व्यवसायकै शैलीमा शिक्षकलाई व्यवहार गर्ने उनको शैली र शिक्षकहरुसँग एउटा सहमती गर्ने तर सञ्चालकलाई अर्कै कुरा भन्ने प्रिन्सिपल पाण्डेको शैलीले गर्दा पटक पटक समस्या आउन थालेको विद्यालयका एक शिक्षकले दावी गरे । 

तर प्रिन्सिपल पाण्डेले शिक्षक कर्मचारीको समस्या समाधान गर्न आफूहरु प्रयत्नशील रहेको प्रतिकृया दिए । पुरा तलब नदिईएका बैशाख देखि गत पुस सम्मको तलब लकडाउन जस्ता विषम परिस्थिती नआएमा आगामी बैशाख देखि शुरु गरी असोज महिना भित्र दिन सक्ने विद्यालयले प्रस्ताव तयार पारेको उनले बताए । अन्य मागका बारेमा पनि विद्यालय सकारात्मक रहेको उनको भनाई छ । 

'यो एक आपसमै बसेर समाधान गर्न सकिने विषय थियो तर उहाँहरुले पत्र नै पठाउनु भएको कुरा सुनियो' उनले भने 'यस बारेमा हामी थप छलफल गरेर एक दुई दिनमै एउटा सहमतीमा पुग्छौं ।'

२०४१ सालमा स्थापना भएको यो विद्यालयमा शिक्षक कर्मचारी गरेर ६० जना कार्यरत रहेका छन् । विद्यार्थी संख्या भने ६ सय हाराहारी छ । 

प्रतिक्रिया