Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

कोरोना संक्रमण : विभिन्न १४ जिल्लामा विद्यालय बन्द गर्न अपिल

विहीबार, ०२ बैशाख २०७८

काठमाडौं - कोरोना भाईरसको नयाँ भेरियण्टका कारण पछिल्लो समय बढ्दै गएको संक्रमण जोखिमलाई ध्यान दिदैं स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लाका विद्यालयहरु बन्द सार्वजनिक अपिल गरेको छ । संक्रमणका कारण अति प्रभावितका रुपमा मन्त्रालयले गरेको वर्गीकरणमा परेका ति जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको मन्त्रालय अन्तर्गत  स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) ले निष्कर्श निकालेको हो । 

मन्त्रालयले काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर सहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लाका रुपमा राखेको छ । 
सचिव स्तरीय निर्णयको हवाला दिदैं बिहीबार जारी गरिएको आठ बुँदे अपिलमा सहभागी नहुन आग्रह गरिएको क्षेत्रमा विद्यालयलाई पनि राखिएको हो । 

अपिलमा भनिएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेण्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिकाहरु बढाइदिनु हुन ।’ 

हेर्नुहोस् अपिल : 

यस अघि नै स्वास्थ्य मन्त्रालयले विद्यालयहरु बन्द गरी अनलाईन मार्फत् पठनपाठन गराउन सिफारिस गरिसकेको छ । तर, सरकारले निर्णय गरेको छैन । सरोकारवालाहरुले देर्श भरी बन्द भन्नु भन्दा पनि जोखिम हेरी स्थानीय सरकारले निर्णय गर्न उचित हुने सुझाव दिएका छन् । 

पछिल्लो समय विभिन्न सार्वजनिक स्थलमा भीडभाड बढेको र फेरि संक्रमण विस्तार हुन सक्ने भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण  पालना गर्न पनि अनुरोध गरेको छ । पछिल्लो २४ घण्टामा नेपालमा चार सय ९० जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको तीन हजार पाँच सय ८८ परीक्षणबाट बिहीबार चार सय ९० जना संक्रमित फेला परेका हुन् । त्यस्तै पाँच सय ६४ एण्टिजेन परीक्षणबाट ४४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट पाँच जनाको मृत्यु भएको जनाईएको छ । 

प्रतिक्रिया