Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

शहरी क्षेत्रका विद्यालय बन्द, पठन पाठन वैकल्पिक विधिबाट

सोमबार, ०६ बैशाख २०७८

काठमाडौं - कारोना भाईरस कोभिड १९ को नयाँ भेरियण्टका कारण बढ्दो जोखिमलाई ध्यान दिदैं सरकारले शहरी क्षेत्रका विद्यालय वैशाखभर भौतिक रुपमा बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भौतिक रुपमा विद्यालय बन्द गर्दै वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले बताए । 

'संक्रमण जोखिम बढ्दै गएको र यसले बालबालिकामा असर पार्ने भनेर जनस्वास्थ्य विज्ञहरुले सुझाव दिएका कारण सरकारले यो निर्णय गरेको हो', एडुखबरसँग संक्षिप्त कुरा गर्दै उनले भने, 'भौतिक रुपमा विद्यालय बन्द भए पनि पठनपाठनका लागि अन्य वैकल्पिक विधि अपनाउने मन्त्रीपरिषद्को निर्णय हो ।' 

संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले १४ जिल्ला काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङलाई अति प्रभावित भन्दै शैक्षिक संस्थालाई केही समय बन्द गर्न अपिल गर्दै आएको थियो । तर शिक्षा मन्त्रालयले स्पष्ट नपार्दा अभिभावक अन्योलमा परेका थिए । विद्यालय सञ्चालन कार्यढाँचाले स्थानीय सरकार र विद्यालयलाई जिम्मेवार बनाए पनि शिक्षा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) तिर पन्छाए पछि अन्योल बढेको थियो ।  शनिबार मात्रै मानव अधिकार आयोगले पनि आफ्नो ध्यानाकर्षण भएको जनाउँदै पठनपाठनको बैकल्पिक व्यवस्था गर्न सरकारलाई सचेत बनाएको थियो । 

शनिबारै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण  बढेसँगै अति प्रभावित १४ जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा सञ्चालन गर्ने गरी मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
मन्त्रीपरिषद्ले संक्रमण नियन्त्रण सम्बन्धी अन्य आदेशहरु समेत जारी गरेको जनाईए पनि त्यसको सार्वजनिकिकरण गरिएको छैन । 

मन्त्रीपरिषद्ले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

गत पुस ५ गते संसद भंग गरेका प्रधानमन्त्री केपी ओलीको कदमलाई अदालतले असंवैधानिक भन्दै फागुन ११ गते खारेज गरेपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । 

यो पनि पढ्नुहोस् : वैकल्पिक सिकाइमा विश्वास नहुँदाको उल्झन

प्रतिक्रिया