Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
शिक्षामा यो साता

वैकल्पिक विधिबाट शुरु हुदै नयाँ शैक्षिक सत्र

सोमबार, ३१ जेठ २०७८
काठमाडौं - गत साता पनि कोभिड महामारी, बजेट, नीति तथा कार्यक्रम र चुरेसँग सम्बन्धित वातावरणीय तथा राजनीतिक विषयले प्राथमिकता पाउँदा शिक्षाका खबर थोरै मात्र प्रकाशित भए । आन्तरिक मूल्याङ्कनका आधारमा एसइइको नतिजा प्रकाशन गर्ने सरकारको निर्णय र असार १ बाट वैकल्पिक विधि प्रयोग गरी शैक्षिक सत्र शुरु हुने विषयहरू सञ्चारमाध्यममा प्रकाशित भए । 
 
- सरकारले कक्षा १० को नतिजा सम्बन्धित विद्यालयले लिएको आन्तरिक परीक्षाको आधारमा प्रकाशन गर्ने निर्णय गरेको छ । समाचारमा उल्लेख भए अनुसार मन्त्रीपरिषद्ले गत वर्षकै विधिका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । गत वर्ष पनि सहज वातावरण नभएर भौतिक रुपमा परीक्षा सञ्चालन हुन नसकेका कारण  सम्बन्धित विद्यालयले नै विद्यार्थीको अङ्क पठाएका थिए । यो वर्ष ५ लाख १७ हजार विद्यार्थी एसइइमा सहभागी हुदैछन् । सरकारले विद्यालयहरुलाई नै आफै अङ्क दिने भनेपछि गतवर्ष विद्यालयहरुले जथाभावी अङ्कन दिएको गुनासो सरोकारवालाहरूले गरेका छन् । 
 
- अर्को एक समाचार अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र असार १ बाट वैकल्पिक विधिबाट शुरु गर्न निर्देशन दिएको छ । नेपाल शिक्षक महासंघले सरकारले हतारमा यस्तो निर्णय गर्नु आवश्यक नभएको वताएको छ । नेपाल शिक्षक महासंघका अध्यक्षले समग्र परिस्थितिको विश्लेषण नगरी शैक्षिक सत्र शुरु गर्न हतारिनु भनेको निजी विद्यालयका पक्षमा हुनु हो भनेका छन् । चालू शैक्षिक सत्र जेठ मसान्तसम्म थप गरिएको थियो । कोभिड महामारी नियन्त्रणका लागि अधिकांश जिल्लामा निशेधाज्ञा जारी छ । यस्तो अवस्थामा कक्षाहरु कसरी सञ्चालन हुनेछन र कस्ता वैकल्पिक विधि अपनाउने भन्ने अनिश्चित नै रहेको समाचारमा उल्लेख गरिएको छ । 
 
- अन्तरर्राष्ट्रिय  समाचारमा  क्यानडाको आवासिय विद्यालय क्षेत्रमा २१५ जना बालबालिकाको अवशेष भेटिएको एउटा दुखद समाचार प्रकाशन भएको छ । समाचारमा उल्लेख भएअनुसार कम्लुप्स इन्डियन रेसिडेन्टल स्कुल (क्यानडाको ठूलो स्कुल) को क्षेत्रमा ३ वर्षउमेर देखिका बालबालिकाहरुको अवशेष पुरिएको अवस्थामा भेटिएको हो । सन् १८३१ देखि १९९६ सम्ममा सच्चालित सास्कृतिक द्वन्द्वमा क्यानेडियन रेसिडेन्टल स्कुलमा बालबालिकाहरुलाई जबर्जस्त परिवारबाट छुट्टाउने, दुर्व्यवहार गर्ने, कुपोषण र यौन हिंसा गर्ने गरिएको सत्य निरुपण आयोगले अनुसन्धानका क्रममा उल्लेख गरेको छ । पुराना आवासिय विद्यालय क्षेत्रमा २१५ बालबालिकाहरुको अवशेष भेटिएपछि क्यानडाका आदिवासी समूहले देशभरी नै चिहानहरुको उत्खननको माग गरेका छन् । 
 
- अन्य केही समाचार अनुसार राजनीतिक दलमा आवद्ध युवा तथा विद्यार्थी सङ्गठनहरुले न्यून आय भएका परिवार तथा समुदायमा औषधी, खाना तथा अन्य राहत सामग्री वितरण गरेको उल्लेख गरिएको छ । 
‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा गत जेठ १९ देखि  २५ गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।
 
यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : New academic session through alternative methods !

प्रतिक्रिया