साक्षरता र समावेशी शिक्षा


नेपालको शैक्षिक इतिहासलाई फर्केर हेर्दा २००७ मा राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनालाई महत्वका साथ हेरिन्छ । प्रजातन्त्रको स्थापनासँगै नेपालमा सर्वसाधारणका लागि शिक्षाको पहुँचमा बिस्तार भएको पाइन्छ । २००७ सालमा नेपालको साक्षरता दर २ प्रतिशत थियो । २००४ सालमा अनौपचारिक शिक्षाका माध्यमबाट साक्षरता शिक्षाको शुरुवात भएको पाइन्छ । विशेष शिक्षाको सन्दर्भलाई हेर्दा २०२१ सालमा लेवोरेटरी स्कूलमा दृष्टिविहीन बालबालिकालाई पठनपाठनको शूरुवातसँगै भएको हो । नेपालको साक्षरता वद्धिमा औपचारिक र अनौपचारिक दुवै किसिमको शिक्षाको योगदान रहेको छ । 

मूलुकमा सबै नागरिकको शिक्षामा पहुँच अभिवृद्धि हुनसकेमा मात्र साक्षरता दरमा पनि बढोत्तरी हुन्छ । शिक्षालाई आधारभूत मानव अधिकारको रुपमा परिभाषित गर्दै आएको वर्तमान परिप्रेक्ष्यमा सबै वर्ग, लिङ्ग, जातजाति, भौगोलिक क्षेत्र लगायत विभिन्न शारीरिक तथा मानसिक क्षमता भएका व्यक्तिहरुको शिक्षामा सहज, सर्वसुलभ र समतामूलक पहुँच सुनिश्चत गर्नु राज्यको अहम दायित्वको रुपमा स्वीकार गरी नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गरेको छ । राज्यले औपचारिक शिक्षामा गरेको लगानीले औपचारिक शिक्षाको ढोका सम्म पहुँच नभएका र उमेर र अवस्था आदिका कारण  साक्षरसम्म हुन नसकेका व्यक्तिलाई अनुकुल अवस्था सिर्जना गर्न अवश्यक छ । 

वर्तमान सन्दर्भमा समावेशी शिक्षाले परिस्थितिजन्य कठिनाइ वा अवस्थाका कारण सृजित विभेदयुक्त शैक्षिक वातावरणको अन्त्य र समतामूलक शैक्षिक वातावरणको सृजना गरी शैक्षिक अवसरको सुनिश्चिततामा विशेष जोड दिँदै आएको छ । औपचारिक शिक्षामा पनि एउटा महत्वपूर्ण पाटो अपाङ्गता भएका नागरिकको शिक्षा हो । अनुकुल सिकाइ वातावरण सृजना गर्न सके उनीहरुको  सिकाइमा सहयोग पुग्न सक्दछ । अवसर पाएमा  सबैले  सिक्न सक्छन् भन्ने मान्यतामा समावेशी शिक्षाले विश्वास राख्दछ । यसै कुरालाई मध्यनजर गरी सबैका लागि सिकाइ अवसर सृजना गर्न सके साक्षरतामा वृद्धि हुन जान्छ । 

आज देशभर ८१,२७,१८३ बालकालिकाहरु नियमित शैक्षिक पद्दतिमा जोडिँदा ६५,७१८ जना अपाङ्गता रहेका बालबालिका समेतको संख्या समावेश छ ।  मुलुकको साक्षरतामा यो संख्यालाई उल्लेख्य मान्नु पर्दछ । देशभर संचालित पैतिस हजार भन्दा बढि विद्यालयहरु भित्र ३३ वटा विशेष २३ वटा एकिकृत र ३८० वटा स्रोत कक्षा विद्यालय संचालनमा छन् । यसको अतिरिक्त गैससबाट समेत यस्ता कार्यक्रम संचालित छन् । यिनले प्रत्यक्ष रुपमा साक्षरता वृद्धिमा योगदान गरेका छन् भने अपाङ्गता भएको कारण विद्यालय बाहिर रहेका र विद्यालय उमेर पार गरेका व्यक्तिका लागि  दैनिक जीवन सीप र व्यवसायिक सीपसँग समेत जोड्ने काम भइरहेका छन् । यसले पनि साक्षरतामा टेवा पुगेको छ । 

आजको बदलिदो परिवेशसँगै साक्षरताको परिभाषामा पनि पुनर्विचार गर्ने बेला भएको छ । अक्षर चिनाइबाट अलि माथि उठेर दैनिक जीवनसीप , पूर्वव्यसायिक एवं व्यवसायिक सीप र  प्रविधिको प्रयोग गर्ने सीप समेतलाई साक्षरतासँग जोड्न सके आज एउटा ठूलो संख्या साक्षरहरुको कूल संख्यामा थपिन पुग्छ । उदाहरणका लागि एकजना वौद्धिक अपाङ्गता भएको व्यक्तिले निरन्तरको अभ्यास पछि आफ्ना दैनिक क्रियाकलाप आफैं गर्न सक्नुलाई साक्षर मान्ने कि नमान्ने ? यसरी हेर्दा अपाङ्गता भएका व्यक्तिका लागि शिक्षामा भएको व्यवस्थाले नेपालको साक्षरतामा महत्वपूर्ण योगदान पुगेको छ । 

नेपालको कूल जनसंख्या २,६४,९४,५०४ मध्ये अपाङ्गता भएका व्यक्तिको संख्या ५,१३,३२१ रहेको छ । यस मध्ये शैक्षिक कार्यक्रममा जोडिएका र दैनिक जीवनसीप सिकेका समेतको तथ्यांक यकिन गर्दा नेपालको साक्षरतामा अपाङ्गता समावेशी शिक्षाको उल्लेखनीय योगदान रहेको प्रष्ट हुन आउछ ।

अन्तराष्ट्रिय साक्षरता दिवस २०७८ को सन्दर्भमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाले तयार पारेको सामग्री । 

* एड्भोटोरियल