Edukhabar
विहीबार, ०६ बैशाख २०८१
विदेशमा शिक्षा क्यानडा

विद्यालय शिक्षाको आधारस्तम्भ : समतामुलक शिक्षा नीति

बुधबार, २१ पुस २०७८

विश्वका सर्वोत्कृष्ट शिक्षा प्रणालीका सम्बन्धमा बहस गर्दा एसियाबाट सिंगापुर र साउथ कोरियाको नाम लिन सकिन्छ भने युरोपबाट नर्वे र फिनल्याण्डको नाम सबैको जिब्रोमा झुण्डिएको हुन्छ । यी देशहरु अहिले शिक्षाका सवालमा दुनियाँभर शैक्षिक महाशक्तिका रुपमा चिनिएका छन्। 

क्यानाडामा ९५% भन्दा बढी बालबालिका सरकारी विद्यालय जाने गर्दछन् । अभिभावकको छनोट पनि यही रहेको हुन्छ । क्यानाडाले शिक्षामा अरु जी ८ देशहरु भन्दा बढी खर्च गर्ने गरेको छ । ओइसिडीले अन्तर्राष्ट्रिय स्तरमा संचालन गर्ने पिसा परीक्षामा क्यानाडा सर्वोत्कृष्ट १० देश भित्र पर्न सफल भएको छ । प्रत्येक तीन वर्षमा ओइसिडीले यो परीक्षा लिने गर्दछ । 

औँलामा गन्न सकिने केही देश मध्ये क्यानाडा एउटा यस्तो देश भएको छ जसले विद्यालय शिक्षामा सन्तोषजनक प्रगति गरेको देखिन्छ । ओइसिडीले गणित, विज्ञान र पढाइ जस्ता विषयहरुलाई समेटेर पिसा परीक्षा संचालन गर्ने गर्दछ ।  यो परीक्षाको नतिजाले के संकेत गर्छ भने क्यानाडाका विद्यार्थी संसारकै राम्रो शिक्षा हासिल गरिरहेका छन् । गुणस्तरका सवालमा क्यानाडाका सार्वजनिक विद्यालयहरु न्युजिल्याण्ड, युके, अमेरिका, अष्ट्रेलिया र आयरल्याण्डका सार्वजनिक विद्यालयहरु भन्दा धेरै आगाडी निस्कन सफल भएका छन् ।

अर्को रोचक पक्ष के छ भने क्यानाडासंग संसारमै सबैभन्दा बढी काम गर्ने उमेरको वयस्क जनसंख्या रहेको छ । क्यानाडामा यो प्रतिशत ५५% रहेको छ जबकि अन्य ओइसिडी देशहरुमा यो ३५% मात्रै रहेको छ । विद्यालय शिक्षामा क्यानाडाले हासिल गरेको प्रगति अद्वितीय मात्रै होइन यसको प्रकृति अरु देशको भन्दा फरक रहेको देखिन्छ । 

विद्यालय शिक्षाका हकमा सिंगापुर संसारकै सर्वोत्कृष्ट नतिजा ल्याउने देश हो । सिंगापुरको शिक्षा पद्दति केन्द्रीय  शिक्षा नीतिबाट निर्देशित छ । तर क्यानाडामा राष्ट्रिय शिक्षा पद्दति नै छैन । क्यानाडाका विभिन्न  शिक्षा पद्दति यसका संघीय स्वायत्त प्रदेशहरुले संचालन गर्ने गर्दछन् । क्यानाडाको केन्द्रीय सरकारमा शिक्षा मन्त्रालय नै छैन । क्यानाडामा शिक्षा प्रदेशहरुको दायित्व हो भनेर संविधानमै स्पष्ट व्यवस्था गरिएको छ । 

विद्यालय शिक्षामा क्यानाडाले हासिल गरेको सफलताका बारेमा ओइसिडीले पनि चासो लिइरहेको छ । किनकि केन्द्रीय सरकारको शुन्य भूमिका भएर पनि अपत्यारिलो प्रगति हात पार्न सफल भएको छ । अर्कोतिर क्यानाडाका विद्यालयमा अन्य देशबाट बसाँइ सराई गरेर आएका विद्यार्थीको संख्या धेरै रहेको छ । गजबको कुरो त के छ भने अन्य देशबाट बसाँइ सराई गरेर आएका विद्यार्थी छोटो समयमै यहाँका विद्यालयहरुमा समाहित हुन सफल भएका छन् । 

पिसा परीक्षाको नतिजालाई अझै क्षेत्रीय स्तरमा विश्लेषण गर्ने हो भने क्यानाडाको पिसा परीक्षाको नतिजा अरु देशका राष्ट्रिय नतिजा भन्दा राम्रो स्थिति देखिन्छ । यदि क्यानाडाका अल्बर्टा, ब्रिटिश कोलम्विया र क्युवेक प्रदेशहरु एउटा छुट्टै देशका रुपमा पिसा परीक्षामा सहभागी हुने हुन् भने विज्ञान विषयमा क्यानाडा संसारमै सिंगापुर, जापान, फिनल्याण्ड र हंगकंग जस्तै  सर्वोत्कृष्ट पाँच देश भित्र पर्ने  देखिन्छ । 

क्यानाडाका शिक्षाविद्हरु यसको श्रेय प्रदेशहरुले अपनाएको समतामूलक शैक्षिक नीतिलाई दिन्छन् । प्रत्येक प्रदेशका आ–आफ्नै शिक्षा नीति र शैक्षिक कार्यक्रम भए पनि समतामूलक शिक्षा नीति भने सबै प्रदेशका लागि साझा शैक्षिक नीति भएको छ । 

दुनियाँका विभिन्न देशबाट बसाइसराई गरेर आएका विद्यार्थीले परीक्षामा हासिल गरेका प्राज्ञिक नतिजाबाट के कुरो स्पष्ट हुन्छ भने समतामुलक शिक्षानीति क्यानाडाको विद्यालय शिक्षाको सफलताको आधारस्तम्भ हो भन्दा फरक नपर्ला । अन्य देशबाट बसाँइ सराई गरेर आएका विद्यार्थीले तीन वर्षभित्र क्यानाडाका रैथाने विद्यार्थी सरह नतिजा ल्याउन सफल भएका छन् । त्यसैले संसारमा क्यानाडा मात्रै यस्तो देश भएको छ जहाँ बसाँइ सराई गरेर आएका विद्यार्थी रैथाने विद्यार्थी सरह नतिजा ल्याउन सफल भएका छन्।

क्यानाडाले शिक्षालाई जहिले पनि प्राथमिकतामा राख्ने गर्छ । यति मात्रै होइन हरेक राजनीतिक दलले शिक्षालाई आफ्नो पार्टीको आन्तरिक नीतिको विषय बनाउँछन् । राजनीतिक दलहरु आफ्ना नीतिका बारेमा घनिभूत बहस गर्ने गर्दछन् । सबैभन्दा राम्रो पक्ष के भने दलहरुले प्रतिस्पर्धी भएर जनता माझ आफ्नो शिक्षा नीति सार्वजनिक गर्ने गर्दछन् । जनताले पनि प्रत्येक राजनीतिक दलका राम्रा नीति हेरेर आम चुनावमा आफ्नो मत जाहेर गर्दछन् । 

क्यानाडाको शिक्षा प्रणालीको अर्को महत्वपूर्ण विशेषता भनेको यहाँका प्रदेश सरकारहरुले शिक्षकहरुलाई अन्तर्राष्ट्रिय मापदण्डका आधारमा दिने तलव पनि हो । शिक्षक तयारी, छनोट र विकास गर्ने कार्यहरु एकदम गुणात्मक र प्रतिस्पर्धी रहेका छन् । विश्वविद्यालयले शिक्षा मन्त्रालय र श्रम मन्त्रालयको मानव स्रोत विकास योजनाका आधारमा गुणस्तरीय शिक्षक उत्पादन गर्दछ । सरकारको स्वायत्त संस्थाले शिक्षण लाइसेन्स दिने काम गर्छ । शिक्षकको व्यवस्थापनमा स्कुलबोर्ड र प्रदेश शिक्षा मन्त्रालयले आफ्नो महत्वपूर्ण भूमिका निभाउँछन् ।यिनीहरुको तालमेल यस्तो छ कि गुणस्तरीय शिक्षक मात्रै शिक्षण पेशामा प्रवेश पाउँछन् ।

साक्षरताका सवालमा क्यानाडाको स्थिति बलियो रहेको छ । शिक्षामा क्यानाडाको सफलताको अर्को महत्वपूर्ण आधार यो पनि हो । क्यानाडामा साक्षरताको अवस्थालाई सुधार्न कैयौ प्रणालीगत प्रयत्न भएका छन् । यसका लागि तालिम प्राप्त कर्मचारी र  स्रोतसाधन जस्तैः विद्यालय पुस्तकालय, सार्वजनिक पुस्तकालय, डिजिटल पुस्तकालय, वयस्क शिक्षा, परीक्षण र मूल्यांकन जस्ता महत्वपूर्ण औजारहरु अभ्यासमा ल्याइएका छन्। यिनीहरुको काम अध्ययनमा संघर्ष गरिरहेका विद्यालय र विद्यार्थी पहिचान गरेर निदानका उपाय सुझाउने हो।
क्यानाडाले विद्यालय शिक्षामा राम्रो गर्नुको अर्को महत्वपूर्ण कारण विद्यालयका नतिजामा रहेको साघुरो सामाजिक–आर्थिक (socio–economic gap) अन्तर हो । विद्यार्थी नतिजाका सवालमा सिमान्तिकृत र अन्य विद्यार्थीका हकमा त्यति धेरै अन्तर भेटिदैन । हालसालैका पिसा परीक्षामा क्यानाडाको यो अन्तर जम्मा ९% मात्रै रहेको छ जब कि यो अन्तर फ्रान्समा २०% र सिंगापुरमा १७% रहेको छ । 

समतामुलक शिक्षा नीति, शैक्षिक कार्यक्रम र परिणामकै कारण क्यानाडाले अन्तर्राष्ट्रिय पिसा परीक्षामा राम्रो गरिरहेको देखिन्छ । विद्यार्थीका परीक्षाको नतिजामा गरीबीले खासै भूमिका खेलेको देखिदैन । अरु विकसित देशहरुका तुलनामा क्यानाडामा गरीबीका कारण गरीब र धनी विद्यार्थीका परीक्षा नतिजामा खासै फरक परेको देखिदैन ।

बसाँइ सराई गरेर आएका विद्यार्थी अवरोध नभएर यिनीहरु त सफल कथाका पात्र भएका छन् । किनकि यिनीहरुका आमाबुवा शिक्षित र महत्वाकांक्षी हुन्छन् । यी अभिभावकहरुले आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा हासिल गरेर कामको संसारमा आफुलाई विकाउन सकुन् भन्ने आशा राखेका हुन्छन् । त्यसैले अन्य देशबाट आएका विद्यार्थी अभिशाप नभएर क्यानाडाका लागि बरदान साबित भएका छन् । अभिभावकहरुले आफ्ना सन्तानबाट उच्च अपेक्षा राखेकै कारण उनीहरुले आफ्ना छोराछोरीको शिक्षामा विशेष ध्यान दिन्छन् । यसको प्रभाव विद्यार्थीले परीक्षामा ल्याउने नतिजामा पर्नु स्वभाविक नै हो ।

अब छलफल गरौ क्यानाडाको शैक्षिक प्रणालीले कसरी काम गर्छ ? संरचनात्मक रुपमा हेर्ने हो भने क्यानाडामा शिक्षा प्रदेश सरकारको दायित्व हो । स्थानीय स्तरमा प्रजातान्त्रिक तौरतरिकाबाट स्कुलबोर्डको निर्वाचन हुन्छ । क्यानाडा देशको जन्म भएदेखि स्कुल बोर्डहरु स्थानीयस्तरमा क्यानेडियन समुदाय र प्रदेश सरकारका सच्चा साझेदार भएका छन् । स्कुलबोर्डहरु क्यानाडाको शैक्षिक ईतिहासमा पूर्णरुपमा सरकारले व्यवस्थित गरेको सबैको पहुँचमा भएको एउटा प्रभावकारी र सक्षम शिक्षा प्रणाली जनतालाई उपहारका रुपमा दिन सफल भएका छन् ।

क्यानाडाको संबिधान अन्तर्गत स्कुलबोर्डले के गर्ने, यिनीहरुले कसरी बजेट पाउने र स्थानीय स्तरमा यिनीहरुले कति स्वायत्तता पाउने भन्ने कुरोको निर्णय प्रदेश सरकारले गर्ने गर्दछ । त्यसैले स्कुल ट्रस्टीको भूमिका प्रदेश पिच्छे फरक रहेको छ । तर भिन्नताहरु धेरै भने छैनन् । धेरै जसो प्रदेशहरुमा स्कुलबोर्डले वार्षिक बजेट तयार गरेर कार्यन्वयन गर्ने गर्छन् । त्यसै गरी शिक्षक र कर्मचारी भर्ना र बढुवा पनि गर्ने गर्छन् । स्थानीयस्तरमा विद्यालयका लागि नीति निर्माण लगायत विद्यालयका भौतिक संरचना निर्माण गर्ने र विद्यालयका लागि आवश्यक पर्ने सबै सामग्री खरीद गर्ने काम पनि गर्दछन् ।

केही प्रदेश सरकारहरुले स्कुलबोर्डलाई शिक्षा कर लगाउने र उठाउने अधिकार पनि दिएका छन् जबकि अरु प्रदेशहरुले स्कुलबोर्डलाई आवश्यक पर्ने बजेट निकासा गर्ने गर्छन् । शिक्षा कर लगाउने अधिकार पाएका स्कुलबोर्डहरुले आफ्नो बजेट आफैले कसरी खर्च गर्ने भन्ने विषयमा बढी स्वायत्तता पाएका हुन्छन् ।

क्यानाडाको सार्वजनिक शिक्षामा निर्वाचित स्कुलबोर्डको अहम भूमिका रहदै आएको छ । स्थानीय चुनाव हुँदा सम्बन्धित क्षेत्रका स्कुलट्रस्टीका निर्वाचनका लागि एउटा थप मतपेटिका राख्ने चलन छ । यसले गर्दा निर्वाचनका लागि थप आर्थिक बोझ पनि हुँदैन । स्थानीय स्तरमा शिक्षाका क्षेत्रमा अतुलनीय काम गरेकाहरु यो निर्वाचनमा स्कुलट्रस्टीका लागि उम्मेदवार हुने परम्परा रहेको छ । स्कुलबोर्डले विद्यार्थी, अभिभावक, विद्यालय र समुदायका आवश्यकताहरुलाई युगौदेखि सफलता पुर्बक सम्बोधन गर्दै आएका छन् । अन्तमा निर्वाचित स्कुलबोर्डहरुले क्यानाडाको सार्वजनिक विद्यालय शिक्षालाई गणस्तरीय बनाउन अहम भूमिका खेलेको तथ्यलाई नकार्न मिल्दैन ।

निस्कर्षमा के भन्न सकिन्छ भने क्यानाडामा कक्षा १२ सम्म अति नै गुणस्तरीय निशुल्क सार्वजनिक शिक्षा पद्दति रहेको छ । त्यसै गरी क्यानाडामा संसारकै राम्रा विश्वविद्यालय र कलेज रहेका छन् । यी विश्वविद्यालय र कलेजहरुको संजाल अन्य पोलिटेक्निक कलेजहरुसंग रहेका कारण व्यवसायिक र प्राविधिक शिक्षालाई पनि महत्व दिनु क्यानाडाको अर्को सफलता हो । सरसर्ती नियाल्दा क्यानाडा शैक्षिक महाशाक्तितिरको यात्रामा निरन्तर लम्किरहेको देखिन्छ । 

लेखक, क्यानडाका 'रजिष्टर्ड सोसल वर्कर' हुन् । 

प्रतिक्रिया