Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

प्रधानाध्यापक सहित तीनलाई सम्मान र पुरस्कार

विहीबार, ०५ फागुन २०७८

काठमाडौं - सामुदायिक विद्यालयको पठन पाठनमा सुधार गरेका दुई प्रधानाध्यापक र शिक्षाका विषयमा सकृय एक पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । शिक्षा पत्रकार समूहको २२ औं स्थापना दिवस एवं ११ औं अधिवेशनका अवसरमा  उक्त सम्मान र पुरस्कार प्रदान गरिएको हो । 

जन कल्याण मावि महाँकाल काठमाडौंकी प्रधानाध्यापक कुमारी कमला राई र जनज्योती माध्यमिक विद्यालय बड्डीचौर सुर्खेतका प्रधानाध्यापक नारायण प्रसाद सिग्देललाई विद्यालय सुधारमा गरेको असल अभ्यासको कदर गर्दै सम्मान गरिएको हो ।  यस्तै कान्तिपुरमा कार्यरत पत्रकार सुदीप कैनीलाई पत्रकार स्व. तीर्थलाल भुषालको स्मृतिमा स्थापना गरिएको तीर्थलाल भुषाल स्मृती पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । उक्त पुरस्कारको राशी २५ हजार रुपैंया छ । समूहका सदस्य भुषालको नवलपरासीमा भएको सडक दुर्घटनामा परी निधन भएको थियो ।

पुरस्कार र सम्मानका लागि छनोट र सिफारिस गर्न समूहका पूर्व अध्यक्ष रोश्ना सुब्बाको संयोजकत्वमा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला र समूहका पूर्व अध्यक्ष नारायण अमृत रहेको सिफारिस समिति गठन गरिएको थियो । सामुदायिक शिक्षाको सुधारमा गरेको अभ्यास र योगदानको कदर गर्दै उक्त नाम सिफारिस गरिएको सुब्बाले बताईन् । 

पुरस्कार वितरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्री देवेन्द्र पौडेलले आफू मन्त्री भएपछि शिक्षा सुधारका लागि प्रयत्न गरेको दावी गरे । शिक्षाका विभिन्न चार वटा ऐन निर्माणको चरणमा रहेको, शिक्षामा हुने नियुक्तिमा योग्य व्यक्तिको छनौटमा ध्यान दिएको, शिक्षकको दरबन्दी मिलान र अपुग शिक्षक छनौटका लागि आयोग खुलाएको जस्ता कार्यलाई उनले आफू मन्त्री भए पछिको कामका रुपमा चर्चा गरे । शिक्षाको सुधारका लागि धेरै काम गर्नु पर्ने बताउँदै उनले एकले अर्कोलाई दोष दिएर भन्दा मिलेर काम गर्न सरोकारवालाहरुलाई आह्वान पनि गरे । 

सम्मानित प्रधानाध्यापक राईले विद्यालयको नेतृत्व प्रधानाध्यापक र शिक्षकको लगनशीलताले विद्यालय सुधार हुने अनुभव र आफ्नो कार्यशैलीका बारेमा चर्चा गरिन् ।  अर्का सम्मानित प्रधानाध्यापक सिग्देलले विद्यार्थीलाई उत्पादनसँग जोड्ने गरी विद्यालयलाई सिकाइ केन्द्रका रुपमा विकास गरेको अनुभव सुनाए । 

कार्यक्रमका मुख्य वक्ता पत्रकार राजेन्द्र दहालले शिक्षा पत्रकारहरुले बालबालिका र अभिभावकको आँखाबाट विषय बस्तुलाई हेर्न सुझाव दिए । 

'जसका लागि पत्रकारिता गरिएको छ उनीहरुका आँखाबाट हेरेर विषय बस्तुलाई समेट्न जरुरी छ' उनले भने 'समूह स्थापना भएको २२ बर्षलाई फर्केर हेरौं, सिकाइ, पठनपाठनको अवस्था कस्तो थियो शिक्षकको मर्यादा र नैतिकता कस्तो थियो, विद्यालयहरु कस्ता थिए, कस्तो भयो र अब कसरी सुधार गर्ने भन्ने बारेमा त्रकारहरुले ध्यान दिन जरुरी छ ।'

कार्यक्रममा बोल्दै शिक्षाविद् कोइरालाले अनुसन्धान, विचार निर्माण, प्रतिकृया र दिशा निर्धारणमा शिक्षा पत्रकारहरु कृयाशील हुन जरुरी रहेको बताए । अर्का शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले आगामी जेठबाट शैक्षिक सत्र शुरु गर्ने शिक्षा मन्त्रालयको हालैको निर्णय प्रति आलोचना गर्दै मन्त्रालयको निर्णयलाई सिकाइ विना कक्षा मात्रै चढाउने ध्येयको संज्ञा दिए । 

समूहका अध्यक्ष तुला अधिकारीले कोभिडका कारण आईपरेको प्रतिकुलतामा पनि गत दुई बर्षमा संस्थाले शिक्षाका मुद्दामा आफ्नो कृयाशिलता कायम राखेको र त्यसका लागि सघाउने संस्था एवं व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरे । 

प्रतिक्रिया