Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

हस्ताक्षर प्रधानमन्त्रीको, हस्तान्तरण शिक्षा मन्त्रीद्वारा !

बुधबार, ०९ चैत्र २०७८

काठमाडौं - कार्यक्रमको प्रमुख अतिथी आफू, सोही हैसियतमा विभिन्न व्यक्तिलाई सम्मान गर्ने पनि आफैं, तर आफैंले प्रदान गरेको सम्मान पत्रमा भने प्रमुख अतिथीका रुपमा अर्कै व्यक्तिको हस्ताक्षर !

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनको १५ औं महाधिवेशन उद्घाटनका अवसरमा बुधबार आयोजित कार्यक्रममा यस्तै भयो । कार्यक्रमका प्रमुख अतिथी थिए शिक्षा मन्त्री देवेन्द्र पौडेल । तर कार्यक्रममा सम्मान गरिएका ३३ जनालाई प्रदान गरिएको सम्मान पत्रमा भने प्रमुख अतिथीका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको हस्ताक्षर थियो । 

आसन ग्रहण, उद्घाटन, स्वागत मन्तव्य जस्ता औपचारिक कार्यक्रम पछि उद्घोषकको भूमिकामा रहेका सहअध्यक्ष डीके ढुङ्गानाले, एक तोला सुनको तक्मा, दोसल्ला र सम्मान पत्र सहित प्याब्सन गौरवबाट सम्मानित पूर्व अध्यक्ष राजेश खड्काको सम्मान पत्र पढे पछि मात्रै उक्त अमिल्दो शैली सार्वजनिक भएको हो । 

सामान्यतया कार्यक्रमका प्रमुख अतिथी पक्का गरेपछि मात्रै प्रमाणपत्र लगायतका कुरालाई अन्तिम रुप दिईन्छ । तर प्याब्सनले महाधिवेशनमा प्रधानमन्त्रीको हस्ताक्षर भएको सम्मान पत्र वितरण गरेपछि कार्यक्रमका सहभागी प्याब्सन प्रतिनिधिहरुले यसलाई अमिल्दो शैलीको संज्ञा दिए । 

'प्रमुख अतिथी तय गर्ने तर उनी नआउने भए पछि सम्मानपत्र परिर्वतन गर्न पथ्र्यो' एक जना सहभागीले भने, 'यत्ति गर्न झण्झट मान्दा शिक्षा मन्त्रीलाई असजिलो लाग्छ भन्ने हेक्का गर्नु पर्ने थियो ।' 

सायद यही असजिलोले होला, सात जनालाई सम्मान पत्र प्रदान गरे पछि शिक्षा मन्त्री पौडेलले आफूलाई हतार भएको बताउँदै सम्मान कार्यक्रम रोकेर मन्तव्य दिन समय मागे । मन्तव्यका क्रममा उनले यो विषय त उक्काएनन् तर कार्यक्रममा अतिथीका रुपमा सम्बोधन गरेका प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका राज्य मन्त्री उमेश श्रेष्ठले भने कम्युनिकेशन ग्याप भएर प्रधानमन्त्री नआएको कुरा उल्लेख गरे ।  

'म पनि बाहिर थिएँ कम्युनिकेशन ग्याप भएर प्रधानमन्त्री आउन सक्नु भएनछ' प्रधानमन्त्री निकट मानिने श्रेष्ठले भने '११ बजे प्रधानमन्त्री विशेष कार्यक्रममा सहभागि भएकोले आउन सक्नु भएन ।'

प्रधानमन्त्री देउवा भने बुधबारै काठमाडौंको चन्द्रागिरीमा आयोजित दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी थिए । 

आधा भन्दा कम व्यक्तिलाई मात्रै सम्मान गरेर मन्तब्य दिन शुरु गरेका मन्त्री पौडेलले शिक्षामा संरचनागत र नीतिगत सुधार आवश्यक रहेको बताउँदै त्यसको सुधारका लागि मन्त्रालयले काम गरिरहेको दावी गरे ।

संविधानको भाषा अनुरुप शिक्षाका विषय सम्बोधन गरिने उनका भनाई छ । संविधानमा उल्लेख तिनवटा शब्द शिक्षालाई वैज्ञानिक बनाउने, व्यवहारिक बनाउने र उत्पादनमुलक बनाउने कुरा उल्लेख भएको भन्दै उनले यसलाई मूर्त रुप दिन सबैको साझा संकल्पको आवश्यकता रहेको बताए । 

मन्त्री पौडेल बोलेर निस्के पछि सम्मान कार्यक्रमलाई निरन्तरता दिईएको थियो । कार्यक्रममा नेपाल समाचारपत्रका पत्रकार ईश्वरराज ढकाललाई २५ हजार राशीको शिक्षा पत्रकार पुरस्कारबाट सम्मान गरियो । यस्तै प्याब्सन रत्न सम्मानबाट बिएन शर्मा, सानु अमात्य, डोलराज पाण्डे, नारायण अधिकारी, सरोजकुमार यादवलाई सम्मान गरियो । प्रेसिडेण्ट अवार्डबाट अर्जुन बस्नेत मोरङ, बिरेन्द्र कुमार ठाकुर रौतहट, जयबहादुर थापा पश्चिम रुकुम, नयनसिंह खत्री कर्णली प्रदेश,चन्द्र अधिकारी भक्तपुर, सीताराम तिवारी गोर्खा, रामबाबु अधिकारी ललितपुर, हरीदेव खरेल बारा, लेखनाथ पौडेल रुपन्देही, सरोजा श्रेष्ठ ललितपुरलाई सम्मान गरियो ।

अभिभावक सम्मानबाट मोरङका देवी पन्थी, १५ हजार रुपैंया राशी सहित शिक्षक दीर्घ सेवा पदकबाट बुढानिलकण्ठ स्कुलका अजय कुमार राजवंशी, सर्लाहीको ज्ञान ज्योती आवासीय विद्यालयबाट तेजप्रसाद ढकाल, काठमाडौंको रेडियण्ट पब्लिक स्कुलका ईन्द्रलोचन चौधरी, एम्स स्कुल ललितपुरकी हिमा मोक्तान श्रेष्ठ, लुम्बिनी सेकेण्डरी स्कुल बुटवलकी लता प्रधान श्रेष्ठ, सुर्खेतका बाबुराम ढकाल र भुपेन्द्र वहादुर वलायरलाई सम्मान गरियो । यसै गरी धनुषा, जाजरकोट, कञ्चनपुर, कास्की, रुपन्देही, मोरङ र भक्तपुर जिल्ला प्याब्सनलाई पनि सम्मान गरियो । कार्यक्रममा हालै प्याब्सनले आफ्नो केन्द्रिय कार्यालय राख्न खरीद गरेको घर धनी हरीप्रसाद गौतमलाई पनि सम्मान गरियो । 

प्रधानमन्त्री कार्यालयमा मुकाम तोकिएका राज्यमन्त्री श्रेष्ठले निजी विद्यालयकै कारण शिक्षा क्षेत्रको विकास भएको दावी गर्दै प्याब्सनलाई थप पेशागत संस्था बनाएर लैजानुको विकल्प नभएको उल्लेख गरे ।  स्वागत मन्तव्य व्यक्त गर्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी विद्यालयले लगानीको संरक्षण, सम्पत्तिको सुरक्षा, छात्र वृत्तिमा भएको विभेद हटाउनुपर्ने माग गरे । 

प्रतिक्रिया