Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

विद्यालयमा भान्सा कोठा सहितको बहुउपयोगी भवन

बुधबार, ११ साउन २०७९

हेटौंडा - मकवानपुरको मकवानपुरगढी गाउँपालिका छापमा रहेको कालीदेवी आधारभुत विद्यालयमा बहुउपयोगी भवन निर्माण गरिएको छ । विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले ३ कोठे संरचना निर्माण गरिएको हो । जहाँ विद्यार्थीलाई कृषि तथा पाक कला सिकाउने गरी ‘सिड रुम’ र भान्सा कोठा पनि बनाइएका छन् । शिक्षा नीति तथा अभ्यास केन्द्र, विकास एसोसियसन (बेल्जियम) र केयु ल्युभन (बेल्जियम)को संयोजनमा उक्त भवन निर्माण गरिएको हो । 

विद्यार्थी, शिक्षक र समुदायबीच दूरी बढेर भएको सम्बन्ध विच्छेदलाई कम गरेर नजिक ल्याउन र समुदायका व्यक्तिहरू पनि विद्यालयमा आउन सहज स्थान बनाउने परिकल्पना सहित बहुउपयोगी भवन निर्माण गरिएको केन्द्रका कार्यक्रम संयोजक टीका भट्टराईले बताए । त्यसैले भवनमा फराकिलो आँगन समेत बनाईएको छ । जहाँ ढुङ्गाले छापेको भुइँ र शीतल आँगनमा बसेर खाने व्यवस्था छ । जाडोमा न्यानो र गर्मीमा शितल हुने गरी स्थानीय श्रोत साधनलाई प्राथामिकता दिएर बनाईएको भट्टराईले दावी गरे । 

भवन अपांग मैत्री समेत रहेको छ । सबै कोठामा ह्वीलचेयर जाने गरी संरचना निर्माण गरिएको छ । विद्यार्थीको पठन संस्कृति तथा समालोचात्मक चेत विकास गर्ने किसिमले ‘स्टोरी रुम’ नाम दिइएको कोठा निर्माण गरिएको छ । त्यस कोठामा प्रोजेक्टर मार्फत श्रव्य दृश्य सामाग्री देखाएर विद्यार्थीलाई अन्तरक्रियात्मक वातावरण सुनिश्चित गर्न खोजिएको छ । 

विद्यालयको गेटबाट छिर्ने बित्तिकै पहिला देखिने ठाउँ यस भवनको आँगन हो । आँगनको देब्रे तिर ’सिड रुम’ रहेको छ । यो कोठामा विद्यार्थीले विभिन्न खालका बिउ बिजन तथा बोटबिरुवाका बारेमा सिक्ने छन् । यसको दायाँ तिरको कोठा भित्र छिर्ने बित्तिकै किताब राख्ने र्‍याकले बारेको कोठामा पुगिन्छ । किताब तथा विभिन्न सिकाइ सामग्रीले यो कोठा भरेर यहाँ विद्यार्थीलाई कथा सुनाउने, भन्न लगाउने, प्रोजेक्टर मार्फत भिडियो देखाउने, छलफल गर्ने जस्ता गतिविधि गर्दै सुनाइ, बोलाइ, लेखाइ र समालोचात्मक सोचाइ सीपको विकास गर्न सकिने परिकल्पना गरिएको छ । यो कोठाको नाम ’स्टोरी रुम’ राखिएको छ ।

स्टोरी रुमको दायाँ पट्टि भान्सा कोठा रहेको छ । भान्सा कोठामा विद्यार्थीका लागि स्थानीय तथा पोषक खाजा पकाउने देखि सिमित विद्यार्थीलाई राखेर खुवाउन मिल्ने समेत व्यवस्था छ । 

भवन निर्माणमा स्थानीय श्रोत साधन र मजदुर प्रयोग गरिएको भवन निर्माण संयोजक राजु घलानले जानकारी दिए । जस्ताको छाना मुनि भित्र पट्टी मान्द्रो, काठ लगायतका पारम्परिक बस्तुहरु प्रयोग गरिएको भवनमा वायु, अग्नि, जल, माटो र आकाश सहित पञ्चतत्वमा आधारित वास्तुकला र भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरिएको उनले बताए । एकै शैलीमा बनेका विद्यालय भवन भन्दा फरक यो भवनलाई भूकम्प प्रतिरोधात्मक बनाउनका लागि विभिन्न मोडेलको परिक्षण गरेर चारै तर्फ फरक किसिमको पिल्लर बनाइएको छ । भवन ४१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उनले बताए । 

गत आइतबार एक कार्यक्रमका बिच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङतान लामाले, विद्यालयको यो भवन स्थानीय श्रोत साधनको उपयोग गरेर बहुउपयोगी संरचना तयार गर्न सकिन्छ भन्ने उदाहरण रहेको बताए ।

'हाम्रै ठाउँमा रहेका श्रोत साधन र सीपको प्रयोग गरी बहुउपयोगी भवन निर्माण गर्न सकिन्छ भन्ने गतिलो उदाहारण यो भवन हो' उनले भने 'यो संरचना विद्यार्थीको सिकाइको दृष्टिकोणबाट महत्वपूर्ण छ ।'

भवन हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर मोक्तान र शिक्षा नीति तथा अभ्यास केन्द्रका प्रतिनिधिका साथै विद्यालय व्यवस्थापन समितिका सहित पालिकाका प्रतिनिधि, विद्यार्थी, अभिभावक तथा अन्य व्यक्तिहरूको सहभागिता रहको थियो ।

२०४५ सालमा स्थापना गरिएको यो विद्यालयमा प्रारम्भिक बाल कक्षा देखि कक्षा ५ सम्म एक सय २२ जना विद्यार्थी अध्ययन गर्दछन् । विद्यालयमा दुई महिला शिक्षक सहित ५ शिक्षक कार्यरत छन् । आधारभूत शिक्षालाई बलियो बनाउनका निम्ति सहयोगी संरचना तयार भएको विद्यालयका प्रधानाध्यापक केशव देवकोटाले बताए । 

शिक्षा नीति तथा अभ्यास केन्द्र (नेपाल), विकास एसोसिएसन (बेल्जियम), केयु ल्युभन (बेल्जियम) को वास्तुकला विभाग र बेल्जियमको पूर्वी फ्लान्दर प्रदेश एवं राजु घलानद्वारा संयोजित स्थानीय निर्माताहरूको आपसी सहयोगमा भवन निर्माण गरिएको हो । विभिन्न विद्यार्थी तथा अनुसन्धाताले विद्यार्थीको सिकाइको दृष्टिकोणबाट नेपालमा कस्तो डिजाइनको भवन उपयुक्त हुन्छ भन्ने विषयमा खोज अनुसन्धान गरि यो भवन बनाएका हुन् । 

नेपालको शिक्षाका तौर तरिका सहित भवन पनि उपनिवेशका ढाँचामा बनेकाले यस्तो परम्परालाई तोड्ने क्रममा स्थानीय परिवेश सुहाउँदो र प्राकृतिक वातावरणको चिन्तन गर्दै यो भवनको परिकल्पना गरिएको भट्टराईले बताए । समुदाय  विद्यालय बिचको सम्बन्ध, शिक्षण सिकाइ प्रक्रिया र विद्यार्थीको सिकाइको आवश्यकतालाई ध्यान दिँदै भवन निर्माण गरिएको निर्माणमा संलग्न संस्थाका प्रतिनिधिहरुले बताएका छन् । 

प्रतिक्रिया