Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

योग्य शिक्षकको व्यवस्था, शिक्षकलाई जीवन जिउन पुग्ने तलब

मंगलबार, १५ कार्तिक २०७९
काठमाडौं - योग्य शिक्षक शिक्षिकाहरूको व्यवस्था र उनीहरुलाई जीवन जिउन पुग्ने तलबको व्यवस्था गर्ने प्रतिवद्धता सहित नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आवश्यकता भन्दा कम शिक्षक भएकाले बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकिरहेका बेला एमालेले योग्य शिक्षक शिक्षिकाहरूको व्यवस्था गर्ने र उनीहरुको क्षमता विकास र प्रोत्साहनका कार्यक्रमहरू ल्याइने घोषणा गरेको छ ।
 
'शिक्षण पेसालाई मर्यादित बनाइने छ, अतिरिक्त आम्दानी गर्न भौँतारिन पर्ने अवस्था अन्त्य गरी शिक्षकलाई सम्मानजनक जीवन जिउन पुग्ने तलब सुविधा उपलब्ध गराइने छ' घोषणापत्रमा भनिएको छ 'योग्य शिक्षक शिक्षिकाहरूको व्यवस्था गरिने छ । शिक्षक शिक्षिकाहरूको क्षमता विकास र प्रोत्साहनका कार्यक्रमहरू ल्याइनेछ ।'
 
पाँचतारे होटल याक एण्ड यतिमा मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा एमालेले शिक्षाका विषयलाई राष्ट्र निर्माणको आधारः गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार शिर्षकमा समेटेको छ । घोषणापत्रमा एमालेले विभिन्न २० वटा ग्यारेण्टी समावेश गरेको छ । भारतको आम आदमी पार्टिले प्रयोगमा ल्याएको ग्यारेण्टीलाई एमालेले अनुसरण गर्दै आफ्नो घोषणापत्रमा ग्यारेण्टी शब्द समेटेको हो । 
 
घोषणापत्रमा एमालेले शिक्षाका विषयलाई समेट्दै एमालेले प्रकृति भित्र असीमित सम्भावना (पोटन्सियल) रहेको र शिक्षाले त्यसलाई पहिचान, उजागर र उपयोग गर्ने क्षमताको अभिवद्धि गर्ने बताएको छ । शिक्षाले व्यक्तिको जीवन सहज र सरल बनाउन मद्दत गर्ने भन्दै उसले त्यसबाट परिवार, समाज र राष्ट्रलाई योगदान पर्याउन सक्नुपर्ने बताएको छ । शिक्षित व्यक्ति इनोभेटिभ र सिर्जनात्मक हुनपर्ने बताउँदै उसले शिक्षाको उद्देश्य ज्ञान प्राप्ति मात्र नभएको उल्लेख गरेको छ । 
 
एमालेको घोषणा पत्रमा समावेश शिक्षाका विषयको मुख्य अँश यस प्रकार छ 
 
सम्पूर्ण बालबालिकालाई शिक्षाको अवसर सनिश्चित गरिने छ । कुनै पनि बालबालिका आर्थिक दुरावसस्थाका कारण विद्यालय जानबाट वञ्चित हुने वा बिचैमा पढाइ छोड्नु पर्ने अवस्था अन्त्य गरिने छ । प्रारम्भिक बालविकास कार्यक्रमदेखि माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गरिने छ ।
 
शैक्षिक वर्षसरु हुनुअगाडि हरेक वर्ष विद्यालय भर्ना अभियान सञ्चालन गरिने छ । आगामी दुई वर्षभित्र विद्यार्थी भर्नादर शत प्रतिशत पर्याइनेछ । जीवनपयोगी नमुना शिक्षा र त्यसका लागि नमुना पाठ्यक्रमको निर्माण गरिने छ । प्राथमिक शिक्षालाई परीक्षामुखी भन्दा सिर्जनात्मक प्रतिभा र उत्सुकता विकसित गर्ने ढाँचामा रूपान्तरण गरिने छ । माध्यमिक शिक्षालाई विद्यार्थीको अभिरुचि अनुसार विशिष्टीकरण एवम् व्यावसायिकताको आधार तयार गर्ने प्रकृतिको बनाइने छ । उच्च शिक्षालाई ज्ञान, सिप र विशिष्टीकरणयुक्त अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने तथा ज्ञानमा आधारित आर्थिक, सामाजिक विकासका लागि उपयक्त विशिष्ट जनशक्ति निर्माण गर्नमा केन्द्रित गरिने छ । 
 
माध्यमिक शिक्षालाई उत्पादनसँग जोड्दै जीवनोपयोगी तुल्याउन प्रत्येक पालिकामा प्राविधिक धारका माध्यमिक विद्यालय स्थापना र तिनलाई गुणस्तरीय रूपमा सञ्चालन गर्न सङ्घ र प्रदेशबाट सहकार्य गरिने छ । शैक्षिक संरचनालाई रूपान्तण गरी वैज्ञानिक, प्राविधिक र व्यावसायिक शिक्षाको हिस्सा ७० प्रतिशत बनाइने छ । रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादन गरिने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको माग अनुसारका उत्कृष्ट, प्रतिस्पर्धी जनशक्ति विकास गरिने छ ।
 
प्राविधिक तथा व्यवसायिक महाविद्यालय र बहुप्राविधिक शिक्षालयहरूको स्थापना गरिने छ । विज्ञान र प्रविधिका क्षेत्रमा विश्वस्तरको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने विशिष्ट प्रतिष्ठानहरू स्थापना गरिने छ । शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापनलाई चुस्त दरुस्त बनाइने छ । 
 
शिक्षाको गुणस्तर सधार गरिने छ । अध्ययन अध्यापनको ढाँचा परिवर्तन गरी विद्यार्थीहरू गहिरोसँग अध्ययनमा केन्द्रित हुने, अनुसन्धान र ज्ञानको खोजी गरी क्षमता विकासमा उत्साहित हुने विधिहरूको अभ्यास बढाइने छ । पाठ्यपुस्तक र शैक्षिक सामग्री समयमै उपलब्ध गराइने छ । खाजा, पोसाक, शैक्षिक सामग्रीलगायत विद्यार्थीलाई उपलब्ध गराइने सुविधामा वृद्धि गरिने छ । विद्यालयमा नर्सको सेवा उपलब्ध गराइने छ । 
 
आगामी पाँच वर्षभित्र विद्यालयका भौतिक पुर्वाधार व्यवस्थित गरिने छ । सबै विद्यालयमा पर्याप्त कक्षा कोठा, सविु धायक्त फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय, सचूना प्रविधि प्रयोगशाला, स्वच्छ पिउनेपानी, शौचालय र सम्भव भएसम्म खेल मैदानको व्यवस्था गरिने छ । सबै विद्यालयलाई सचूना प्रविधिका पुर्वाधारसँग आबद्ध गरी डिजिटल शिक्षण आरम्भ गरिने छ । शैक्षिक गुठीअन्तर्गत वा निजीस्तरमा सञ्चालित विद्यालयहरूमा समेत तोकिएका पूर्वाधारको व्यवस्थाका लागि जोड दिइनेछ ।
 
अपाङ्गता भएका विद्यार्थीहरूलाई विशेष सविधा र शिक्षाको व्यवस्था गरिने छ । संरचनाहरु अपाङ्गमैत्री बनाइने छ । दुर्गुम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरूका निम्ति आवासीय शिक्षाको व्यवस्था गरिने छ । 
 
देशका लागि आवश्यक जनशक्तिको विधागत तथा विषयगत माग र आपूर्ति को तुलनात्मक विश्लेषणका आधारमा राष्ट्रिय जनशक्ति प्रोफाइल तयार गरिने छ । विषयगत जनशक्तिको आँकलनका आधारमा शिक्षालय र शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने छ । 
 
उच्च शिक्षामा देखापरेको अव्यवस्थाको अन्त्य गरिने छ । उच्च शिक्षालाई मर्यादित र अनुसन्धान मलकू बनाउँदै विशिष्टीकरण गरिने छ । विश्वविद्यालयहरूलाई सेन्टर अफ एक्सेलेन्सका रूपमा विकास गरिने छ । 
 
शिक्षा र स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिस्तरका पूर्वाधार निर्माण गरिने छ । नेपाललाई अध्ययन, अध्यापन र उपचारका लागि विदेशीहरूको आकर्षक गन्तव्यका रूपमा विकसित गरिने छ । खेलकुद, संस्कृती र कलाको क्षेत्रका विशिष्टीकृत शिक्षाबाट विश्वस्तरको जनशक्ति निर्माण गरिने छ । 
 
घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी ओलीले लाईभ डिवेट शिर्षकमा आफ्ना धारणा व्यक्त गरेका थिए । पूर्व वैंकर अनिल केशरी शाहसँग उनले कुरा गरेका थिए । उक्त अवसरमा ओलीले स्कुल जाने उमेरका बालबालिका सबैलाई विद्यालय पुर्याउन अभिभावकलाई प्रेरित प्रोत्साहित कसरी गर्ने भन्ने कुरामा ध्यान दिने बताएका थिए । भविष्यका लागि विश्वप्रतिसपर्धामा खरो उत्रन सक्ने सक्षम जनशक्तिको निर्माण गर्ने भन्दै उनले स्कुल कलेज जाने उमेर भईसकेका, विभिन्न पेशा व्यवसायमा रहेकालाई पेशा व्यवसाय सम्बन्धि तालिम दिने योजना रहेको बताए । 
 
२०७४ फागुन ३ गते सरकार बनाउने वित्तिकै २०७५ बैशाख १ गते राराबाट विद्यार्थी भर्ना अभियान शुरु गरेको स्मरण गर्दै उनले सिराहमा पनि गरेको पछि त्यो अभियानलाई कोभिडले असर गरेको बताउँदै उनले त्यस यताको सरकारले ध्यान नदिएको आरोप लगाए । सेटिगंबाट परमादेशबाट सरकार बनेपछि यस्ता कुरामा ध्यान दिने समय नै छैन उनले भने । 
 
कार्यक्रममा उपस्थित सञ्चारकर्मीको प्रश्नको पनि उनले सम्बाधेन गरेका थिए । 
 
एमालेले घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिएको छ । नेपालीलाई मात्र नागरिकता दिने देखि नेपालको अर्थतन्त्र १ सय खर्ब रुपैयाँ पु¥याउने १० हजार लिटर पानी निःशुल्क बाँड्ने देखि ५० युनिट बिजुली निःशुल्क बाँड्ने कुरा पनि एमालेले घोषणापत्रमा समेटेको छ । 

प्रतिक्रिया